ताजा खबर

महँगा खेलाडी बन्दै स्टर्लिङ 

लन्डन, २०७२  असार २९,

म्यानचेस्टर सिटी रहिम स्टर्लिङलाई इङ्लिस फुटबलमा सबैभन्दा महँगो खेलाडी बनाउने सम्झौता नजिक पुगेको छ। यस सरुवा प्रकरण नजिकबाट नियालिरहेको स्रोतले बताएअनुसार ४ करोड ९० लाख पाउन्डमा इङ्ल्यान्डका विङ्गरलाई बेच्न लिभरपुल सहमत भइसकेको छ।

आधिकारिक रूपमा सम्झौता पूरा भइकसकेको अवस्थामा आफूसँग यस विषयमा बोल्ने अधिकार नरहेको भन्दै स्रोतले विस्तृत जानकारी दिएन। सिटीले अघिल्लो सिजन सकिएलगत्तै स्टर्लिङका लागि दुईपटक प्रस्ताव गरेको थियो। तर २०१७ सम्मका लागि आफूसँग अनुबन्धित खेलाडी बेच्न लिभरपुलले सिटीका पुराना दुवै प्रस्ताव अस्वीकार गरेको थियो।

बिबिसीसँगको अन्तर्वार्ताका क्रममा गत सिजन स्टर्लिङले सातामा १ लाख पाउन्ड पारिश्रमिक पाउने गरी लिभरपुलसँग नयाँ सम्झौता गर्न अस्वीकार गरेको बताएका थिए। त्यही समयमा उनले सिसा पाइप तथा निट्रोज अक्साइड (वैधानिक रूपमा प्रयोग गर्न पाइने एक प्रकारको धुँवा तान्ने अम्मल) लिइरहेको तस्बिर बेलायती पत्रिकाहरूको पहिलो पृष्ठमा छापिएका थिए।

२०१० मा क्विन्स पार्क रेन्जर्सको एकेडेमीबाट लिभरपुलमा अनुबन्धित स्टर्लिङ इङ्लिस फुटबलका सबैभन्दा छरिता र आक्रामक खेलाडी मानिन्छन्। २०१२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले इङ्ल्यान्डको जर्सीमा १६ खेल खेल्दै एक गोल गरेका छन्। उनी यसबीचमा राष्ट्रिय टोलीको नियमित सदस्य भइसकेका छन्।

लिभरपुलबाट उनले १ सय २९ खेलमा २३ गोल गरेका छन्। व्यक्तिगत रूपमा सिटीसँगको सम्झौतामा स्टर्लिङले सहमति जनाउन भने बाँकी छ। त्यसपछि उनको मेडिकल परीक्षण हुनेछ। २०११ मा न्युक्यासलबाट ३ करोड ५० लाख पाउन्डमा लिभरपुल सरुवा भएका एन्डी क्यारोल अहिलेसम्म सबैभन्दा महँगा इङ्लिस फुटबल खेलाडी हुन्।

स्रोत  : नया पत्रिका

Related posts