ताजा खबर

चार शीर्ष नेताले एकै मञ्चबाट भने – ‘साउन २० भित्र नयाँ संविधान’  

चन्द्रगढी (झापा), २०७२ असार २९,

प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताले २० साउनभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन्। संविधान निर्माण, सरकार सञ्चालन र पार्टी गतिविधिका व्यस्त कार्यतालिकाबीच आएका उनीहरूले संविधानसभा २० गतेभित्रै संविधान घोषणा गर्ने तयारीमा जुटेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा बनाइन लागेको भवन शिलान्यास समारोहमा सोमबार बोल्दै नेताहरूले नयाँ संविधान जारी गर्न दुनियाँको कुनै शक्तिले रोक्न नसक्ने दाबी गरे। ‘मुलुक राजनीतिक सहमतिको दिशामा अघि बढिसक्यो,’ प्रधानमन्त्री सुशील कोइरालाले भने, ‘दुनियाँको कुनै शक्तिले पनि अब संविधान आउनबाट रोक्न सक्दैन।’

नेपालको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायले पटक–पटक चासो देखाएको भन्दै कांग्रेस सभापतिसमेत रहेका कोइरालाले जनताले चाहेजस्तो संघीय संरचनामा जान तयार रहेको बताए।

‘संघीयतामा कुनै धोका हुँदैन,’ १६ बुँदे सहमतिको विपक्षमा रहेका मधेसवादी दलहरूलाई आश्वस्त पार्दै प्रधानमन्त्री कोइरालाले भने, ‘सहमतिमा आउनुस्। अन्यथा विश्वास, एकता र मेलमिलापसहितको जहाजले अब कसैलाई पर्खिंदैन।’

१६ बुँदे सहमतिपछि पनि चार राजनीतिक शक्ति सीमांकन टुंग्याउने गृहकार्यमा जुटेको भन्दै प्रधानमन्त्री कोइरालाले आन्दोलनले कसैलाई फाइदा नगर्ने बताए। उनले संविधानअघि वा पछि सीमांकन टुंग्याउने विषयमा केही उल्लेख गरेनन्। ‘हतियारको राजनीति समाप्त भयो,’ उनले भने, ‘अब कसैको आन्दोलन पनि सफल हुँदैन। यसले कसैलाई फाइदा पनि गर्दैन।’

प्रधानमन्त्री कोइरालाले संविधानरूपी जहाज उडिसकेको बताउँदै सफल अवतरण गर्ने बताए। संविधानसभाले नै सीमांकन विवाद समाधान गर्ने संकेत उनले दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार सुरक्षित रहने गरी संविधान जारी हुने बताए। अझै संविधान जारी हुन नदिने प्रपञ्च भइरहेको बताउँदै उनले भने, ‘संविधान जारी हुन नदिन अहिले पनि तुलसीको मोठमा पूजा भइरहेको छ, बरपीपल चौतारी पनि प्रयोग भइरहेका छन्।’ राष्ट्रिय एकता खल्बलिन नदिने उनले बताए। गिरिजाप्रसाद कोइरालालाई महान् नेताको संज्ञा दिँदै ओलीले उनको भूमिकाले नेपाली समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गरेको उल्लेख गरे।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि सबैको चित्त नबुझे पनि संविधान जारी भएरै छाड्ने दृढता व्यक्त गरे। ‘सहमतिमा हस्ताक्षर गरेका हामी कसैलाई पनि संविधानको मस्यौदा चित्त बुझदो छैन र हुँदैन पनि,’ उनले भने, ‘त्यसैले यो कुनै दल विशेषको नभएर जनताको संविधान हो।’ उनले आवश्यक परिमार्जन गरेर भए पनि सबैको भावना समेट्ने बताउँदै साउन २० भित्र जुनसुकै अवस्थामा संविधान जारी हुने बताए।

नेपाली राजनीतिको संकट समाधानमा गिरिजाबाबुको सधैं अभाव खडकिरहने बताउँदै उनकै कारणले आज चार दल एक भएर अघि बढिरहेको बताए। ‘शान्ति, संविधान र समृद्धिको बाटोमा सँगै हिँड्ने प्रण गरेका छौं,’ दाहालले भने, ‘यसको जस गिरिजाबाबुलाई नै जान्छ।’ उनले करिब ३ करोड नेपालीको भावनालाई आत्मसात गर्दै जनचाहनाबमोजिम संविधान निर्माणको दिशामा अघि बढिरहेको बताउँदै संविधान निर्माणका लागि चार पार्टी एकढिक्का भएर अघि बढेको बताए। संविधान निर्माणको प्रक्रिया सुरु भइरहँदा जनतामा थोरै आशंका उब्जिएको बताउँदै कुनै आशंका नगर्न पनि उनले आग्रह गरे।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले १६ बुँदे सहमतिले संविधान निर्माणको ढोका खुलेको भन्दै अब प्रारम्भिक मस्यौदा जनताको बीचमा लगेर अधिकतम सहमति गर्ने प्रयास भइरहेको बताए। उनले संविधान निर्माणपछि पनि अरू पाँच वर्ष दलहरूबीचको एकता कायम जरुरी भएको औंल्याए। कार्यक्रममा कांग्रेसका महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, एमाले सचेतक अग्नि खरेललगायतले बोलेका थिए।

सदरमुकाम चन्द्रगढीमा १२ करोड ७२ लाख रुपैयाँको लागतमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण हुन लागेको हो। जिल्ला विकास समितिले निर्माण गर्न लागेको भवन तीनतले हुनेछ। त्यसका लागि ५ कट्ठा ५ धुर जग्गा व्यवस्थापन गरिएको छ। जिविसले एकलौटी निर्णय गरेको भन्दै एमाले र एकीकृत नेकपा माओवादीसहितका दलहरू विरोधमा उत्रिए पनि पछिल्लो समय सहमति भएपछि भवन निर्माण कार्य सुरु भएको हो। भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *