ताजा खबर

खासाका सामान विमानस्थलबाट छुट्न थाले

काठमाडौं, २०७२ असार २९,

महाभूकम्पले नेपाल-चीन जोड्ने मितरी पुलमा क्षति पुग्नुका साथै दर्जनौं पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि झन्डै साढे दुई महिना खासामा अलपत्र चिनियाँ सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई छुट्न थालेको छ।

निजी क्षेत्रको महिना लामो प्रयासमा क्षतविक्षत राजमार्गका अवरोध पन्छाएर ल्याइएका मालबाहक कन्टेनर तीन दिनअघि विमानस्थल छिर्न थालेका थिए। सोमबारसम्म झन्डै ९० कन्टेनर जाँचपास भई छुटेको तातोपानी भन्सार अधिकृत विष्णु श्रेष्ठले बताए। उनका अनुसार आइतबारबाट सामान जाँचपास थालिएको हो। पहिलो दिन ४८ र सोमबार ४० कन्टेनर सामान जाँचपास भयो।

‘साताभित्र सबै जाँचपास सक्ने तयारीका साथ काम गरिरहेका छौं,’ अधिकृत श्रेष्ठले नागरिकसँग भने।

चट्टाने पहिरोको चेपुवामा परेको तातोपानी कार्यालय क्षतिग्रस्त भएपछि भूकम्पलगत्तै तातोपानी भन्सार विमानस्थल सरेको थियो। जाँचपासका लागि सोमबार बिहानसम्म १ सय ८० मालबाहक कन्टेनर भ्यान विमानस्थल प्रवेश गरेका थिए।

खासाबाट सामान लोड गरेर नेपाल फर्कने तरखर गर्दा गएको भूकम्पले ३ सय ४१ मालबाहक कन्टेनर खासामा रोकिएका थिए। सामान लिन चीन छिरेका १ सय ५१ कन्टेनर उतै अलपत्र परेका थिए। सबै मालबाहक कन्टेनर काभ्रेको पाँचखालमा ल्याएर भन्सार जाँचपासका लागि पालैपालो विमानस्थल छिराउन थालिएको हो।

एकैपटक सबै कन्टेनर प्रवेश गराउँदा भीड बढेर समस्या उत्पन्न हुने भएपछि व्यवसायी र भन्सार प्रशासनले एकचोटिमा ८० देखि सयसम्म कन्टेनर छिराउने व्यवस्था मिलाएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव अर्जुन सापकोटाले बताए। उनका अनुसार २ सय ६१ कन्टेनर पाँचखाल, पार्किङमा राखिएका छन्।

‘विमानस्थल आएका कन्टेनरको जाँचपासपछि अरु ल्याउँछौं,’ उनले भने। विमानस्थल भन्सारमा भीडभाड र अस्तव्यस्त हुन नदिन व्यापारी आफैं खटिएका छन्। पार्किङ व्यवस्थित बनाउँदै पालोमा छुटाउन पनि उनीहरु नै सक्रिय छन्। व्यापारीले कारोबार गर्ने नेपाल बंगलादेश बैंकको तातोपानी शाखाले पनि विमानस्थलबाटै सेवा दिइरहेको छ। भूकम्पलगत्तै उठेको बैंक शाखा कन्टेनर आउन थालेपछि विमानस्थल छिरेको हो।

विमानस्थलबाट जाँचपास भइरहेका र पालो पर्खेका कन्टेनरमा गर्मी र बर्खालक्षित तयारी पोसाक, लत्ताकपडा, जुत्ता, चप्पल, प्लास्टिकका चप्पल, वर्षादी, समर ज्याकेट लगायत सामान भएको व्यापारीले बताए। स्थानीय, बैंक, व्यवसायी, सामान लोड–अनलोड र जाँचपासले विमानस्थल भन्सारमा तातोपानीकै झल्को दिएको छ।

महाभूकम्पपछि त्रासले मजदुर चिनियाँ भूभागमै कन्टेनर छोडेर ज्यान जोगाउन भागेपछि लगत्तै खासा बजार तीन महिनाका लागि बन्द गरिएको थियो। खण्डहर नभए पनि संरचना क्षतविक्षत भएपछि चिनियाँ पक्ष सबै सेवासहित बजारै बन्द गर्ने निर्णयमा पुगेको थियो। तातोपानी भन्सार यार्डमा रहेका ८० कन्टेनर सामान जेठ सुरुमै विमानस्थल ल्याई जाँचपास गरे पनि मितेरी पुल क्षतिग्रस्त भएको भन्दै चिनियाँ पक्षले खासामा रोकिएका मालबाहक कन्टेनर ल्याउन दिएको थिएन।

निजी क्षेत्रको आग्रहमा सरकारको कूटनीतिक प्रयासपछि चीन रोकिएका सामान छोड्न सहमत भए पनि मनसुनसँगै राजमार्गमा पहिरो सुरु भएकाले ल्याउन सकिएको थिएन।

राजमार्गको जुरेदेखि लिपिङसम्मको ३० किलोमिटर दुरीमा दर्जनौं पहिरो बाधक बने। अवरुद्ध सडक खुलाउन व्यवसायीले लगातार १८ दिन सातवटा डोजर, एस्काभेटर चलाएका थिए। ‘अवरुद्ध सडक खुलाउथ्यौं, लगत्तै पहिरोले उस्तै बनाइहाल्थ्यो,’ दुई साता पहिरोमा बिताएका नेपाल–चीन हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीले भने, ‘अवरुद्ध हुने र खुलाउने शृंखलाबीच सबै कन्टेनर ल्याइछाड्यौं।’

खासाबाट छुटेका कन्टेनर एक साता पहिरोमा अड्किएका थिए। जुरै पहिरोले धेरै दिन कन्टेनर रोक्यो। सडक विभाग र निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत आयोजनाले सडक खुलाउन डोजर, एस्काभेटर सहयोग गरेका थिए। सोमबार साँझसम्म विमानस्थलबाट तातोपानी भन्सारले झन्डै सवा २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

५ सय कन्टेनर अझै गोदाममा

मालबाहक र खाली कन्टेनर भित्रिए पनि खासास्थित गोदाममा व्यवसायीका अर्बौं रुपैयाँ मूल्यका सयौं कन्टेनर चिनियाँ सामान अझै थन्किएका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठका अनुसार ३ अर्ब रुपैयाँ मूल्यका झन्डै ५ सय कन्टेनर सामान खासामा छन्।

‘वर्षाअघि गोदामका सामान भित्याउन असम्भव जस्तै छ,’ उनले भने। तर विकल्पका लागि कूटनीतिक सम्बाद र उचित मौकाको पर्खाइमा रहेको उनले बताए। अध्यक्ष श्रेष्ठका अनुसार सामान खासामै थन्किनु भनेको व्यवसायीको जोखिम यथावत रहनु हो। गोदामका सामान पनि गर्मी र बर्खालक्षित छन्। बर्खापछि चाडवाड र जाडो मौसम सुरु हुने भएकाले ती सामान अर्को वर्ष नभई खपत हुन मुस्किल छ।

‘अर्को वर्ष कुर्दा माग र फेसन बदलिइसक्दा व्यवसायीको लगानी जोखिममा पर्छ। यो जोखिम आउन नदिन बेलैमा सम्बन्धित पक्षको ध्यान जानु जरुरी हुन्छ,’ श्रेष्ठले भने। चिनियाँ पक्षले जारी गरेको पूर्वसूचना अनुसार खासा बजार अझै झन्डै महिना बन्द हुन्छ। तातोपानी क्षेत्र मानविहीन भएको र राजमार्ग पहिरोले अवरुद्ध गरेकाले नेपाली व्यवसायीले सामान अर्डर नगर्ने हुँदा खासा तत्काल खुल्ने–नखुल्ने पत्तो छैन।

स्रोत : नया पत्रिका

Related posts