ताजा खबर

कासिलास पोर्टोमा 

म्याड्रिड,  २०७२ असार २९,

रियल म्याड्रिडका गोलरक्षक पोर्चुगलको एफसी पोर्टोसँग अनुबन्ध भएका छन् । म्याड्रिड र पोर्टोबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रियल म्याड्रिडले विज्ञप्ति जारी गर्दै गोलरक्षक कासिलास पोर्टोमा आबद्ध भएको उल्लेख गरेको छ । सन् १९९० मा म्याड्रिडले सञ्चालन गरेको युवा समूहबाट कासिलासले फुटबल करिअर सुरु गरेका थिए । कासिलासले म्याड्रिडमा १६ सिजन बिताउँदा १९ उपाधि जितेका छन् । ‘म्याड्रिड र पोर्टोबीच कासिलासका सम्बन्धमा सम्झौता भइसकेको छ,’ रियल म्याड्रिडको विज्ञप्तिमा भनिएको छ । एक नम्बर गोलरक्षक र महान् खेलाडीलाई बिदाइ गरेको क्षण अत्यन्तै मार्मिक हुने म्याड्रिडको भनाइ छ ।

‘क्लबकै सर्वाधिक सफल गोलरक्षक कासिलास अब पोर्टोसँग आबद्ध भए, उनलाई बिदाइ गरेको दिन हामी सबै भावुक हुनेछौँ,’ म्याड्रिडका अध्यक्ष फ्लोरेन्ट पेरेजले भने, ‘स्पेनिस फुटबल इतिहासमा कासिलासले धेरै योगदान दिएका छन् ।’ म्याड्रिडका अध्यक्ष पेरेजले कासिलासको बिदाइसँगै स्पेनिस फुटबल इतिहासकै एक हिस्सा पोर्टो जान लागेको जनाए । ‘कासिलास पोर्टो जानु भनेको हाम्रो फुटबल इतिहासकै एक खण्ड पनि सँगै जान लागेको हो,’ पेरेजले भने । करिअरमा कासिलासले आफ्नो कप्तानीमा एकपटक विश्वकप फुटबल तथा दुईपटक युरोकप जितेका छन् । उनले म्याड्रिडलाई पाँच स्पेनिस लिग, तीनपटक च्याम्पियन्स लिग तथा दुईपटक किंग्स कप दिलाएका छन् । सन् १९९९ मा उनले म्याड्रिडबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका थिए ।

स्रोत  : नयापत्रिका

Related posts