२०७२ असार २९,
अहिले अमेरिका उड्ने कलाकर्मीको ओइरै लागेको छ । अहिले मात्र होइन, पहिलादेखि नै आफ्नो लक्ष्य नै अमेरिका बनाएका र पुग्न सफल भएका, असफल भएर खुम्चिएका कलाकर्मी बग्रेल्ती छन् । नेपालमा कलाकारका रूपमा राम्रै चर्चा, सफलता र अर्थाेपार्जन गरेकाहरू पनि अमेरिका पलायन हुन लालायित देखिन्छन् । कतिपय भने वर्षाैं अमेरिका बसेर उमेर ढल्किएपछि ‘देशको माया लाग्यो’ भन्दै फर्किएको पनि देखिन्छ । आफूलाई पुग्दो रकम कमाएपछि देशको याद आयो भन्नेहरू पनि बग्रेल्ती छन् । अमेरिका उड्ने लहर पछिल्लो समय निकै मौलाएको छ । सानोतिनो रोल गरेर भए पनि आफूलाई कलाकार प्रमाणित गराउने र भिसा अप्लाई गर्न कुद्नेको संख्या गनीसाध्य छैन । प्रचुर मात्रामा झुटा विवरण बनाएर अमेरिका छिर्ने र त्यहाँ पनि अनेक तिकडम र झुटा कागजातका भरमा ग्रिनकार्ड हात पार्नेहरू कति छन् कति । ग्रिनकार्ड हात पारेपछि स्वदेशमै आएर अभिनय, गायनकर्म अघि बढाएका कलाकर्मी पनि छन् ।
चल्तीकै वेलामा १८ वर्षअघि अमेरिका छिरेका अभिनेता सरोज खनाल अहिले काठमाडौंमा छन् । उनी अब अमेरिका बस्दैनन् रे । सन्तानको भविष्यका लागि भन्दै आफू अमेरिका गएको तर अन्तत: आफूलाई आफ्नै देश प्यारो लागेर स्वदेश फर्किएको कथन उनको छ । नारायण पुरीको रगत फिल्ममा अभिनय गरेपछि उनी अमेरिका उडेका थिए । अब उनी अभिनय र निर्माणमा सक्रिय हुन चाहन्छन् । ढिलै भए पनि उनलाई देशको माया लागेकोमा कतिपय कलाकर्मीले खुसी व्यक्त गरेका छन् । अमेरिकामा जमेर बसेका नेपाली कलाकर्मी थुप्रै छन् ।
लोकगीत गायक प्रेमराजा महतदेखि लिएर पछिल्लो पुस्ताका राजबल्लभ कोइराला, युना उप्रेती, रञ्जना शर्मासम्मले आफूलाई अमेरिकामा भिजाइसकेका छन् । घुम्न भनेर अमेरिका छिरेकी जल शाहले त्यहीँका निवासी शरद रिमालसँग घरजम गरिन् । पहिलो पत्नीसँग डिभोर्स गरेका शरदकी कान्छी हुन् जल । जलकी ६ वर्षकी छोरी कलश छिन् । दुई वर्षअघि क्यानडा हुँदै अमेरिका छिरेका ऋचा घिमिरे र शंकर घिमिरेदम्पतीले त्यहाँ राम्रै प्रगति गरिरहेका छन् । दुई छोराकी आमा ऋचा त्यहाँ हुने नेपाली कार्यक्रमहरूमा फिल्म सो गर्ने गर्छिन् भने शंकर खुद्रा पसलको मालिक बनेका छन् ।
त्यसैगरी पति सुरज चन्दसँग डिभोर्स गरेर अमेरिका पसेकी पूजा चन्दले त्यहाँ राजु लामा नामक नेपालीसँग विवाह गरिन् । चार वर्षअघि काठमाडौं आएकी पूजाले एउटा एल्बम सार्वजनिक गरेकी थिइन् । गीतकारका रूपमा चिनिन खोजेकी पूजाको सो एल्बमका गीत चलेनन् । लामो समय अमेरिका बसेकी गौरी मल्ल अहिले स्वदेशमै सक्रिय छिन् । ग्रिनकार्ड हात पार्न नसकेपछि करिब एक दशकको बसाइपछि स्वदेश फर्किएका हास्यअभिनेता राजाराम पौडेल अभिनयमै सक्रिय छन् । करिश्मा मानन्धर र रमेश उप्रेती पनि लामो समय अमेरिका बसेर स्वदेश फर्किए । अहिले फाट्टफुट्ट फिल्म अभिनयमा सक्रिय रहेकी करिश्मा अब अमेरिका फर्कन्नन् रे । तर, रमेश उप्रेतीले भने आफूले ‘कमब्याक’ गरेको फिल्म ब्रास्लेट नचले अमेरिका फर्कने उद्घोष गरिसकेका छन् ।
जीवन लुइँटेल ६ महिना अमेरिका बसेर नेपाल फर्किए । बाजिगरपछि हाल रिफ्युजी फिल्मको सुटिङमा रहेका जीवनले सो अवधिमा अमेरिकाको ग्रिनकार्ड हात पारेको खबर आएको छ । अंग्ेरजी फिल्म हाइवे टु धम्पुसको सुटिङका लागि अमेरिका पुगेका राजबल्लभ कोइराला पनि ग्रिनकार्डहोल्डर हुन् । पछिल्लो समय नन्दिता केसी अमेरिका पुगिसकेकी छिन् भने एक वर्षयता गायिका निशा सुनार अमेरिकामै छिन् । अमेरिका पुगेर छोरी जन्माएकी निशाले केही दिनअघि पति शंकर बिसीको आग्रहमा आफन्तका साथ छोरीलाई काठमाडौं पठाएकी छिन् ।
शंकर पनि अमेरिका जाने तयारीमा जुटेका छन् । केही समयअघि अमेरिका पुगेका श्याम भट्टराई त्यहीँ फिल्म निर्देशन गर्छु भन्दै हिँडेका छन् । त्यसो त श्यामकै लटमा अमेरिका पुगेका अभिनेता मुकेश आचार्य र रंगपत्रकार सुमन गैरे पनि स्वदेश फर्किएका छैनन् । फिल्मसम्बन्धी एक्जिबिसनमा सहभागी हुन अमेरिका पुगेका उनीहरूले पनि त्यहाँ फिल्ममा अभिनय गर्न बेर छैन । पटक–पटक ट्राइ गर्दा पनि अमेरिकाको भिसा नपाएर रन्थनिएका कलाकर्मी थुप्रै छन् । अनेक बहानामा अमेरिका छिर्ने र त्यतै लुक्ने गरेकाले पछिल्लो समय कलाकारलाई अमेरिकाले भिसा दिन निकै कडाइ गरेको छ । अगस्टमा अमेरिकामा गर्न लागिएको ग्लोबल फिल्म फेस्टिभलमा सहभागी हुनका लागि केही कलाकर्मी अमेरिका जाने तयारीमा छन् । कतिजना फर्किएर आउने हुन्, त्यो भने यसै भन्न सकिन्न । पहिलाका हिरोइनहरू सारंगा श्रेष्ठ र कृष्टि मैनाली, सज्जा मैनाली, युना उप्रेती, निर्देशक महेन्द्र बुढाथोकी, अरुणीमा लम्साल, नीरज बराल, सुवास थापालगायतका थुप्रै कलाकर्मी हाल अमेरिकामा छन् । हास्यअभिनेता हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गायक राजेशपायल राई, रेखा थापा, राजेश हमालहरू भने अमेरिका ओहोरदोहोर गरिरहन्छन् ।
स्रोत : कान्तिपुर