ताजा खबर

‘पदयात्रा सुरक्षित रहेको सन्देश दिन्छौं

घान्द्रुक (कास्की),  २०७२ असार २८,

चिलीबाट पहिलोपटक घुम्न आएका प्याब्लो पेसाले सर्जन हुन्। अन्नपूर्ण आधार शिविरको यात्राका क्रममा घान्द्रुक–घोडेपानी पदमार्गमा भेटिएका यी चिकित्सकले भूकम्पपछि नेपाल असुरक्षित भनेको सुन्दासुन्दै पनि आफूलाई रोकेनन्। भारत हँुदै नेपाल आएका उनले भने ‘खबरमा धेरै नराम्रो सुनियो तर यहाँ आएपछि हेर्दै छु त्यस्तो केही छैन। सबै सुरक्षित र ठीकठाक छ।’ नराम्रो बनाएर दिइने खबरले यात्रुलाई असजिलो बनाउने उनले बताए। ‘पदयात्राबाट म फर्किएपछि यहाँका पर्यटकीय क्षेत्र सुरक्षित रहेको र सबैलाई घुम्न जाने निम्तो दिनेछु,’ उनले भने।

यहाँको प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा भूकम्पले कुनै क्षति नपुगे पनि सकारात्मक सन्देश प्रवाह नहुँदा पर्यटक घटेका छन्। घरपरिवार र आफन्तले नजान सल्लाह दिँदादिँदै पनि नेपाल घुम्न आएकी ब्राजिलकी केटिया पनि यही पदमार्गमा भेटिइन्। ‘सुरुमा त मलाई पनि अरूले यसोभन्दा भ्रमण रद्द गरौं कि जस्तो लागेको थियो,’ उनले भनिन्, ‘एकपटक जे भए पनि हेरांै भनेर आएँ। यहाँ आउँदा सबै ठीकठाक देख्दै छु।’ घोडेपानी हँुदै पदयात्रा गरेर फर्किएकी उनले अन्नपूर्ण पदयात्रा मार्गको बाटो, पुल तथा रेस्टुराँ र होटल सबै सुरक्षित पाएको बताइन्। उनीसँगै भेटिएका स्विटजरल्यान्डका थोमसले भने, ‘यस्ता धेरै रिपोर्ट सुन्न मिल्छ, जसले तय भएका यात्रामा निस्कनुअघि सोच्न बाध्य पार्छ। म पनि त्यस्तैमा परें तर आएँ।’ भूकम्पपछि पनि नेपालको अवस्था के कस्तो छ भनेर बुझ्न आएको उनले बताए। ‘अन्नपूर्ण पदयात्रा गरेपछि बाहिर फैलिएको सबै हल्ला झूटो रहेछ भन्ने मैले यहीँ आएर बुझ्न पाएको छु,’ पदयात्राका लामो सुस्केरा हाल्दै उनले भने, ‘कहीँ कतै जोखिम देखिएन। आनन्दसँग घुमफिर गर्न सकिने रहेछ।’ उनले नेपाल आउन चाहने आफ्नो मुलुकका बासिन्दालाई घुम्नका लागि अवस्थाबारे जानकारी दिने सुनाए।

विश्वकै चर्चित यो पदयात्रामार्गअन्तर्गत पर्ने यो क्षेत्रमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक आउजाउ गरिरहेका छन्। भूकम्पपछि केही समय ठप्प रहेको पदमार्ग क्षेत्रमा पर्यटक ओहोदोहोर गर्न थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीमा राहत अनुभव छ। ‘केही दिन त होटल चलाउन नसकेर बन्द नै गर्नुपर्ने अवस्थासम्म आयो,’ टाडापानीमा प्यानारामा प्वाइन्ट होटल चलाउँदै आएका मनबहादुर क्षेत्रीले भने, ‘साता दिनदेखि टुरिस्ट आउने क्रम बढेको छ।’ उनले होटलमा बसेका अधिकांश पर्यटकले पदयात्रामार्ग केही नभएको र सबै ठीक रहेकाले फर्केर गएपछि सबैलाई नेपाल पठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए।

अहिले घान्द्रुक–घोडेपानी तथा अन्नपूर्ण आधार शिविरसम्म पुग्ने र फर्कने पर्यटक पदयात्रा मार्गमा हिँडिरहेका भेटिन्छन्। राउन्ड अन्नपूर्णको पदयात्रा गरेर घोडेपानी हँुदै पोखरा फर्कने क्रममा भेटिएकी न्युजिल्यान्डकी जेसिकाले साथीहरूसँग १५ दिनको यात्रा गरेर फिर्दा आनन्द लागेको बताइन्। ‘झरीमा रुझदै पदयात्रा गरेर फर्कंदा रमाइलो लाग्यो,’ उनले भनिन्, ‘अर्को वर्ष पनि थप साथीहरूसहित यो क्षेत्रको भ्रमणमा आउनेछु।’ उनीजस्तै विदेशी पर्यटकको समूह यस क्षेत्रको भ्रमणमा आउने क्रम बढेपछि व्यवसाय छाडेर अरू नै केही गर्नुपर्ने हो कि भन्ने शंका पालेका स्थानीय पनि ढुक्क भएका छन्।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *