दिननाथ बराल
पोखरा, २०७२ असार २८,
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट भत्केका कास्कीका दुई वटा बिद्यालयलाई नेपाली युवा उद्यमी मञ्च पोखराले आर्थिक सहयोग गरेको छ । मञ्चले पोखरा–२४ कृष्तिको बक्रेक प्रावि र ल्वाङघलेल–९ स्थित सिदिङको सरस्वती निमाविलाई आर्थिक सहयोग स्वरुप जनहि एक लाख ५० हजारका दरले सोमबार पोखरामा आयोजित एक समारोहका विच सहयोग गरेको हो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा र मञ्चका अध्यक्ष प्रकाशदेव पालिखेले बक्रेक प्राविका अध्यक्ष हरिबहादुर थापा र सरस्वती निमाविका अध्यक्ष तर्कबहादुर गुरुङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष थापाले व्यावसायिक क्षेत्रमा सक्रिय युवा उद्यमीहरुको पहलमा विद्यालयको भौतिक संरचना पुननिर्माणमा सहयोग गर्नु एक उदाहरणीय कार्य भएको प्रशंसनीय गरे । भूकम्पबाट भत्केका शैक्षिक संस्थाको पुन निमार्णमा निजि क्षेत्रले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्ने उनले बताए ।
मञ्चका अध्यक्ष पालिखेले भूकम्पबाट भत्केका विद्यालयको भौतिक संरचनालाई दीगो रुपले संचालन हुने उद्धेश्यले सहयोग गरेको बताए । बिद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन गराउन पनि आफुहरुले सहयोग गरेको उनले बताए । सामाजिक उत्तरदायित्व बोध गरेर आफुहरुले यस अघि पनि विभिन्न विद्यालयमा अस्थायी संरचना बनाउने काम गरेको पालिखेले बताए । मञ्चले गोरखा र धादिङका विभिन्न क्षेत्रमा पुगेर भूकम्प प्रभावितलाई राहत वितरण गरेको छ ।
मञ्चका निवर्तमान अध्यक्ष अमितराज मुल्मीले सामाजिक क्षेत्रमा सहयोग गर्नका लागि युवा उद्यमीहरु सधैं तयार रहेको बताए । बक्रेक प्राविका अध्यक्ष हरिबहादुर थापाले सहयोगको पूर्ण सदुपयोग गरी भवन पुनःनिर्माण कार्य छिटो सम्पन्न गर्ने बताए । सरस्वती निमाविका अध्यक्ष तर्कबहादुर गुरुङले युवा उद्यमीबाट प्राप्त सहयोगले विद्यालय पुनर्निर्माणमा महत्वपूर्ण सहयोग प्राप्त भएको बताए ।