ताजा खबर

व्यावसायिक कबड्डीमा नेपालको छलाङ  

काठमाडौं, २०७२ असार २८,

पछिल्लो समय भारतले विभिन्न खेलमा व्यावसायिक लिग आयोजना गरे पनि नेपालले छिमेकीको नाताले त्यसको फाइदा लिन नसकेको आरोप लाग्ने गरेको छ।

क्रिकेटको इन्डियन प्रिमियर लिग (आईपीएल) होस् वा फुटबलको इन्डियन सकर लिग (आईएसएल), त्यसमा नेपालको प्रतिनिधित्व केवल दर्शकका रूपमा सीमित रहने गरेको छ। तर भारतमै गत सिजनदेखि सुरु भएको प्रो कबड्डी लिगमा भने नेपालको प्रतिनिधित्व निश्चित भएको छ।

आगामी शनिबारदेखि सुरु हुने प्रो कबड्डी लिगको नयाँ संस्करणमा नेपालका दुई खेलाडी सञ्जय श्रेष्ठ र जयबहादुर बोहोराले अवसर पाएका छन्। सञ्जय चर्चित बलिउड नायक अभिषेक बच्चनको स्वामित्वमा रहेको जयपुर पिन्क प्यान्थर्समा आबद्ध छन्।

प्रो कबड्डीको अघिल्लो सिजनको उपाधि विजेता पनि जयपुर नै हो। यसैगरी जयबहादुर भने दबङ दिल्लीका खेलाडी हुन्। दुवै खेलाडी समान दुई लाख ५० हजार भारतीय मुद्रा अर्थात् एक सिजनको चार लाख नेपाली रुपैयाँमा अनुबन्धित भएको जानकारी अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले दिए।

विनोदका अनुसार सञ्जय एक महिनाअघि र जयबहादुर एक साताअघि भारततर्फ लागेका छन्। सञ्जय भने दोस्रो सिजन खेल्न लागेका हुन्। उनले पहिलो सिजनमा आकर्षक प्रदर्शन गर्दै जयपुरलाई उपाधि दिलाउन गतिलो योगदान गरेका थिए। अघिल्लो सिजनमा सञ्जय र सविन प्रजापतिले प्रयास गरे पनि सञ्जयमात्र सफल भएका थिए।

नेपाली टोलीका कप्तानसमेत रहेका जनकपुर निवासी ३१ वर्षीय सञ्जय नेपालका प्रतिभाशाली खेलाडी मानिन्छन् । जयबहादुर भने त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्।

अनलाइन प्रतिस्पर्धाका आधार यी दुई खेलाडी छानिएका हुन्। नेपालबाट चारजना खेलाडीले प्रो कबड्डीमा सहभागिताका लागि प्रयास गरेकोमा दुईजना छानिनु खुसीको विषय भएको विनोदले बताए।

प्रयास गर्ने अन्य दुई खेलाडी बाराका मुन्ना पटेल र भक्तपुरका अनिश सुवाल हुन्। मुन्ना र अनिश पनि नेपालको राष्ट्रिय टोलीका सदस्य हुन्।

प्रो कबड्डीमा पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान, जापान, बेलायत, इन्डोनेसिया, दक्षिण कोरिया, ओमान, ताइवान, केन्या र तुर्कमेनिस्तानका खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रो कबड्डी टेलिभिजन दर्शकमाझ निकै प्रख्यात छ। अघिल्लो संस्करण भारतमा ५५ करोड २० लाख दर्शकले हेरेका थिए, जुन आईपीएलपछि सबैभन्दा बढी हेरिएको खेलकुद प्रतियोगिता थियो।

जयपुर र दिल्लीबाहेक बेंगाल वारियर्स, बेंगलुरु, पटना पाइरेट्स, पुनेरी पल्टन, तेलगु टाइटन्स , यू मुम्बासहित आठ टिमले यसपालिको प्रो कबड्डीमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रो कबड्डीलाई इन्टरनेसनल कबड्डी महासंघ (आईकेएफ) र एसियाली कबड्डी महासंघ (एकेएफ) ले पनि मान्यता दिएको छ।

स्रोत : कान्तिपुर

Related posts