काठमाडौं , २०७२ असार २८,
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले साउनको मसान्तभित्रै संविधान आउने बताएका छन् । साउनको मध्यसम्म संविधान आउने बताउँदै आएका सभाध्यक्ष नेम्वाङले अब साउन मसान्तसम्मको समयसिमा तोकेका छन्।संविधानको पहिलो मस्यौदामाथिको जनमत संकलनका बारेमा नागरिक सम्बन्ध तथा सुझाव समितिले सोमबार आयोजना गरेको वृहत् अन्तरक्रियामा नेम्वाङले भने, ‘ अब साउनको मसान्तको समयसिमा कटाउनु हुँदैन। मसान्तभित्रै संविधान ल्याउनुपर्छ र ल्याउन सकिन्छ।’
उनले कुनै बाहनामा संविधान निर्माण नरोकिने स्पष्ट पार्दै भने, मस्यौदा जनतामा गइसकेको छ । जनमत लिएर यसलाई परिमार्जन गरेर साउनमसान्त सम्म संविधान जारी गर्नसकिन्छ । त्यो दिशामा हामीले गर्नुपर्छ।’
नेम्वाङले संविधान बन्ने आधार तय भइसकेको बताउँदै भने, ‘अब संविधान रोकिदैन। हामीले बनाउनुपर्छ। यो अवसरबाट पनि चुक्यौं भने ठूलो गल्ती हुने छ । त्यसैले यसलाई निश्कर्षमा पुर्याउनु बाहेक अर्को विकल्प छैन।’
उनले नमिलेका विषयलाई अझै पनि परिमार्जनबाट मिलाउन सकिने र असन्तुष्ट पक्षलाई पनि समेटेर जान पहल गर्नुपर्ने बताए।
स्रोत : अन्नपुर्णपोस्ट