ताजा खबर

नेपालसामु सबैभन्दा बलियो प्रतिस्पर्धी   

काठमाडौं, २०७२ असार २८,

आईसीसीका एसोसिएट सदस्यमध्ये आयरल्यान्डको छुट्टै उचाइ छ। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डले धेरै पटक टेस्ट राष्ट्रलाई हराएको छ। यो टोली एसोसिएटमध्ये पहिलो नम्बरको टोली हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातारको उच्च प्रदर्शनका कारण आयरल्यान्ड टीट्वेन्टी र एकदिवसीय अन्तर्राष्ट्रिय गरी दुवै स्वरूपको क्रिकेटमा मुख्य वरीयतामा छ।

सन् २०२० सम्म टेस्ट मान्यता पाउने आयरल्यान्डको लक्ष्य छ। एसोसिएटले मात्र खेल्ने विश्वस्तरका प्रतियोगिताको उपाधि प्रायः सबै आयरल्यान्डले जित्ने गरेको छ।

यो टोलीले सन् २००७ यता तीन एकदिवसीय विश्वकप र सन् २००९ यता चारवटा टीट्वेन्टी विश्वकप खेलेको छ भने एसोसिएटले मात्र खेल्ने तीन दिवसीय स्वरूपको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता इन्टर कन्टिनेन्टल कप सन् २००५ यता चार पटक जितेको छ।

यही राष्ट्रसँग सोमबार नेपालले टीट्वेन्टी विश्वकप छनोटमा महत्वपूर्ण खेल खेल्दैछ। आयरल्यान्ड टीट्वेन्टी विश्वकप क्रिकेट छनोटमा हालसम्म आयोजना भएका चार संस्करणमा तीन पटक विजेता र एक पटक उपविजेता बनेको छ।

यसर्थ आयरल्यान्डविरुद्ध प्राप्त हुने जित नेपालका लागि सिनियर क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हुनेछ।

टीट्वेन्टी क्रिकेटमा नेपालले हालसम्म आयरल्यान्डविरुद्ध खेलेको छैन। घरेलु टोलीसमेत भएकाले आयरल्यान्डलाई फाइदैफाइदा छ।

यस्तो स्थितिमा सुखद नतिजा निकाल्नु नेपालका लागि पनि सुनमा सुगन्ध झैं हुनेछ। आयरल्यान्डको तुलनामा नेपाल सिनियर क्रिकेटमा भर्खरैमात्र विश्वस्तरमा आउन थालेको टोली हो।

नेपालले गत टीट्वेन्टी विश्वकप खेलेर पहिलो पटक आईसीसीको सिनियर विश्वकपमा सहभागिता जनाएको थियो। एसोसिएटले मात्र खेल्ने सबैभन्दा ठूलो एकदिवसीय प्रतियोगिता आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप पनि नेपालले भर्खरैमात्र खेल्ने अवसर पाएको छ।

जारी प्रतियोगितामा नेपाल र आयरल्यान्ड दुवैले हार व्यहोरेका छैनन्। दुवैले समान दुई खेल खेलेका छन् । तर नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि नामिबियासँग अंक बाँड्नु परेको थियो।

नेपालले पहिलो खेलमा अमेरिकालाई हराएको थियो। नेपालले खेलेका दुवै प्रतिद्वन्द्वीलाई आयरल्यान्डले हराएको थियो । आयरल्यान्ड दुई खेलबाट चार अंक जोडेर समूहको शीर्ष स्थानमा छ।

दुई खेलबाट तीन अंक कमाएको नेपाल दोस्रो स्थानमा छन्। माथिल्लोस्तरको प्रतियोगिता लामो समयदेखि खेलेका खेलाडीको वर्चस्व आयरल्यान्ड टोलीमा रहेको छ। गत वर्षमात्र एसोसिएटमध्ये दोस्रो ठूलो टोली अफगानिस्तानलाई हराएकाले नेपालको मनोबल पनि उच्च नै देखिन्छ।

नेपाल र आयरल्यान्डबीचको खेलमा वर्षा हुने सम्भावना

नेपाल र आयरल्यान्डबीच सोमबार हुने खेल वर्षाले प्रभावित हुन सक्ने देखिएको छ। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले खेल आयोजना हुने आयरल्यान्डस्थित बेलफास्टमा सोमबार पनि वर्षा हुने सम्भावना रहेको बताए।

‘यहाँका मौसमविद्ले भोलि पनि वर्षा हुने सम्भावना व्यक्त गरेका छन्’, अन्नपूर्णसँग आइतबार कुरा गर्दै दासानायकेले भने। उनले शनिबार नामिबियाविरुद्ध भएको खेलमा एक अंक प्राप्त गरेकोमा खुसी व्यक्त गरे।

आयरल्यान्डले अमेरिकालाई हरायो

उत्कृष्ट बलिङका कारण आयरल्यान्डले आइतबार अमेरिकालाई ४६ रनले हराएर लगातार दोस्रो जित हात पार्‍यो। पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभर खेल्दै एक सय ४६ रन जोडेको थियो।

तर अमेरिका १६.३ ओभरमा एक सय रनमा सीमित भयो। अमेरिकालाई सस्तोमा समेट्न एलेक्स कुसाक, जोन मुनी र स्टुवार्ट थम्पसनले दुईदुई विकेट लिए।

जर्ज डक्रेल र केभिन ओब्रायनले पनि एकएक विकेट हात पारे।

६१ रन जोड्दा तीन विकेट गुमाएको अमेरिकाले अन्तिम सात विकेट ४० रनमा गुमायो। आइतबार नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले यूएईलाई सात विकेटले पराजित गर्‍यो। ओमानले पनि क्यानडालाई डकवर्थ एन्ड लेविस नियमका आधारमा सात विकेटले पराजित गर्‍यो।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts