ताजा खबर

जहाँ जान्छन् सबैभन्दा धेरै पर्यटक 

२०७२ असार २८,

नेपालमा वर्षमा १० लाख विदेशी पर्यटक भित्र्याउन विगतमा भ्रमण वर्ष नै आयोजना गरिएका थिए । तर, त्यो लक्ष्य भेट्टाउन सम्भव भएन । यस वर्षको भूकम्पले नेपाल आउने विदेशीको संख्यामा थप कटौती हुने आशंका छ । तर, संसारमा यस्ता सहर पनि छन्, जहाँ लाखौँ होइन, करोडौँ पर्यटक पुग्छन् । मास्टर कार्डले ग्लोबल डेस्टिनेसन सिटी इन्डेक्समार्फत सन् २०१४ मा सबैभन्दा धेरै पर्यटक पुगेका पाँच सहर छनोट गरेको छ । मास्टर कार्डले टुरिजम बोर्डको आँकडा, हवाई उडान तथा हरेक वर्ष आउने मानिसको संख्यालाई मिलाएर यो आँकडा निकालेको हो ।

लन्डन (१.८७ करोड)

बेलायतको राजधानी लन्डनमा सन् २०१४ मा सबैभन्दा धेरै पर्यटक पुगेको मास्टर कार्डको अनुमान छ । उक्त वर्ष लगभग एक करोड ८७ लाख विदेशी पर्यटक लन्डन पुगेका थिए । त्यहाँ रहेका फोल्ड हुने लन्डन ब्रिज, एक सय ३५ मिटर अग्लो लन्डन आई, टावर अफ लन्डन, थेम्स नदी तथा आधा दर्जनभन्दा बढी संग्रहालय मुख्य आकर्षण हुन् । त्यसैगरी सपिङ, मनोरञ्जन एवं स्वादिष्ट खानाका लागि पनि लन्डन प्रख्यात छ ।

बैंकक (१.६४ करोड)

राजनीतिक अस्थिरताको सिकार भए पनि पूर्वी एसियाली राष्ट्र थाइल्यान्डको राजधानी बैंकक दोस्रो नम्बरमा छ । यो वर्ष त्यहाँ एक करोड ६४ लाख अन्तर्राष्ट्रिय पर्यटक पुगेको अनुमान छ । बैंककमा खासगरी नोभेम्बरदेखि फेब्रुअरीसम्म धेरै पर्यटक पुग्छन् । बैंकक खासगरी स्वच्छन्द रात्रि जीवनका लागि चर्चित छ । त्यसैगरी लोभलाग्दा समुद्री तट तथा टापुका कारण पनि पर्यटक आकर्षित हुन्छन् । ‘सेक्स टुरिजम’का लागि चर्चित भए पनि बैंककमा रहेका बुद्ध मन्दिर पनि पर्यटकका आकर्षणका केन्द्र बन्ने गरेका छन् ।

पेरिस (१.५६ करोड)

फ्रान्सको राजधानी पेरिसमा गत वर्ष पुगेका पर्यटकको संख्या एक करोड ५६ लाख रहेको मास्टर कार्डको अनुमान छ । पेरिसमा रहेका आइफल टावर, भर्साइल्स दरबार, मोन्टपार्नेसे टावर, नोटे डाम चर्च र स्वान्जे लिजेजस्ता आकर्षण छन्, जुन हेर्न विश्वभरिका मानिस पेरिस पुग्ने गर्छन् । त्यसैगरी कला संग्रहालय हेर्न तथा मदिरालयमा जान पनि पर्यटक खुबै इच्छा गर्छन् ।

सिंगापुर (१.१९ करोड)

एउटा देश, एउटा टापु र एउटा सहरका रूपमा दक्षिण–पूर्वी एसियाली राष्ट्र सिंगापुरले संसारभरिका पर्यटकलाई लोभ्याउँछ । ठूलो संख्यामा अन्तर्राष्ट्रिय पर्यटकको प्रवाहका कारण सिंगापुर खुबै चलायमान हुन्छ । सिंगापुर संसारकै सबैभन्दा धेरै उडान कनेक्सन भएका राष्ट्रहरूमध्ये पनि पर्छ । सबैभन्दा सफा मानिएको चांगी विमानस्थलबाट विश्वका दुई सय गन्तव्यमा उडान उपलब्ध छन् । सेन्ट्रल पार्क, सिंगापुर बोटानिकल गार्डेन, मरिन बे स्यान्ड्स, सुन्दर समुद्र तट आदि अन्तर्राष्ट्रिय तथा स्थानीय पर्यटकका आकर्षणका केन्द्र हुन् ।

दुबई (१.२ करोड)

पश्चिम एसियाको संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर दुबई पनि पर्यटक भित्र्याउन निकै अग्रणी छ । मास्टर कार्डको इन्डेक्समा पाँचौँ नम्बरमा आएको दुबईले गत वर्ष एक करोड दुई लाख पर्यटकलाई स्वागत गरेको थियो । दुबईको सबैभन्दा ठूलो आकर्षण संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा हो । यहाँका सपिङ सेन्टर पनि पर्यटकका आकर्षण हुन् । त्यसैगरी दुबई मरिन इलाकामा रहेका होटल, बार, रेस्टुराँ पनि चर्चित छन् ।

स्रोत : नया पत्रिका

Related posts