ताजा खबर

ग्रिस संकट : इयू शिखर वार्ता रद्द 

ब्रसेल्स, २०७२  असार २८,

ग्रिस संकटबारे छलफल गर्न बोलाइएको युरोपेली युनियन (इयू) शिखर वार्ता रद्द भएको छ । वार्तामा इयूका सबै २८ सदस्य राष्ट्र सहभागी हुने कार्यक्रम तय भएको थियो । तर, ग्रिसका प्रस्तावमाथि तत्काल सम्झौता गर्न नसकिने भन्दै वार्ता रद्द भएको हो । वार्ता रद्द भएसँगै ग्रिस युरोजोनबाट बाहिरिने सम्भावना बढेको विश्लेषण छ ।

यसबीच ग्रिसको आर्थिक संकटबारे समाधान निकाल्न युरोजोनका वित्तमन्त्रीस्तरीय वार्ता भने जारी छ । उनीहरूले केही दिन वार्तामा बसेर निर्णय लिन सक्ने अनुमान छ । तर, वार्तामा सहभागी युरोजोनका वित्तमन्त्रीहरूले ग्रिसका पछिल्ला प्रस्तावबारे सकारात्मक प्रतिक्रिया दिएका छैनन् ।

५ जुलाईमा भएको जनमतसंग्रहमा ग्रिक जनताले अस्वीकार गरेका प्रस्तावमा सामान्य परिमार्जन गर्दै ग्रिक सरकारले इयू तथा अन्य ऋणदातासामु नयाँ प्रस्ताव लगेको थियो । तर, यसलाई पनि ग्रिक सरकारको ‘छलछाम’ भएको आरोप युरोजोनका नेताहरूले लगाएका छन् । उनीहरूले यी प्रस्ताव लागू हुनेमा आशंका गरेका छन् ।

‘हामीले ग्रिसका प्रस्तावमाथि लामो समयसम्म छलफल गर्‍यौँ, तर अहिलेसम्म पनि टुंगोमा पुगेका छैनौँ,’ युरो ग्रुपका नेता येरुन दाइसाब्लुमले बताएका छन्, ‘वार्ता अत्यन्तै कठिन मोडमा गुज्रिएको छ । ग्रिसका प्रस्तावको गहनताबारे हामी छलफल गरिरहेका छौँ । प्रस्ताव कार्यान्वयन होला भन्नेमा विश्वस्त हुन सकेका छैनौँ । र, वित्तीय विषयका मुद्दा पूरा होलान् भन्नेमा हामीमा शंका नै छ ।’

युरोजोनका वित्तमन्त्रीहरूको १० घन्टाभन्दा लामो वार्तापछि ब्रसेल्समा युरोपेली नेताहरूको वार्ता सुरु भएको छ । तर, वार्ता सकारात्मक हुनेमा विश्लेषकहरूले आशंका गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले अहिलेको अवस्था अत्यन्तै कठिन भएको बताएकी छिन् । ‘यो कठिन समय हो,’ उनको भनाइलाई बिबिसीले उद्धृत गरेको छ, ‘अबका वार्ता समस्याग्रस्त हुनेछन् । हामी ग्रिसलाई बचाउन चाहन्छौँ, तर ऊ लचिलो भएको छैन ।’

आइतबार हुने सबै सदस्य सम्मिलित वार्ता रद्द भएसँगै युरोजोनका नेताहरूले आर्थिक सुधारका लागि गरेका वाचालाई कानुन बनाउन ग्रिक सरकारसँग आग्रह गरेका छन् । युरोजोन नेताहरूले ग्रिसको राजनीतिक उथलपुथलका कारण त्यहाँको विश्वास गुमेको बताउँदै नयाँ प्रस्ताव कार्यान्वयन हुनेमा आशंका रहेको बताएका छन् । उनीहरू यसको कार्यान्वयनको ग्यारेन्टीका लागि ग्रिक कानुनमै नयाँ प्रस्तावको उल्लेख होस् भन्ने चाहन्छन् ।

नयाँ प्रस्तावमा ग्रिसले ऋणदातासँग तेस्रो युरोपेली बेलआउटका लागि ५३.५ बिलियन युरो माग गरेको छ ।

६ बुँदा

५ जुलाईमा जनमतसंग्रहले अस्वीकार गरेका प्रस्तावमा केही परिमार्जन गर्दै ग्रिसले युरोपेली युनियनसामु प्रस्ताव राखेको छ । यी प्रस्ताव युरोपेली युनियन तथा ऋणदाताले स्वीकार गर्न सक्ने सम्भावना अत्यन्तै न्यून छ ।

युरोजोनका नेताहरू बेल्जियमको ब्रसेल्समा भेला भएका छन् । उनीहरू ग्रिस संकटबारे नै वार्ता गर्दै छन् । यसअघि १० घन्टाभन्दा बढी युरोजोनका वित्तमन्त्रीहरूको बैठक बसेको थियो । त्यो वार्ता कुनै टुंगोमा पुगेन ।

जर्मन चान्सलर एन्जेला मर्केलले अवस्था अत्यन्तै कठिन भएको र तत्कालै ग्रिसलाई युरोजोनमै राख्न कठिन भएको बताएकी छिन् ।

सबै इयू सदस्य राष्ट्र सम्मिलित हुने आइतबारको इयू शिखर वार्ता रद्द गरिएको छ । ग्रिस संकट अन्त्यका लागि यो वार्ता अत्यन्तै महत्त्वपूर्ण थियो । अब के हुने–नहुने कुनै फैसला हुनका लागि केही समय लाग्ने निश्चित छ । पछिल्ला घटनाक्रमले ग्रिस इयूबाट बाहिरिने सम्भावना बढाएको छ ।

युरोजोनका नेताहरूले ग्रिसको राजनीतिक उथलपुथल र राजनीतिक गतिविधिका कारण विश्वास गुमेको बताएका छन् । उनीहरूले ग्रिसले सुधारका कार्यक्रम कानुनमा समावेश गर्नुपर्ने माग राखेका छन् । यो तत्कालै सहजै सम्भव हुने माग होइन ।

ग्रिसले तेस्रो युरोपेली बेलआउटमा ऋणदाताहरूसँग ५३.५ बिलियन युरो माग गरेको छ । तर, युरोपेली केन्द्रीय बैंकले ग्रिसलाई अहिले आपत्कालीन सहयोग मात्र दिइरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण समयमै नबुझाउने पहिलो युरोपेली राष्ट्र ग्रिस बनेको छ । ग्रिसका सबै बैंक बुधबारसम्मका लागि बन्द छन् ।

स्रोत : नया पत्रिका

Related posts