म्याड्रिड :२०७२ असार २८,
रियल म्याड्रिडका क्याप्टेन तथा विश्व प्रसिद्ध गोलकिपर आइकर क्यासिलसले म्याड्रिडको बर्नानेउ रङ्गशालामा पत्रकार सम्मेलन गर्दै आफू रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका छन् ।
पत्रकारमाझ भाबुक देखिएका क्यासिलसले रुँदै आफूले ९ वर्षको उमेरदेखि रियल म्याड्रिडको टि-सर्ट लगाएको स्मरण गर्दै रियलसँगको लगाव २५ वर्षसम्म कायम रहेको बताए ।
क्यासिलसलार्इ क्लबले पोर्चुगिज क्लब एफसी पोर्टोमा पठाएपछि उनले रियल म्याड्रिडबाट अलग भएको घोषणा गरेका हुन् ।
आफूलाई लामो समयदेखि माया गरिदिएकोमा सबै शुभेच्छुक र समर्थकलाई सम्मेलनमा उनले धन्यवाद व्यक्त गरे ।
पत्रकार सम्मेलनमा उनले आफूलाई रियल म्याड्रिडले मानवीय मूल्य मान्यता, सम्मान तथा नम्रताको पाठ सिकाएको बताउँदै क्लब र क्लबसँग सम्बन्धित सबैलाई उनले धन्यवाद ज्ञापन गरे ।
स्रोत : अन्नपुर्णपोस्ट