ताजा खबर

कसको पहिलो फिल्म कुन ? 

२०७२ असार २८,

भुवन केसी (जुनी)

सर्वाधिक हिट फिल्म दिएका अभिनेता भुवन केसीको पहिलो फिल्म जुनी (२०३८) हो । आधुनिक गीत गायकको रूपमा करिअर बनाउँदै गएका भुवन जुनीमा अडिसन दिएर हिरो छानिएका थिए । जुनीको हिरो बन्नका लागि त्यतिवेला करिब पाँच सयजना युवाले आवेदन दिएकामा निर्माण युनिटले भुवनलाई छानेको थियो । भारतीय निर्देशक शरद पालेकरको निर्देशनमा बनेको सो फिल्ममा भुवनको जोडी मीनाक्षी आनन्द थिइन् । जुनी व्यावसायिक रूपमा अब्बल नभए पनि हिरोका रूपमा भुवन भने चम्किए ।

राजेश हमाल (युगदेखि युगसम्म)

हालसम्म तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका राजेश हमालले क्यामेरा फेस गरेको पहिलो फिल्म भाग्यरेखा हो । तर, सो फिल्मको केही दिनको सुटिङपछि निर्देशक दीपक रायमाझीले हमाललाई फिल्मबाट निकालेका थिए । नातामा आफ्नै मामा पर्ने निर्देशक रायमाझीले चालचलन र हिरोइन कृष्टि मैनालीसँगको हिमचिमप्रति असन्तुष्टि व्यक्त गर्दै हमाललाई भाग्यरेखाबाट ‘आउट’ गरेका थिए । पछि सो फिल्ममा राजेश र कृष्टिको ठाउँमा रविन्द्र खड्का र मौसमी मल्ललाई लिइयो । हमाललाई फेरि मामा निर्देशक दीपक रायमाझीले नै डेब्यु गराए– युगदेखि युगसम्म (२०४७) बाट । सो फिल्ममा हमालको जोडी कृष्टि नै छिन् । युगदेखि युगसम्मबाट सुरु भएको हमालको हिरोको यात्रा अद्यापि जारी छ ।

निखिल उप्रेती (पिँजडा)

एक्सन स्टार निखिल उप्रेतीको पहिलो फिल्म पिँजडा (२०५८) हो । देशभक्त खनालको निर्देशनमा पवन मैनालीले निर्माण गरेको पिँजडा सुपरहिट भएको थियो । पिँजडाअघि निखिल मुम्बईमा स्टन्टम्यान तथा फाइट मास्टरका रूपमा कार्यरत थिए । पवनले केही वर्षअघि नै निखिललाई हिरो बनाउँछु भनेका थिए । मुम्बईमा संघर्षरत निखिल पिँजडा खेल्न काठमाडौं आएपछि यतै व्यस्त भए । उनका थुप्रै फिल्म हिट छन् । सवा एक सय फिल्ममा अभिनय गरिसकेका निखिलले यसै वर्ष भैरव फिल्मबाट निर्देशकका रूपमा डेब्यु गरेका छन् । उनको फिल्म ११ भदौमा रिलिज हँुदै छ ।

आर्यन सिग्देल (किस्मत)

आर्यन सिग्देलले सहनायकका रूपमा प्रवेश पाए– किस्मत फिल्मबाट । छविराज ओझाले उज्ज्वल घिमिरेको निर्देशनमा निर्माण गरेको किस्मतपछि आर्यन हिरोका रूपमा चम्किए । मोहन निरौलाको परिवर्तन नेपालमा अभिनय सिक्ने तथा नाटक गर्ने गरेका आर्यनले किस्मतअघि केही टेलिशृंखला तथा भिडियो फिल्ममा अभिनय गरेका थिए । पछिल्लो समय नोभेम्बर रेनबाट निर्मातासमेत बनेका उनी दोस्रो फिल्म क्लासिक बनाउँदै छन् । अहिलेसम्म उनले डेढ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

दयाहाङ राई (अनागरिक)

कमेडी अभिनेता दयाहाङ राईले अभिनय गरेको पहिलो फिल्म अनागरिक हो । रामबाबु गुरुङको निर्देशनमा बनेको सो फिल्म सार्वजनिक प्रदर्शनमा आएको छैन । त्यसपछि उनले सुदर्शन थापाको मेरो एउटा साथी छमा छोटो भूमिका निर्वाह गरे । उनलाई अभिनेताको रूपमा अघि बढाएको फिल्म हो– दासढुंगा । दासढुंगा दुर्घटनाको विषयमा मनोज पण्डित निर्देशित सो फिल्ममा दयाहाङले स्वर्गीय नेता मदन भण्डारीका ड्राइभर अमर लामाको भूमिका निर्वाह गरेका छन् । उनलाई कमेडी एक्टरका रूपमा भने लुट फिल्मले परिचित गराएको हो । त्यसपछि उनले डेढ दर्जनभन्दा बढी फिल्ममा प्रमुख भूमिका निर्वाह गरिसकेका छन् ।

रेखा थापा (हिरो)

अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापाले अभिनय गरेको ठूलो पर्दाको पहिलो फिल्म हिरो हो । नरेश पौडेलको निर्देशनमा नरेश पौडेल, छविराज ओझा र श्याम खेतानले संयुक्त लगानीमा निर्माण गरेको सो फिल्ममा रेखा सहनायिका छिन् । हिरोमा निरुता सिंह र गौरी मल्ल प्रमुख भूमिकामा छन् । रेखाले शीर्ष भूमिकामा अभिनय गर्न पाएको पहिलो फिल्मचाहिँ दुर्गा हो । शोभित बस्नेतको निर्देशनमा बनेको सो फिल्ममा रेखा एक्सन लेडी बनेकी छिन् । फिल्ममा आउनुअघि रेखाले नारायण पुरीको निर्देशनमा बनेको एउटा टेलिफिल्ममा बालअभिनय गरेकी थिइन् ।

झरना थापा (दाइजो)

अहिलेसम्म झन्डै एक सय फिल्ममा हिरोइन बनिसकेकी झरना थापाले अभिनय गरेको पहिलो फिल्म दाइजो हो । निर्देशक दयाराम दाहालले डेब्यु गरेको सो फिल्ममा झरना छोटो भूमिकामा थिइन् । तर, उनी हिरोइन बनेको पहिलो फिल्म भने धर्मसंकट हो । राजेश हमाल र शिव श्रेष्ठ पहिलोपटक सँगै अभिनय गरेको सो फिल्ममा झरना सहनायिका छिन् । झरना आफैँले निर्माण गरेको धर्मसंकटमा गौरी मल्ल प्रमुख भूमिकामा छिन् । मलाई नेपाली माया चाहिन्छ बोलको गीतका कारण झरना चर्चित बनिन् । त्यसपछि जीवनसाथी हुँदै झरना प्रमुख हिरोइनका रूपमा स्थापित भइन् । अब उनी फिल्म निर्देशनमा लाग्दै छिन् ।

अनु शाह (द युगदेखि युगसम्म)

आठ क्लासमा पढ्दै गर्दा मोडलिङमा लागेकी अनु शाहले अभिनय गरेको पहिलो फिल्म द युगदेखि युगसम्म हो । दीपेन्द्र के खनालको निर्देशनमा अर्जुन कुमारले निर्माण गरेको सो फिल्ममा अनुु सहनायिका छिन् । एक सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनुले धर्मा, ठेगाना, द्रव्य, एउटा साथी, द्यौली, भैरव, लक्ष्यलगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनी पछिल्लो समयकी व्यस्त हिरोइनमा पर्छिन् ।

हर्षिका श्रेष्ठ (अँगालो यो मायाको)

पछिल्लो समयकी चल्तीकी हिरोइन हर्षिका श्रेष्ठले अभिनय गरेको पहिलो फिल्म अँगालो यो मायाको हो । फिल्म अभिनयमा प्रवेश गर्नुभन्दा अघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी हर्षिका भिजुअल एडिटर पनि हुन् । चार वर्षअघि सिक्किमबाट बनेको अँगालो यो मायाकोमा हर्षिकाको जोडी छन्– तेस्रो इन्डियन आइडल प्रशान्त तामाङ । त्यसपछि उनले किन मायामा, जन्जिर, नागबेली, मिस्टेक, मुखौटालगायतका डेढ दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् ।

रजनी केसी (लोफर)

लोफर फिल्मबाट अभिनयमा डेब्यु गरेकी रजनी केसीले त्यसपछि परदेशी र ब्रास्लेट फिल्ममा अभिनय गरिसकेकी छिन् । केही म्युजिक भिडियो र टेलिविज्ञापनमा समेत अभिनय गरेकी फार्मेसीकी विद्यार्थी रजनी संख्याभन्दा गुणस्तरीय फिल्मको पक्षमा रहेको बताउँछिन् । रजनीलाई पछिल्लो समयकी आसलाग्दी हिरोइनका रूपमा हेर्ने गरिएको छ ।

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *