ताजा खबर

अर्थतन्त्र परम्परागत ऊर्जामै निर्भर 

काठमाडौ,   २०७२ असार २८,

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले नेपाली अर्थतन्त्र पराम्परागत ऊर्जामै निर्भर रहेको देखाएको छ।

‘पराम्परागत ऊर्जा माथिको नेपाली अर्थतन्त्रको उच्च निर्भरता यथाव छ,’ आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ। चालू आर्थिक वर्षको ८ महिनासम्म ऊर्जा खपत ७ हजार ७ सय ८१ टन तेल शक्ति बराबर पुगेको छ। त्यसमध्ये पराम्परागत ऊर्जाको खपत ७७, व्यापारिक २० र नविकरणीय ३ प्रतिशत छ। गत आर्थिक वर्ष यो अनुपात क्रमश: ७८, १७ र २ दशमलव ६ प्रतिशत थियो।

परम्परागत ऊर्जामा दाउरा, कृषिजन्य अवशेष र गोबर/गुइँठा छन्। यसैगरी चालू आर्थिक वर्षको ८ महिनामा परम्परागत ऊर्जाको खपत ५ हजार ९ सय ८९ टन तेल शक्ति बराबर छ। त्यसमध्ये दाउरा ५ हजार ४ सय ३६ टन तेल शक्ति बराबर छ।

सर्वेक्षणअनुसार दाउरा सबैभन्दा ठूलो ऊर्जाको स्रोत हो। त्यस्तै कृषिजन्य अवशेष २ सय ६९ टन तेल शक्ति बराबर र गोबर/गुइँठा २ सय ८४ टन तेल शक्ति बराबर छ। ‘चालू आर्थिक वर्षको प्रथम ८ महिनामा दाउराबाट ६९ दशमलव ८७ , कृषिजन्य अवशेषबाट ३ दशमलव ८६ र पशुजन्य अवशेषबाट ३ दशमलव ६५ प्रतिशत ऊर्जा खपत रहन गएको छ,’ प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्ष दाउराबाट ७२ दशमलव ६० प्रतिशत ऊर्जा उत्पादन भएको थियो।

सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा दाउराबाट ऊर्जा खपतको मात्रा २ दशमलव ७३ प्रतिशतले घटेको छ।

त्यस्तै व्यापारिक ऊर्जामा पेट्रोलियम पदार्थको खपत गत आर्थिक वर्ष ११ दशमलव २५ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ११ दशमलव २८ प्रतिशत पुगेको छ। कोइला खपत गत आर्थिक वर्ष ३ सय २० टन तेल शक्ति बराबर रहेकामा चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ४ सय १९ टन तेल शक्ति बराबर पुगेको छ।

व्यापारिक ऊर्जामै जलविद्युत्को उत्पादन गर्ने प्लान्टको क्षमता गत आर्थिक वर्ष ७ सय ४६ मेगावाट (खपतको मात्रा ३ सय ७४ टन तेल शक्ति) रहेकामा चालू आर्थिक वर्ष ४ दशमलव ८९ प्रतिशतले बढेर ७ सय ८२ दशमलव ४५ मेगावाट (प्रथम ८ महिनामा खपत भने २ सय ५८ टन तेल शक्ति बराबर मात्र) पुगेको छ।

‘नेपालमा ऊर्जाको माग र उपयोग मूलत: परम्परागत स्रोतकै बाहुल्यता रहेको छ,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ, ‘अपार जलसम्पदा र त्यसबाट ऊर्जा उत्पादनको प्रशस्त सम्भावना रहेको भए पनि जलविद्युत् नवीकरणीय ऊर्जा उत्पादनमा उल्लेख्य प्रगति हासिल गर्न नसकेकाले ऊर्जा संकट बढ्दै गएको छ।’

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *