काठमाडौं, २०७२ असार २८,
३ वर्षमा १९ अर्ब ७९ करोड पुनर्कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष ०६९/७० देखि ०७१/७२ सम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो रकमबराबरको पुनर्कर्जा सुविधा प्रदान गरेको हो । त्यसमध्ये साधारण पुनर्कर्जामा १३ अर्ब ४२ करोड र निर्यात पुनर्कर्जामा ६ अर्ब ६७ करोड रुपैयाँ छ । विभिन्न शीर्षकमा प्रदान गरिने यस्तो पुनर्कर्जा माग पछिल्ला वर्षमा बढ्दै गएको छ । आव ०६९/७० मा ३ अर्ब ४५ करोड पुनर्कर्जा प्रवाह भएकामा चालू आवमा ८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यसले ३ वर्षमा पुनर्कर्जा माग करिब साढे २ गुणा बढेको देखाउँछ । यस्तै, आव ०७०/७१ मा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ७ अर्ब ७१ करोड रुपैयाँबराबर पुनर्कर्जा सुविधा लिएका छन् । उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन उद्देश्यले राष्ट्र बैंकले पुनर्कर्जा सुविधा सुरु गरेको थियो ।
अहिले पुनर्कर्जा अवस्था उत्साहजनक रहेको राष्ट्र बैंकका प्रवक्ता डा. मीनबहादुर श्रेष्ठले बताए । राष्ट्र बैंकले पुनर्कर्जा क्षेत्र विविधीकरण गर्नुका साथै ब्याजदर र प्रक्रिया केही सहज बनाएकाले प्रवाह बढेको उनले दाबी गरे । ‘पुनर्कर्जा माग बढ्नुले केही हदसम्म मौद्रिक नीति प्रभावकारी भएको स्पष्ट बुझ्न सकिन्छ,’ उनले भने । रुग्ण उद्योगबाहेक अन्य शीर्षकमा अपेक्षाअनुसार नै पुनर्कर्जा प्रवाह भएको छ । श्रेष्ठले भने, ‘उत्पादनमूलक र निर्यातजन्य क्षेत्रमा पुनर्कर्जा माग धेरै बढेको छ ।’ यस्तै, पुनर्कर्जासम्बन्धी राष्ट्र बैंकको व्यवस्था जलविद्युत् र निर्यातजन्य उद्योगमा मात्र प्रभावकारी देखिएको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले बताए । उनले भने, ‘पुनर्कर्जाको विद्यमान समयावधि ६ महिना बढाएर कम्तीमा १ वर्ष बनाइए प्रभावकारी हुन सक्छ ।’ राष्ट्र बैंकले ४ वर्षदेखि पुनर्कर्जा सुविधा दिन थालेको हो । अहिले साधारण र विशेष गरी दुई किसिमको पुनर्कर्जा दिँदै आएको छ ।
साधारण पुनर्कर्जा जलविद्युत्, कृषि, उत्पादनमूलक क्षेत्रमा प्रदान गरिन्छ । यस्तो पुनर्कर्जा सुविधा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले पाउँछन् । तर, विशेष पुनर्कर्जा वाणिज्य बैंकले मात्र पाउने व्यवस्था छ । रुग्ण उद्योग, घरेलु तथा साना उद्योग, महिलाद्वारा सञ्चालित व्यवसाय र वैदेशिक रोजगारीका लागि तोकिएको वर्ग एवं तोकिएको समुदायद्वारा सञ्चालित साना व्यवसायका लागि राष्ट्र बैंकले यस्तो सुविधा दिँदै आएको छ । यो वर्ष राष्ट्र बैंकले सुपथ दरका आवास कर्जाका लागि आवास पुनर्कर्जा सुविधा दिने व्यवस्था गरेको छ । भूकम्पपछि राष्ट्र बैंकले २ प्रतिशत ब्याजदरमा आवास कर्जा कार्यक्रम ल्याएको छ । सामान्य अवस्थामा १० वर्ष समायावधि रहेको यो कर्जामा सम्बन्धित बैंकले शून्य ब्याजदरमा पुनर्कर्जा सुविधा पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाले वार्षिक ४ प्रतिशत ब्याजदरमा साधारण पुनर्कर्जा पाउँछन् । यस्तै, विशेष पुनर्कर्जाअन्तर्गत राष्ट्र बैंकले वार्षिक १ प्रतिशत ब्याजदरमा त्यस्तो सुविधा दिँदै आएको छ । यस्तो कर्जाअन्तर्गत बैंकले ग्राहकबाट बढीमा वार्षिक ४.५ प्रतिशतसम्म ब्याज उठाउन सक्छन् । नेपालका विकट र अतिविकट गरी १९ जिल्लामा नयाँ शाखा खोलेबापत बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट शून्य ब्याजदरमा कर्जा सुविधा पाउँछन् । तर, यस्ता शीर्षकमा कम मात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ ।
स्रोत : नया पत्रिका