ताजा खबर

फेवा फाईनान्स र विश्व विकास बैंक गाभिए आजबाट फेवा विकास बैंकबाट कारोबार सुरु

दिननाथ बराल

२०७२ असार २८, पोखरा,

पोखराको फेवा फाइनान्स लिमिटेड र विश्व विकास बैंक लिमिटेड एक आपसमा गाभिएका छन् । पोखरामा प्रधान कार्यालय रहेको फेवा र विश्व एक आपसमा गाभिएर आज (सोमबार) देखि फेवा विकास बैंकको नामबाट संयुक्त कारोबार संचालन सुरु भएको छ ।

राष्ट्रिय स्तरमै कारोबार गर्दै आएको फेवा फाइनान्स र क्षेत्रीयस्तरको विश्व विकासको कार्यक्षेत्र १० जिल्लामा रहेको थियो भने मर्जर पछि राष्ट्रियस्तरको विकास बैंक भएको छ । मर्जरपछि बनेको बैंकको सञ्चालक समिति अध्यक्षमा जगनबहादुर गुरुङ रहेका छन । उनी यसअगाडि विश्व विकास बैंकको अध्यक्ष पदमा रहेका थिए । फेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा रहेका छन । उनी यस अघि फेवा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । विश्व विकास बैंकका प्रमुख कार्यकारी अधिकृत शमिरशेखर बज्राचार्य अब सहायक प्रमुख कार्यकारी अधिृकत रहने भएका छन ।

मर्जरपछि बनेको फेवा विकास बैंकको प्रधान कार्यालय पोखरामै रहने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । पोखरा पनि वित्तीय क्षेत्रका राम्रो केन्द्र भएकोले पनि आफुहरुले प्रधानकार्यालय पोखरामै राख्ने भएको थापाले जनाए । उनले भने “पोखरामा प्रधान कार्यालय रहेका वित्तीय संस्था मर्जर भएपछि प्रधान कार्यालय राजधानी काठमाडौं सार्ने प्रचलन थियो, तर हामीले त्यसो गर्न चाहेनौं केन्द्रीय कार्यालय पोखरामै बनाएका हौं ।”

फेवा फाइनान्स २०६० वैशाखदेखि र विश्व विकास बैंक २०६४ मंसिरदेखि सेवा दिदै आएका हुन । मर्जरपछि बैंकको कुल चुक्ता पूँजी ८१ करोड ६३ लाख १५ हजार रुपैयाँ पुगेको प्रमुख कायकारी अधिकृत थापाले बताए । उनका अनुसार कुल प्राथमिक पुँजी १ अर्ब १४ करोड रूपैयाँ हुनेछ भने निक्षेप ९ अर्ब रूपैयाँ भन्दा बढी र कर्जा लगानी ८ अर्ब रूपैयाँ भन्दा बढी पुग्ने थापाले बताए । सोमबारबाट एक भइ एउटै ‘सिस्टम’बाट वित्तीय कारोबार सुरु भएको छ । मर्ज पछि पुँजीमा पनि बृद्धि भएकाले लगानीको क्षेत्रलाई पनि बिस्तार गर्ने भएको उनले बताए ।

मर्जरपछि बैंकको शाखा २७ वटा र एटीएम १६ वटा हुने भएको बैंकले जनाएको छ । ग्राहक संख्या १ लाख भन्दा माथि पुग्ने बैंकमा कर्मचारी संख्या २ सय २५ पुग्ने थापाले बताए । मर्जरपछि बैंकले ग्रामीण तथा आधुनिक बैकिङलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको थापाले बताए । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सलर रुपमा कर्जा योजनाको साथै निःशुल्क एटीएम, एबीबीएस, एसएमएस बैकिङ, सन्ध्याकालीन काउन्टर, ३६५ दिने बैंकिङ सेवा, लकर, सुन धितोमा कर्जा र न्यून आए भएकालाई विपन्न वर्ग कर्जा लगायतका सेवा उपलब्ध गराउने भएको अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

Related posts