ताजा खबर

याकका करोड पति ६२ बर्षीय वन बहादुर गुरुङ घान्द्रुकमै रमाउदै

दिननाथ बराल

पोखरा , २०७२  असार २७,

उमेरले डाँडा पारीको घाम बनेका कास्की घान्द्रुक देउरालीका ६२ बर्षीय वनबहादुर गुरुङ अझै पनि फुर्तीला छन । याक पालन तथा होटल समेत संचालन गरेका गुरुङले याकबाट उत्पादन भएको दुधबाट विभिन्न परिकार बनाउन सधै जसो भ्याई नभ्याई हुन्छ ।

याक व्यावसाय एकतर्फको चटारो छ भने अर्र्को तर्फ पाहुनालाई स्वागत गर्न याक होटल एण्ड लज संचालन गर्दै आएका गुरुङले याकबाट उत्पादन भएको दुधबाट चिज र छ्रुर्पी बनाउन दिन भरी ब्यस्त हुन्छन । रोजगारको लागि प्रायः गुरुङ समुदाय युवाहरु लाहुरे बन्ने त कोहि विदेश नै जाने प्रचलनलाई चुनौती दिदै उनले गाँउ घरमै हलो जोत्दै जिबनको आधाजसो उमेर विताए पछि व्यावसायीक याक पालनमा हात हालेका हुन ।

१७ बर्ष देखि याक पालन सुरु गरेका ६२ बर्षीय गुरुङले हाल करीब एक सय वटा याक पालन गर्दै आएका छन । याकबाट दैनिक ६० लिटर दुध उत्पादन हुने भएकोले उत्पादित दुधका परिकार उनले घरमै बसेर बनाउने गरेका छन । उनले उत्पादन गरेको चिज र छुर्पी अन्नपुर्ण पदमार्गमा सहभागि हुने स्वदेशी तथा विदेशी पर्यटकहरुले लिने गरेको उनले बताए । उनले भने “म आफ्नै गाँउमा रमाएको छु, यहाँ कति रमाईलो छ, मेरो गाँउमा विश्वका नागरीहरु आउने गर्दछन, उनीहरुलाई मैले उत्पादन गरेको चिज र छुर्पी विक्रि गर्न पाउदा झनै खुसि लागेको छ । ” याकको रेखदेख गर्ने भेडिगोठमा रहेका ७ जनालाई अधिकतम १२ हजारसम्म मासिक रुपमा तलव दिएर उनीहरुलाई आफ्नै गाँउमा रोजगार दिन पाएकोमा आफुलाई खुसि लागेको उनले बताए । होटल तथा लज समेत संचालन गरे पनि मौसममा पर्यटकहरु ह्वात्तै भए पनि आफ्नो दिगो रुपमा आर्थिक पक्ष भने याक पालन व्यावसाय नै भएको उनले बताए । प्रति याक विक्रि गरेको खण्डमा ८० देखि एक लाख रुपैयासम्म पर्ने उनले बताए । याक नासो उमेरका हुदा उनीहरुमा निमोनिया रोगले सताउने गरे पनि आफुले पालन गरेका याकमा अन्य समस्या खासै नरहेको बताएका गुरुङले मनाङ, मुस्ताङ, कास्की लगायतका क्षेत्रमा अन्य व्यावसायीहरुले पालना गरेको याक भन्दा आफुले पालन गरेको याकबाट धेरै मुनाफा आम्दानी गर्न सफल भएको दाबी गरे ।

उनले भने “मैले याक पालनबाट मात्र बार्षिक रुपमा खर्च घटाएर कम्तिमा १० लाख आम्दानी गरेको छु ।” उनले हाल करीब एक करोड मुल्य बराबरको याक पालन गर्दै आएका छन । प्रति केजी चिजको मुल्य ८ सय र प्रति केजी छुर्पीको ४ सय रुपैया रहेको उनले जनाए ।

याक पालन सुरु गरेसंगै उनले याकबाट उत्पादन भएको दुधलाई सदुपयोग गर्न विभिन्न परिकार बनाउने तालिम तथा मेसिनको खोजिमा पोखरा लगायतका क्षेत्रमा नपाएर गुरुङ काठमाण्डौ पुगे पछि मात्र उनले चिज र छुर्पी बनाउने तालिम प्राप्त गरेका हुन । याकको दुध दुहुने मेसिनको खोजि गरेका उनले हालसम्म नभेटाएको गुनासो गरेका छन । उनले भने “उमेरले ६२ बर्ष भए पनि मैले थाहा पाएदेखि टाउको दुखेर हालसम्म एउटा पनि ट्यापलेट खाएको छैन, बजारको चामल पनि खान्न घान्द्रुकमै उत्पादन भएको चामल खाने गरेको छु ।”

Related posts