काठमाडौं, २०७२ असार २७,
प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक,त्रिदेशी समझदारी र संविधान निर्माणका बारेमा भारतीय अधिकारीसँग छलफल गर्ने भएका छन ।
सो पार्टीका प्रवक्ता दिनानाथ शर्माले भारत र चीनले लिपुलेकका बारेमा गरेको सम्झौतामा नेपाललाई साक्षी नराखेकोमा आपत्ति जनाउदै आफनो पार्टीका अध्यक्ष दाहालले मंगलवारदेखि गर्ने भारत भ्रमणमा लिपुलेक नेपाली भूमि रहेको अडान राख्ने बताएका हुन ।
‘दुई पक्षीय सम्झौता गर्दा नेपाललाई साक्षी राख्नु पथ्र्यो । बलमिचाई गरियो’प्रवक्ता शर्माले पार्टी कार्यालय पेरिसडाँडामा शनिवार पत्रकारहरुसँग कुरा गर्दै भने ‘त्रिदेशीय समझदारीलाई मुर्त रुप दिन हामी प्रयास गर्छौ ।’
भारत,चीन र नेपालका वीचमा त्रिदेशीय समझदारी हुनु पर्नेमा अध्यक्ष दाहालले जोड दिदै आएको पनि प्रवक्ता शर्माले स्मरण गराए । ‘भारत र चीनका वीचमा सम्बन्ध राम्रो हुनु हाम्रो लागि पनि खुसीको बिषय हो’शर्माले भने‘लिपुलेकका बारेमा भारत र चीन भएको सम्झौतालाई दुवै मुलुकले पुनर्विचार गर्नुपर्छ ।’
प्रवक्ता शर्माले चार राजनीतिक दलका वीचमा भएको १६ बुदे सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै भारत सरकारले यो प्रक्रियालाई सहयोग र समर्थन गर्ने बिश्वास व्यक्त गरे ।
सन १९६२ मा तत्कालीन राजा महेन्द्रले कालापानीका पाँच ठाउँमा भारतीय सेनाका लागि अस्थायी शिविर राख्न दिएको भएपनि अहिलेसम्म भारतीय सेना त्यहाँबाट नहटेको प्रवक्ता शर्माले बताए ।
उनले भने ‘लिपुलेक र कालापानी नेपाली भूमि हो । कालापानीमा भारतीय सेनाले कब्जा जमाएर बस्नु नेपाली सार्वभौमिकता माथिको हस्तक्षेप हो ।’
स्रोत : अन्नपुर्णपोस्ट