ताजा खबर

सेरेनालाई छैटौँ विम्बल्डन उपाधि 

एजेन्सी लन्डन, २०७२  असार २७,

शीर्ष बरियताकी सेरेना विलियम्सले शनिबार छैटौँपटक विम्बल्डन ग्रान्डस्लाम उपाधि जितेकी छिन् । सेन्टरकोर्टमा सेरेनाले पहिलोपटक ग्रान्डस्लाम फाइनल खेलिरहेकी स्पेनिस खेलाडी गर्बिन मुगुरुजालाई ६–४ र ६–४ को सोझो सेटमा हराइन् । सेरेनाले दोस्रोपटक लगातार चार ग्रान्डस्लाम जित्ने रेकर्ड पनि बनाएकी छिन् । सन् २००३ को सत्रमा उनले अस्ट्रेलियन, फ्रेन्च, विम्बल्डन र युएस ओपन जितेकी थिइन् । यसपटक सेरेनाले क्रमश: युएस ओपन, अस्ट्रेलियन, फ्रेन्च र विम्बल्डन ग्रान्डस्लामाथि कब्जा जमाइन् । अर्को महिना वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता सुरु हुनेछ ।

युएस ओपन पनि जिते सेरेना टेनिस क्यालेन्डरको चारै ग्रान्डस्लाम जित्ने पहिलो महिला टेनिस खेलाडी बन्नेछिन् । विम्बल्डनको सफलतासँगै टेनिस विश्लेषकले ‘सेरेना स्लाम’ भनेका छन् । करिअरकै २१औँ ग्रान्डस्लाम उपाधि जित्न सेरेनाले १ घन्टा २३ मिनेट समय खर्चिन् । २१ वर्षीया मुगुरुजाले पहिलो सेटमा उत्कृष्ट सुरुवात गर्दै ४–२ को अग्रता लिएकी थिइन् । तर, अनुभवी खेलाडी सेरेनाले उत्कृष्ट पुनरागमन गर्दै ५–४ को अग्रता हासिल गरिन् । दोस्रो सेटमा सेरेना ५–१ को बलियो स्थितिमा थिइन् । मुगुरुजाले सेरेनालाई ५–४ को स्थितिसम्म पुर्‍याइन् ।

दोस्रो सेटको दशौँ गेममा मुगुरुजाले लगातार गल्ती गरेपछि सेरेनाले आफ्नो छैटौँ विम्बल्डन उपाधि पक्का पारिन् । सेरेनाले मुगुरुजाविरुद्धको फाइनल कठिन भएको प्रक्रिया दिएकी छिन् । ‘यसअघि मलाई फाइनलको दबाब थिएन, तर मुगुरुजाविरुद्धको खेल तनावमा खेलेँ,’ उपाधि जितेपछि सेरेनाले भनिन्, ‘मैले प्रत्येक अंक जित्न धेरै मिहिनेत गरेकी थिएँ ।’ स्पेनिस खेलाडी मुगुरुजाले फाइनललाई रोमाञ्चक बनाएको सेरेनाले बताएकी छिन् । ‘सबैले फाइनल एकपक्षीय हुने बताएका थिए, तर मुगुरुजाले सबैका अनुमान गलत ठहर्‍याएकी छिन्,’ सेरेनाले भनिन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *