ताजा खबर

वर्षाले खेल अवरुद्ध  

काठमाडौ,  २०७२ असार २७,

विश्व ट्वान्टी २० छनोटमा शनिबार नेपाल र नामिबियाबीचको खेल वर्षाले रद्द भएको छ। पटक–पटक वर्षाले खेल बिथोलेपछि खेल नतिजाविहीन भएको थियो। दुवै टिमलाई १–१ अंक प्रदान गरिएको छ।

प्रतियोगिताको तीन संस्करण खेल्दै गरेको नेपाल पहिलोपटक वर्षाका अगाडि नतिजाविहीन हुनुपरेको हो। नेपालले यसअघि २० खेलमा १२ जित र ८ हारको नतिजा निकालेको थियो।

समूह ‘ए’ मा नेपाल ३ अंकसहित शीर्षस्थानमा उक्लेको छ। जर्सी र आयरल्यान्ड दुवै आफ्नो पहिलो खेल जितेर क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। नेपालले अघिल्लो दिन अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। नामिबिया शुक्रबार आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। नेपालले सोमबार आयोजक आयरल्यान्डसँग खेल्नेछ।

उत्तरी आयरल्यान्डस्थित स्टोरमोन्टमा तीनपटक खेल वर्षाले अवरुद्ध पारेको थियो। नेपालका कप्तान पारस खड्काले टस जितेर पनि वर्षाका कारण १ घन्टा खेल हुन सकेन। त्यसपछि पनि २० ओभर यथावत् राखिएको खेलमा नामिबियाले निकै राम्रो सुरुआत गर्‍यो। ७ ओभरमा टिमले १ विकेट गुमाई ५४ रन जोड्यो।

वर्षाले दोस्रोपटक खेल अवरुद्ध पार्‍यो। खेल १७ ओभरमा छोट्याइयो। खेल पुन: सुरु हुँदा नामिबियाले शक्ति गौचनको ४ बलमा ७ रन जोड्यो। वर्षाले तेस्रोपटक प्रभावित पारेपछि खेल रद्द हुन पुग्यो। नामिबियाका ओपनर स्टेफन बार्डले २६ बल खेली ४ चौका र २ छक्का प्रहार गरी नटआउट ३९ रन बनाए। अर्का ओपनर गेरी स्निम्यानलाई पारसले आउट गरे। रेमन्ड भान सुरु ८ बलमा ११ रन बनाई नटआउट रहे।

नेपालले शनिबार ओपनिङ बलर करण केसीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको थियो। १ ओभर बलिङ गरेका उनले ९ रन खर्चे। अघिल्लो दिन ३ विकेट लिएका वसन्तले २ ओभरमा २० रन खर्चे। पारसले २ ओभरमा ८ रनमात्र दिएर नेपालको एकमात्र सफलता हात पारेका थिए।

जर्सीको सनसनी

पहिलोपटक विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरिरहेको जर्सीले शनिबार सनसनीपूर्ण प्रदर्शन गर्दै हङकङलाई ९ विकेटले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनायो। जर्सीले ओपनरद्वय इडवार्ड फार्लीको ५७ र पिटर गफको नटआउट ८१ रनमा १७.२ ओभरमै लक्ष्य पूरा गर्‍यो।

समूह ‘बी’ मा नेदरल्यान्ड्सले सहआयोजक स्कटल्यान्डलाई ३२ रनले पराजित गर्‍यो। ओमानमाथि ७ रनको जित हात पार्दै केन्याले लगातार दोस्रो खेल जित्यो।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *