ताजा खबर

लमजुङमा ४५ प्रतिशत रोपाई सकियो, प्राविधिक भन्छन्, ‘कृषिमा प्रविधिको प्रयोग गर’ 

लमजुङ, २०७२  असार २७,

पहाडी जिल्ला लमजुङमा हालसम्म ४५ प्रतिशत रोपाई सकिएको छ । सिंचाईको मात्र सुविधा भएको अधिकांश खेतमा धान रोपाई भएको हो । सिँचाई सुविधा नपुगेका ठाउँहरुमा पनि अहिले धमाधम रोपाई भइरहेको छ ।

जिल्लामा ४५ हजार बढी जमिन खेतिका लागि उपयुक्त भएपनि अहिलेसम्म जम्मा ५ हजार हेक्टर जमिनमा मात्र सिँचाईको सुविधा पुगेको छ । जिल्लामा यसवर्ष १६ हजार बढी जमिनमा धान रोपिदै छ । सिंचाईको सुविधा नपुगेको क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्दा रोपाई र उत्पादनमा समेत असर परेको कृषि प्राविधिकहरुको भनाई छ ।

सिंचाईका लागि सिंचाई डिभिजन कार्यालय, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय लगायतका सरकारी निकाय र केही गैरसरकारी निकायले समेत वार्षिक करोडौं रुपैयाँ खर्च गर्ने गरेपनि उपलब्धी भने नदेखिएको अगुवा कृषकहरु बताउँछन् । कार्यालयका कर्मचारी र ठेकेदार तथा उपभोक्ता समितिको मिलेमतो हुँदा नहर, कुलो लगायत निर्माण गुणस्तरिय नहुने र बर्खामा भत्किने गरेको किसानहरुले बताएका छन् ।

यसैबीच, खेतिपातीमा प्रविधिको प्रयोग गर्न कृषि प्राविधिकहरुले सुझाव दिएका छन् । परम्परागत प्रणाालीमा समय र पैसा धेरै खर्च हुने भएकाले छिटो छरितो र सस्तोमा काम गर्न प्रविधिको प्रयोगमा जोड दिइएको हो । हालसम्म जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाभर १५ वटा पावर टेलर वितरण गरेको छ । पावर टेलरबाट खेत जोत्ने, सामान ओसार्ने लगायतका काम गर्न सकिन्छ । ५० हजारदेखि एक लाखसम्म पर्ने पावर टेलर खरिद गर्न चाहने किसानलाई आधा मूल्य सरकारले बेहोर्ने बरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले बताए ।

जिल्लाका किसानलाई अहिले खेत जोत्ने पावर टेलर, मकै छोडाउने मेसिन, धान झाँट्ने मेसिन लगायतका प्रविधि वितरण भइरहेको छ । किसानले व्यक्तिगत वा समुहमा मिलेर यस्ता प्रविधि प्रयोग गर्न सक्ने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीको भनाई छ ।

स्रोत :कारोबार

Related posts