थलाहा (मोरङ), २०७२ असार २७,
वर्षायाममा वरिपरि खेत बाँझै देखिन्छन्। केही दिनअघि रोपिएका धान बाली पहेंलिएको छ। खेत फाट्न थालेका छन्। पम्पिङ सेटले नहरको पानी तानेर जसोतसो रोपाइँ गरिँदैछ। वर्षा नहुँदा किसान निराश देखिन्छन्।
सदरमुकाम विराटनगरदेखि १३ किमि पूर्वउत्तरको थलाहा गाविसमा शनिबार बिहान यस्तै दृश्यहरू देखिए। सदरमुकाम नजिकै भए पनि पक्की सडक अभावले यहाँको अवस्था कुनै दुर्गम गाउँभन्दा कम छैन।
‘मोरङको दक्षिण भेकको मध्य भागमा अहिलेसम्म मनसुनले गति समाएको देखिन्न,’ स्थानीय कृषक ज्ञानु भट्टराईले भने। उनको थलाहा ७ हुरहुरिया टोलमा ४ बिघा जग्गा छ। वर्षा नहुँदा पम्पिङ सेटको सहयोगले उनले अढाइ बिघामा मात्र रोपाइँ गर्न सकेका छन्। बाँकी डेढ बिघाका लागि उनी आकाशतिर हेरिरहेका छन्।
‘असारकै सुरुमै बीउ रोप्न लायक भइसकेको थियो, वर्षाको पर्खाइमा बीउ रातो हुन र छिप्पिन थाल्यो,’ उनले भने। भट्टराईले रोपाइँको मुख्य दिन मानिने असार १५ देखि केही दिनसम्म आकाशकै भर परे। आस हराएपछि २२ असारमा पम्पिङ सेट लगाएर अढाइ बिघामा रोपाइँ गरे। ‘तर, पानी अभावले चार दिनपछि बेर्ना पहेंलो भयो र खेत फुट्न थाल्यो,’ उनले सबैतिर देखाउँदै भने।
उनको अनुसार ढिलो गरी भए पनि पानी परिदिएमा फाइदा पुग्छ। ‘परेन भने एक बिघामा ८० मन धान उत्पादन हुने ठाउँमा २५/३० मन हुन्छ,’ भट्टराईले भने। सिँचाइको सुविधा अभाव र नहरबाट लगेर पानी पटाउन अनुकूल नभएकाले उनको डेढ विघा खेत रित्तै छ। उनले भने,‘मनसुनले लय समाएन भने यी खेतहरू बाँझो रहन्छ।’
सरकारले रासायनिक मल, सिँचाइ र कृषि ऋण तथा अनुदान उपलब्ध गराए पनि त्यो वास्तविक किसानसम्म पुग्न नसकेको उनले पीडा पोखे। सबैथोक अनुकूल रहेमा भट्टराईले ५ बिघामा खेती गरेर ३ सयदेखि ३ सय ५० मन धान उब्जाउँछन्। पानी पटाउने, जोत्ने, रोप्ने र मल हाल्ने खर्च त्यही उत्पादन बिक्री गरेर निकाल्छन्।
‘सय मनले वर्ष दिन खर्च, सय मनले अर्को वर्षलाई लागत खर्च र अरू सबै बचत हुन्छ,’ भट्टराईले भने, ‘अढाइ बिघामा मात्रै खेती भयो भने त खर्चको समीकरण बिग्रन्छ, मनसुन भएन भने त लागत उठ्न पनि धौधौ पर्छ।’
नजिकैको ५ बिघामा खेती गरिरहेका बाबुनन्द सरदार पनि खिन्न भेटिए। उनी बर्सेनि साहुबाट ऋण लिएर खेती गर्छन् र उत्पादन बेचेर चुकाउँछन्। ‘हजुरबुबाको पालादेखि खेती गर्दै आएको छु, यस्तो अवस्था कमै देखापर्छ,’ उनले भने। पानी पर्ने आसमा १० असारदेखि उनले खेतीजन्य कार्य सुरु गरे। उनले पनि पम्पिङ सेटबाट पानी तानेर ४ बिघा खेत जोतिसकेका छन्। ‘पानी नपरे खेती हुन्न, त्यसपछि ऋण तिर्नलाई अर्को वर्ष कुर्नुपर्छ,’ उनले निराश हुँदै भने।
चार बिघा जग्गा अँधिया र ठेक्कामा लिएर खेती गर्दै आएका थलाहा ८ मन्त्रीटोलका किसान तुलसी राजवंशी अलमलमा परेका भेटिए। ‘पोहोर पनि वर्षामा समस्या देखा परेको थियो, तर यतिसाह्रो भने होइन,’ उनले भने। कृषिजन्य उत्पादनबाटै उनले परिवारका ५ सदस्यको जीविका चलाइरहेका छन्। उक्त गाविस भएर बगेको नहर फुटेपछि बेलामा मर्मत नहुँदा पानीको बहाव कम भएर खेती गर्न कठिन भएको राजवंशीले जानकारी दिए।
उनले दुई बिघा ठेक्कामा र दुई बिघा अँधियामा जग्गा लिएका छन्। ठेक्कामा उनले प्रतिबिघा २५ मन उब्जनी साहुलाई बुझाउनै पर्छ। अँधियामा पानी र मलमा दुवै पक्षले बराबर लगानी गरे पनि जोताइ, रोपाइँ र कटाइ खर्चलगायत राजवंशीले बेहोर्नुपर्छ। परिस्थिति प्रतिकूल भएमा जताबाट पनि उनलाई नै बढी मर्का पर्छ। ‘सम्पूर्ण खर्च काटेर सय मन धान बच्छ,’ उनले भने, ‘यसपालि ठेगान छैन।’ उनका अनुसार पानी परेन भने रोपेको बाली पनि मर्न सक्छ।
उनले पम्पिङ सेटवालालाई घण्टाको दुई सय रुपैयाँ तिरेर खेतमा पानी पटाइरहेका छन्। प्रतिबिघामा पानीकै लागि राजवंशीले झन्डै ४ हजार रुपैयाँ खर्चिरहेका छन्। ‘बेलैमा पानी परेको भए यो अतिरिक्त खर्च बच्थ्यो,’ उनले भने। रोपेको बाली बचाउनलाई पनि खेतमा पानी पटाउँदा पुन: थोरैमा पनि प्रतिबिघा २ हजारदेखि २ हजार ५ सय रुपैयाँ थप खर्च हुने उनले जनाए। तस्बिर खिच्दै गर्दा एक स्थानीय कृषकले पत्रकार, नेता र सरकारी कर्मचारी जो आए पनि यहाँको अवस्था कहिल्यै नसुध्रने भन्दै रिस पोखे। ‘नाम किन चाहियो? तस्बिर किन र केका लागि खिच्नुहुन्छ? यहाँ केही हुनेवाला छैन,’ उनले भने।
स्रोत : कान्तिपुर