ताजा खबर

भागिरथको मासिक कमाई ५० हजार 

नेपालगन्ज, २०७२  असार २६,

चार वर्ष अघि सम्म अरुकै घरमा ज्याला मजदुरी गर्ने बाँके बनकटुवा २ पेडारीका कृषक भागिरथ थारु अहिले मासिक ५० हजार रुपैयाँ कमाइरहेका छन् । व्यवसायीक तरकारी खेती गरेर उनी अहिले एक सफल कृषकका रुपमा स्थापित भएका छन् ।

व्यवसायीक तरकारी खेतीकै मासिक ५० हजारको आम्दानीले गर्दा नै उनले बचत सँगै यसैबाट घरका नौ जना परिवार मध्ये ३ जनाको जीवन विमा समेत गराएका छन् ।

व्यवसायीक तरकारी खेती बाटै उनलार्ई घर खर्च चलाउनेदेखि लिएर छोराछोरी पढाउने बचत गर्न समेत पुगेको छ । ज्याला मजदुरीको एक महिनाको कमाई भन्दा व्यवसायीक तरकारी खेतिको दुई दिनको कमाईले जितेको थारु बताउँछन् । तरकारीको अभावमा नुन र खुर्सानीसँग साँझ विहानको छाक टार्ने भागिरथ व्यवसायीक तरकारी खेती गरेर वर्र्षैेभरी ताजा तरकारी खान पाएको र साथै राम्रो आम्दानी समेत भएकोमा हाल आएर दङ्ग छन् ।

तरकारी खेती गरेको पहिलो वर्ष उनले १ लाख ७४ हजार रुपैयाँ हालेर एउटा मोटरसाइकल समेत किनेका छन् । त्यस्तै दोस्रो वर्ष पनि कृषक भागिरथले २ लाख ५० हजारमा तरकारी बेचेरै घर नजिकैको जग्गा किनेर अहिले त्यो जग्गामा पनि तरकारी लगाउने गरेको बताए । गत वर्ष मात्रै उनले २ लाख ५० हजार जति लगानी गरेर आधुनिक घर निर्माण गर्न जग हालेका छन् । यो वर्षको आम्दानीले अधुरो घरलाई पुरा गर्ने योजना सहित तरकारी खेति गरेको थारुको भनाई छ । तरकारी खेती गर्दै जादा जिल्ला कृषि विकास कार्यालयले पनि भागिरथलाई बिभिन्न सहयोग गर्दै आएको छ ।

तीन कट्ठा क्षेत्रफलबाट तरकारी खेती सुरु गरेका थारुले विस्तारै खेती बढाउदै लगेका छन् । अहिले १ विगाहामा तरकारी खेती गर्ने गरेको थारुले जनाए । अहिले उनको खेतबारीमा लौका, करेला, बोडी, भिण्डी, खुर्सानी, भान्टा, अनार आदि प्रशस्त मात्रामा फलेको देख्न पाइन्छ ।

थारुले फलाएका तरकारी बेच्न हप्तामा ५ दिन उनी कोहलपुर, हवलदारपुरका हाटबजारमा जाने गरेका छन् । उनले दिनको ५ हजार रुपैयाँ जतिको तरकारी बिक्री गर्ने गरेका छन् ।

यसपटक युवा लक्षित कार्यक्रम अन्तरर्गत थारुले पहिलो किस्ता स्वरुपको रकम लगेर भनेजस्तै तरकारी फलाएर देखाएको कृषि विकास कार्यालय बाँकेले जनाएको छ । अब उनले दोस्रो किस्ता पनि पाउने बेला भएको छ । सफल कृषक थारुले आफ्नो बारीमा उन्नत जात र हाइव्रिड जातका तरकारी लगाउदै आएको जनाएका छन् ।

स्रोत : कारोबार

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *