ताजा खबर

ग्रिसबारे फैसला आज 

ब्रसेल्स, २०७२ असार २७,

युरोजोनका वित्त मन्त्रीहरूले शनिबार ब्रसेल्समा ग्रिसले राखेका नयाँ प्रस्तावमाथि छलफल गरेका छन् । उनीहरूको निष्कर्षबारे आइतबार ब्रसेल्समा हुने युरोजोनका सदस्य राष्ट्रहरूको सम्मेलनमा थप छलफल हुनेछ । यही सम्मेलनले ग्रिस अब युरोजोनमा रहने–नरहने निक्र्योल गर्नेछ । ग्रिसले राखेको नयाँ प्रस्तावमा अघिल्लो आइतबार जनमतसंग्रहमा अस्वीकार गरिएका प्रस्तावलाई नै प्राथमिकता दिएको अनुमान छ । ग्रिसका ऋणदाता युरोपियन कमिसन, युरोपियन सेन्टल बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युरोजोनका मन्त्रीहरूलाई ग्रिसको प्रस्तावलाई स्वीकार गर्न सकिने आसयको पत्र पठाएका छन् । ‘ग्रिसका अहिलेका प्रस्ताव स्वीकार गर्न सकिनेछन्,’ एक युरोपेली युनियनका अधिकारीले बिबिसीलाई भनेका छन्, ‘सम्झौताका लागि आधार तयार पार्न यी प्रस्तावहरू काम लाग्न सक्छन् ।’ त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि ग्रिसले पेन्सनमा कटौती गर्ने, खर्च कटौती गर्ने, कर प्रणाली सुधार गर्ने प्रस्ताव गरेकाले सम्झौता हुन सक्ने बताएका छन् । फ्रान्सलगायत केही देशले ग्रिसलाई सहयोग गर्ने वाचा गरिसकेका छन् । यस अर्थमा ग्रिस तत्काल युरोजोनबाट बाहिरिने सम्भावना अत्यन्तै कम छ ।

स्रोत  :  नया पत्रिका

Related posts