दिननाथ बराल
पोखरा, २०७२ असार २६,
लक्ष्मी गु्रप अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखराको विन्द्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई एक थान एम्बुलेन्स सहयोग हस्तान्तरण गरेको छ । ३० लाख मूल्य बराबरको हुण्डाई एच वान एम्बुलेन्स एक समारोहका विच शनिबार लक्ष्मी ग्रुपको तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठले समितिका संयोजक तिर्थ श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।
नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निभाउँदै आएको लक्ष्मी गु्रपले आफ्नो कर्पोरेट दिवस प्रत्येक वर्षको पौष ५ गते मनाउँदै आएको छ । गतपौष ५ गते सम्पन्न भएको कर्पोरेट दिवसमा प्रालिले उद्घोष गरेको उक्त सहयोग शनिबार हस्तान्तरण गरेको हो । एम्बुलेन्सको आवश्यकीय मर्मत सम्भारको लागि वार्षिक ५० हजार बराबरको लक्ष्मीगु्रप अन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नै व्यहोर्ने सम्झौता भएको संयोजक श्रेष्ठले बताए । साउन एक गते देखि उक्त एम्बुलेन्स सेवा संचालनमा ल्याउने भएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए । सुविधा सम्पन्न उक्त एम्बुलेन्स सेवा ग्रामिण क्षेत्रमा समेत जान सक्ने भएको प्रालि पोखराका ईन्चार्ज भिम खत्रीले
बताए ।
संचार माध्यम प्रति मन्त्री शेर्पा असन्तुष्ट
पोखरा, २६, असार
नागरीक उड्डयन तथा पर्यटन मन्त्री कृपाशुर शेर्पा संचार माध्यम प्रति असन्तुष्टी प्रकट गरेका छन । वैषाख १२ गतेको विनासकारी भुकम्प पश्चात मिडियाले नकरात्मक समाचारलाई बढी प्रथामिकता दिएको भन्दै उनले संचार माध्यम प्रति असन्तृष्टि प्रकट गरेका हुन । विन्दावासिनी धार्मीक क्षेत्र विकास समिति पोखराको चौथो अधिवेसनको उद्घाटन गर्दै मन्त्री शेर्पाले भुकम्पका कारण नेपाली पर्यटन क्षेत्रमा अत्यन्तै न्युन प्रभाव परेको भएपनि विभत्स र नकारात्मक कुराहरुको बढि प्रचार गरिदा आफु संचार माध्यम प्रति असन्तुट भएको गुनासो
गरेका हुन । उनले भने “हाम्रा धेरै पर्यटकीय स्थलहरु जस्ताकै तस्तै अबस्थामा हुदा हुदै नकरात्मक प्रचार भएकोले पर्यटन क्षेत्रमा हाल ठुलो समस्या आएको हो ।” क्षेति पुगेका धार्मिक तथा सांस्कृतिक धरोहरहरुको निर्माण गर्दा नेपाली मौलिकतामा कै प्रकारको कन्जुस्याई नगरिने उनले दाबी गरे । साथै विश्व पर्यटन बजारमा नेपाल सुरक्षित रहेको सन्देस प्रवाह गर्नुपर्नेमा जोेड दिदै उनले सकारात्मक भुमिका निर्वाह गर्न सवैलाई आग्रह गरे ।
नेपालको पर्यटन क्षेत्रलाई उकास्न सरकार लागि परेको मन्त्री शेर्पाले बताए । साथै उनले समृद्ध मुलुक निर्माणका लागी नयाँ संविधान निर्माणको अन्तिम प्रक्रिया चलिरहेको बताउदै सवै नेपालीका अधिकार सुरक्षित हुनेमा विस्वस्त हुन आग्रह गरे । समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार बाबुराम आचार्य, सभासद रविन्द्र अधिकारी, सिता गिरी र सारदा पौडेल, स्वामि डाक्टर रमानन्द गिरी महाराज लगायतले वोलेका थिए ।