ताजा खबर

तीन फुटबलर भुटान जाँदै 

काठमाडौ,  २०७२ असार २६,

सुजल श्रेष्ठ, रूपेश केसी र सुरेन्द्र थापाले भुटानको राष्ट्रिय लिग खेल्ने भएका छन्। फुन्चोलिङको ‘सीएफसी भुटान’ मा आबद्ध भएका उनीहरू शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

सीएफसी भुटानले पूर्वी नेपालमा प्रतियोगिता खेल्न आएका बेला उनीहरूलाई अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो। दुई साताको प्रयासमार्फत ‘इन्टरनेसनल ट्रान्सफर सर्टिफिकेट’ प्राप्त गरेपछि उनीहरूले फिफा वरीयतामा नेपालभन्दा १९ स्थानमाथि रहेको भुटानको लिग खेल्ने निश्चित भएको थियो। नेपाली फुटबलरले भुटानको राष्ट्रिय लिग पहिलोपल्ट खेल्न लागेका हुन्।

१२ वैशाखको महाभूकम्पपछि नेपालको राष्ट्रिय लिग रोकिएको छ र बाँकी ४० खेल भदौ १८ देखि मात्र सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाइसकेको छ। यसबीच मनाङ–मस्र्याङ्दीमा रहेका सुजल र रूपेश तथा मोरङ फुटबल क्लबमा आबद्ध सुरेन्द्रले मोफसलका टिमबाट विभिन्न प्रतियोगिता खेलेका थिए। ‘हाम्रो राष्ट्रिय लिग फेरि सञ्चालन हुँदा पुरानै क्लबमा फर्कने सर्तसहित फुर्सदको समय उपयोग गर्नका लागि भुटान खेल्न जान लागिएको हो,’ सुजलले भने। लेफ्ट विंगर सुजलले अगाडि बढ्दै सीएसीबाट फरवार्डको भूमिकामा खेल्नेछन्। उनी २०६६–६७ मा संकटाबाट खेलेपछि निरन्तर मनाङमा रहेका थिए। मछिन्द्र र हिमालयन शेर्पाका पूर्वमिडफिल्डर रूपेश मैदानको मध्यभागमै खेल्नेछन्। सुरेन्द्र हिमालयन शेर्पाबाट खेलिसकेका राइट–ब्याक हुन्। उनीहरूले पहिलो खेल बुधबार खेल्नेछन्। भुटानको राष्ट्रिय लिगमा ६ क्लबले होम एन्ड अवेका आधारमा दुई महिना प्रतिस्पर्धा गर्नेछन्।

स्रोत : कान्तिपुर

Related posts