ताजा खबर

“स्वामी” को असामान्य शक्ति 

काठमाडौ,  २०७२ असार २६,

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले हरेक वर्ष एक व्यक्तिका संस्थाको आर्थिक अनियमिततालाई कडा रूपमा उठाउँछ। अर्को वर्ष सुध्रिँदैन, त्यही गैरकानुनी तरिका दोहोरिरहन्छ। त्यसलाई रोक्न सरकारी वा संसदीय वा संवैधानिक कुनै निकाय अग्रसर हुँदैनन्। त्यसको कारण हो– अनियमितता त्यस्ता व्यक्तिले गर्छन्, जसलाई शक्तिकेन्द्रहरू नै पूजा गर्छन्।

आफूलाई मुक्तिनाथ पीठाधीश्वर भन्ने ‘स्वामी’ कमलनयनाचार्यका अनेक नामका संस्थालाई धेरै मन्त्रालयबाट हरेक वर्ष बेहिसाब बजेट जान्छ। काम नियम पुर्‍याएर कहिल्यै हुँदैन। तर न कसैले ‘नियम पुगेन’ भन्न सक्छ, न नदिएरै टार्न सक्छ।

‘पञ्चमहालक्ष्मी च्यारिटेबल ट्रस्ट छालिङ–९, भक्तपुरमा गडगडे खोला नदी नियन्त्रणको संशोधित कार्यक्रममा रिटेनिङ वाल, पहिरो नियन्त्रण र चेक ड्याम तथा फुट ब्रिज निर्माण गर्न ३ करोड ५० लाख रुपैयाँको बजेट स्वीकृत भएको देखिन्छ’, महालेखाको ताजा प्रतिवेदनमा भनिएको छ ।

‘गत वर्ष पनि ३ करोड रुपैयाँ बराबरको कार्य सोही स्थानमा भएकामा गत वर्ष भएको खर्च तथा प्रगतिलाई यो वर्षको कार्यक्रममा उल्लेख गरेको पाइएन,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘साथै यो वर्ष ३ करोड ३२ लाख ५० हजार रुपैयाँको कार्य गराइएकामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) अनुसार प्रतिस्पर्धाद्वारा गर्नुपर्नेमा ७ उपभोक्ता समितिमार्फत ६० लाख रुपैयाँ ननाघ्ने गरी टुक्य्राई कार्य गराइएको पाइयो।’

कमलनयनाचार्यको ट्रस्टले टेन्डर प्रक्रियाबाट जोगाउन बजेट टुक्य्राएको थियो। ६० लाख रुपैयाँसम्मको काम उपभोक्ता समितिमार्फत गराउन पाउने व्यवस्था छ। तर, त्यसरी टुक्य्राउन ऐनले रोकेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा भनिएको छ, ‘यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमबमोजिम खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्नु हुँदैन।’

अघिल्लो वर्ष पनि त्यसरी नै सातवटा अस्थायी उपभोक्ता समिति बनाइएको थियो। ट्रस्ट कोषाध्यक्ष शाम्ब न्यौपानेले स्वयं पनि ‘मिलाउन टुक्य्राएको’ पुष्टि गरे। यतिबेला पर्यटन मन्त्रालयबाट प्राप्त एक करोड रुपैयाँमा दुइटा उपभोक्ता समिति बनाएर कार्य भइरहेको उनले जानकारी दिए। कारणबारे उनले भने, ‘नियमअनुसार उपभोक्ता समितिबाट ६० लाखभन्दा ठूलो काम गराउन पाइँदैन।’

टेन्डरबाट किन नगराएको नि? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो त जिविसलाई सोध्नुपर्छ।’

जब कि जिविसले भने आफूसँग सरोकारै नभएको मन्त्रालयबाट काम आएकामा आपत्ति जनाएको छ। ‘संस्कृति तथा पर्यटन मन्त्रालयबाट कार्यक्रम तोकेरै पैसा पठाउने, कामचाहिँ हामीले गराउनुपर्ने?’ भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले भने, ‘जस्ताको तस्तै पठाइदिन खोजेको थिएँ, त्यो पनि मिलेन।’

उक्त ट्रस्टले धेरैवटा मन्त्रालयबाट ठूलो मात्रामा बजेट ल्याउने गर्छ। कहाँबाट कति रकम आयो, हतपती कसैले थाहा पाउँदैन। तर, पर्यटनले झुक्किएर वा अर्कैलाई जवाफदेही बनाउन जिविसलाई पठाएको छ। ‘नियम मिचेर जबर्जस्ती गर्ने,’ पुरीले थपे, ‘थाप्लामा चाहिँ हाम्रो हालिदिने काम भयो। कार्यक्रम नतोकी पठाएको भए जिल्लाका प्राथमिकता अन्यत्रै पर्न सक्थे। तोकेपछि सीधै गएर आफैं काम गरेको भए हाम्रो टाउको दुखाइ नै हुने थिएन।’

कमलनयनाचार्यको खुबी त्यही हो, उनी सरकारबाट वनदेखि जग्गासम्म उम्काउँछन्। विकास निर्माणमा सरकारी संयन्त्रलाई नै बाध्य पार्छन्। सरकारी बजेट लैजान्छन्। दुनियाँका नजरमा भने उनले ठूलो विकास ल्याइदिएको देखिन्छ।

संसदको सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले ट्रस्टको आर्थिक अनियमितताबारे आफूलाई राम्ररी थाहा नभएको बताए। ‘यस्ता विषयमा छलफलको क्रम सुरु भएको छ,’ उनले भने, ‘अब अध्ययन गरेर कुरा उठाउनेछु।’ जब कि ट्रस्टले कानुनविपरीत राज्यस्रोत खर्च गरिरहेको महालेखाले केही वर्षदेखि उठाउँदै आएको छ।

ठूलाबडा नै झुक्छन्

बागलुङ–८ मा २०२३ मा जन्मेका कमलनयनाचार्यको सानाको नाम मुरलीमोहन थियो। प्रारम्भिक शिक्षा बागलुङको कुडुलेमा रहेको वेद विद्याश्रममा लिएका उनले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत व्याकरण र वेदान्तमा आचार्य गरेको बताउने गरेका छन्। उनी आफूलाई अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्री–श्री महाराज भनाउँछन्। अरूले छोटकरीमा मुक्तिनाथ बाबा भनी सम्बोधन गर्छन्।

कमलनयनाचार्यले चितवन राष्ट्रिय निकुञ्ज मासेर गैरकानुनी रूपमा आश्रम, मन्दिरलगायत संरचना बनाइरहेका छन्। त्यसलाई हटाउन वन कर्मचारीहरूले दबाब दिएका दियै छन्। राजनीतिक नेता र सरकारी अधिकारीहरू नसुनेझैं बसेका छन्। अझ अचम्म, हटाउनु त परै जाओस्, उनले निकुञ्ज मिचेर बनाएको त्रिवेणीधाममा २०७० चैत अन्तिम साता कांग्रेसले महासमिति बैठक गर्‍यो।

उनीकहाँ आफूलाई नास्तिक भन्ने पुष्पकमल दाहाल, केपी ओलीदेखि प्रधानमन्त्री सुशील कोइरालासम्म पुग्ने गर्छन्। उनका खास कार्यक्रममा अचेल प्रधानमन्त्री कोइराला छुटदैनन्। केही नाम चलेका व्यापारी/उद्योगी पनि उनको पछाडि लागेर उद्यम र पहुँच प्रवद्र्धनमा लागेका छन्।

भक्तपुर, छालिङको मन्दिर बनाउन सहयोगार्थ पशुपति वनकालीमा उनले लगाएको ‘नेपाल माता महिमा राष्ट्रिय महायज्ञ’ मा प्रधानमन्त्री कोइराला प्रमुख अतिथि थिए। गत फागुनमा जन्मथलो बागलुङको पञ्चकोटमा निर्माण प्रस्ताव गरेको १ सय ८ फिट अग्लो काँसको करुवा शिलान्यासमा पनि पुगे। पशुपतिमा प्रधानमन्त्रीसँगै एमाओवादी अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल गएका थिए। त्यसमा माटो र पानीको टीका लगाइदिँदै स्वामीले ‘सुध्रिन’ उपदेश दिए। देश हाँकिरहेका नेताहरूले मुन्टो निहुर्‍याएर आशीर्वाद लिए।

उता बागलुङमा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री रामशरण महतलगायत पुगेका थिए। हूलका हूल ‘भीआईपी’ बोक्न आठवटा हेलिकप्टर उडाइएको थियो।

गिरिजाले मात्र भेटेनन्

पछिल्लो समयका ठूला नेतामा कांग्रेसका गिरिजाप्रसाद कोइराला मात्र एक्ला पात्र हुन्, जो उनलाई भेट्न गएनन्। ‘उनले बोलाउन अनेक सूत्र लगाए,’ निकट स्रोत भन्छ, ‘तर कोइरालाले टेरपुच्छर लगाएनन्।’

तर अहिले ‘स्वामी’ ले बोलाएपछि जत्रै ठूला नेता वा अधिकारी किन नहुन्, खुरुक्क पुग्छन्। भेटमा उनी नेतालाई सुध्रिन, देश सुधार्न अर्ती दिन्छन्। संरचना बनाउन कुनै जंगल वा सरकारी जमिन चाहियो भनेर आफैं मुख खोल्दैनन्। ‘यसरी उनले प्रणाली बनाएका छन् कि अर्कैले मागिदिन्छ तर वचन खेर जाँदैन। मागेको कुरा अवश्यै मिल्छ,’ जानकार स्रोत भन्छ।

आफ्नो पुख्र्यौली घरसमेत ट्रस्टको नाममा ल्याएका कमलनयनाचार्य जंगल हडप्न रुचाउँछन्। सुरुमा गतिलो वन छिर्ने, सातातिना संरचना बनाउन थालेर कर्मचारीलाई जिस्क्याउने, निहुँ खोज्नेलाई माथिल्लो शक्ति लगाएर खेदाउने, कब्जा जमाउँदै गएर ठूला संरचना बनाउने, अन्त्यमा ट्रस्टकै नाममा ल्याएरै छाड्ने उनको प्रचलित सूत्र हो।

राष्ट्रिय निकुञ्जहरूबाट जाने सडकमै पस्दा र निस्कँदा सेनाले हरेक व्यक्ति र सवारी साधनको कडा परीक्षण गर्छ। त्यहाँ बिनाअनुमति पस्न पाइँदैन। सर्वसाधारणलाई एउटा हाँगो भाँच्न पनि प्रतिबन्ध छ। तर, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको गरी करिब २५ बिघा (३ सयभन्दा बढी रोपनी) जग्गा कमलनयनाचार्यले कब्जा गरेका छन्। त्यहाँ भव्य आश्रम साथै करोडांैका संरचना बनाएका छन्।

चितवन निकुञ्जका प्रमुख कमलजंग कुँवरका अनुसार २०५० सालदेखि नै त्रिवेणी नजिकको निकुञ्जमा उनले प्रवेश गरेका हुन्। २०५७ तिर उनलाई हटाउन खोज्दा रेन्जर र सेनाका मेजरकै सरुवा भयो। निकुञ्ज प्रशासनले त्यहाँका संरचना हटाउन पटक–पटक मध्यपश्चिम वन निर्देशनालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेको छ। राष्ट्रिय निकुञ्ज विभागसँग सहयोग माग्दै आएको छ। निकुञ्ज क्षेत्रमा भौतिक निर्माण नगर्नु भनेर स्वयं उनलाई पटक–पटक पत्राचार गरेको छ। तर, न उनी हटे, न कसैले हटाउन सक्यो।

बरु फेरि स्वामीकै पहलमा त्रिवेणी गजेन्द्रमोक्षधामबाट निकुञ्ज क्षेत्रको १८ किलोमिटर र मध्यवर्ती क्षेत्रको ४ किलोमिटर जंगल मासेर दुम्किबास हुँदै रहबास–पाल्पाबाट मुक्तिनाथ जोड्ने गरी बाटो निर्माण अघि बढेको छ।

संरचना निर्माण गरिएको जग्गा निकुञ्जअन्तर्गत त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिको हो। त्यसमा उनले सरकारी रकम खर्चेर पर्खालले घेरी भब्य मन्दिर बनाएका छन्। पर्खालभित्र कुटी, मुक्तिनाथ मन्दिर, विद्यापीठ, व्यापारी अजय सुमार्गीले निर्माण गरिदिएको भव्य महल (अतिथि सदन) छन्। त्यहाँ अति आकर्षक सिसमहलसमेत छ। त्यो हेर्न बर्सेनि ६० हजारभन्दा बढी भारतीय र नेपाली आउने गर्छन्। ट्रस्टले स्कुलका नाममा प्रतिव्यक्ति १५ रुपैयाँ प्रवेश शुल्क लिन्छ।

‘हामीले रूखका हाँगा काट्न पाउँदैनांै, सेनाले समाउँछ,’ पाल्पाबाट २०२७ सालमा बसाइँ सरेर उक्त क्षेत्रमा आएका ७४ वर्षीय चन्द्रसिंह मगरले भने, ‘तर आश्रमका त्यत्रा रूख काटिए। सेना र पुलिसले समातेनन्।’ उनी र आसपासका ९० मगर परिवारले वर्षौंदेखि कमाउँदै आएका केही कटठा जग्गाको पुर्जा पाएका छैनन्। ‘बाबालाई भने मनपरी संरचना निर्माण गर्न छुट छ। जंगलमा महल खडा हुँदैछ,’ उनले भने, ‘सरकारी मान्छे स्वयं त्यसमा सहयोग गर्दै आएका छन्।’

नेपालको ‘हरिद्वार’ बनाउने भन्दै कमलनयनाचार्यले निकुञ्जमा २०५२ सालदेखि पूर्वाधार निर्माण थालेका थिए। उक्त स्थानमा पहिले सामान्य मन्दिर रहेको दाबी कमलनयनाचार्यका उत्तराधिकारीका रूपमा रहेका कृष्ण प्रपन्नाचार्यले गरे।

‘यस क्षेत्रमा भौतिक पूर्वाधारका रूपमा सानो मन्दिर २०३५ सालमा बनेको देखिन्छ,’ उनले भने, ‘स्वामी कमलनयनले पछि यसलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुभएको हो।’ भोगाधिकार नदिएर निकुञ्जका वार्डेनले झुक्याएको आरोप उनले लगाए। ‘भोगाधिकार लिनुपर्छ भन्ने थाहा भएन,’ उनले भने, ‘उनीहरूले मौन स्वीकृति दिए, अहिले धोका भयो।’

त्यहाँ २५ करोडभन्दा बढी लागतमा भव्य गजेन्द्रमोक्ष नारायण मन्दिर निर्माण अन्तिम चरणमा छ। त्यसका लागि मुलुकका विशिष्ट व्यक्तिले चन्दा दिएका छन्। त्यसको बाहिरी भाग प्यागोडा र भित्र दक्षिण भारतीय शैलीको छ। ५ वर्षदेखि निर्माण चलिरहेको मन्दिर यही साउनमा सक्ने आश्रमले जनाएको छ।

तत्कालीन सरकार प्रमुख खिलराज रेग्मी तथा गृहमन्त्री माधव घिमिरे हेलिकप्टर लिएर दुईपटक धाम पुगेका थिए। त्यसपछि सरकारी बजेटको ओइरो लागेको हो। नारायणी किनारमा रहेको उनको आश्रम (जसलाई योगीले गजेन्द्रमोक्ष दिव्यधाम भन्ने गर्छन्) मा जनताको तटबन्ध कार्यक्रमअन्तर्गतको ५० लाख रुपैयाँ अघिल्लो सरकारले विनियोजन गरेर धमाधम काम भइरहेको छ।

भक्तपुरको छालिङ–९ मा पनि ५.४४ हेक्टर (करिब १०७ रोपनी) वनक्षेत्र कब्जा गरी रूख फाँडेर आलिशान आश्रम, मन्दिरलगायत संरचना बनाइएको छ। सुरुमा श्रीवन सामुदायिक वनका उपभोक्तालाई प्रलोभनमा पारेर उनी वनक्षेत्र प्रवेश गरेका थिए। शक्तिकेन्द्रको सहयोगमा पछि यसलाई पञ्चमहालक्ष्मी अखण्डज्योति धार्मिक वन घोषणा गर्न बाध्य पारे।

ती दुईसहित उनका मुक्तिनाथ, गलेश्वरधाम, पञ्चकोट, देवघाट, मण्डिखाटार, गोल्फुटार, बेनी र गंैडाकोटमा आश्रम र विद्यापीठहरू सञ्चालित छन्। भारतका दिल्ली र गुजरातमा छन्।

‘भीआईपी’ भक्त

उनका चर्चित भक्तमा मुख्य सचिव लीलामणि पौडेल, पूर्वमन्त्री शंकर कोइराला, उद्योगी उपेन्द्र महतो, अजय सुमार्गी, चिकित्सक भोला रिजाल, अख्तियार प्रमुख लोकमानसिंह कार्की, पूर्वप्रधानन्यायाधीशहरू, प्रहरी र नेपाली सेनाका बहालवाला र पूर्वउच्चपदस्थ कर्मचारीलगायत छन्। शीर्ष नेताहरू, उद्योग वाणिज्य महासंघका पूर्व र वर्तमान प्राय: केन्द्रीय सदस्य तथा पदाधिकारी भक्त छन्। अधिकांश भक्तहरू उनलाई भेटदा एक सय ८० डिग्रीमा लम्पसार भई ढोग्छन्।

राजा ज्ञानेन्द्रको शाहीकालमा ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूको नेतृत्वदायी मोर्चामा यिनै ‘स्वामी’ देखिन्थे। त्यसबेला उनको सुरक्षामा सैनिकसमेत परिचालित गरिएका थिए। हाल दुई प्रहरीले सुरक्षा दिन्छन्। गाडीका चालक प्रहरीले नै दिएको छ। त्रिवेणीको आश्रममा भने भारतीय नम्बर प्लेटको गाडी देखिन्छ।

‘भक्त’का पुल

अख्तियार प्रमुख लोकमानसिंह कार्की उनका एक ‘भक्त’ हुन्। कमलनयनाचार्यले भनेको उनी केही हार्न सक्दैनन्। अनियमितता गर्ने धेरैलाई यो ‘साइनो’ थाहा छ। अप्ठ्यारो पर्न लाग्यो भने उनीहरू ‘दर्शनभेट’ गर्न पुग्छन्। ‘कारबाही प्रक्रिया ठ्याक्कै रोकिन्छ,’ एक निकटवर्ती भन्छन्।

तर, सहयोगीहरूका अनुसार उनी सकेसम्म भ्रष्टचारीलाई उन्मुक्ति दिन भन्दैनन्। ‘छेउछाउका कसैले उहाँको नाम लिएर कुरा गर्छ होला,’ एक सहयोगीले पुष्टि गर्दै भने, ‘तर हो, कारबाही रोकिन्छ।’

उनको घनिष्ठता कस–कससँग छ भनेर दुरुपयोग गर्ने पनि उत्तिकै छन्। ‘चाहिएको ठाउँमा सरकारी बजेट पार्ने वा अन्य काममा उहाँको नाम भजाएको पाइएको छ,’ अर्का निकटवर्ती भन्छन्, ‘ट्रस्टका लागि सहयोग लिनचाहिँ उहाँसँगको सल्लाहमै काम हुन्छ।’

हिसाब देखाइएन

बागलुङमा ‘सर्वसिद्धिधाम’ निर्माण गर्न गत फागुनमा कमलनयनाचार्यले लगाएको महायज्ञको खर्च अहिलेसम्म सार्वजनिक गरिएको छैन। उक्त कार्यक्रमको वेबसाइट डब्लूडब्लूडब्लू डट सर्वसिद्धिधाम डट ओआरजी डट एनपीमा पनि रकम जम्मा गर्न चाहनेलाई ‘विश्वशान्ति धनधान्याचल धवलागिरि विराट महायज्ञ’ का नाममा चारवटा बैंकका खाता दिइएको छ। कति उठ्यो, कतै छैन। ‘दानवीर सूची’ मा कसैको नाम छैन।

उनको पुख्र्यौली थलोमा लगाइएको महायज्ञमा १२ करोड संकलन भएको अनुमान छ। त्यहाँ १ सय ८ फिट अग्लो कलश बनाउने लक्ष्य छ। ‘महायज्ञको खर्च सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले भने, ‘सरकारी कर्मचारीहरू पनि सदस्य छन्, वर्षान्तमा नभ्याइएकाले साउन १५ लाई तोकिएको छ।’ महायज्ञमा करोडभन्दा माथि दान गर्ने थिए।

स्रोत : कान्तिपुर

Related posts