चार दलका शीर्षहरुसँग राष्ट्रपतिले राखेका बुँदा यस्ता छन्
काठमाडौं , २०७२ असार २६,
राष्ट्रपति रामवरण यादवले संविधान लेखनलाई लम्बाएर आफू पदमा टिकिरहने कुनै चाहना वा सोचाइ नरहेको स्पष्ट पारेका छन्।मुख्य चार दलका शीर्ष नेताहरुलाई शुक्रबार शीतल निवास बोलाएर राष्ट्रपति यादवले भने, शंका नगर्नुस्, अहिले नै पद छोड्न तयार छु।’
संविधान निर्माणको प्रक्रियामा आफूले देखाएको चासोलाई पद लम्बाउने सोचाइका रुपमा नलिन आग्रह गर्दै यादवले भने, ‘पद लम्ब्याउने सोचाइ भनेर शंका नगरियोस, तपाईहरुले भन्नुहुन्छ भने अहिल्यै छोड्न तयार छु। विगतमा पनि यही कुरा राखेको थिएँ। चार दललाई भनेको थिएँ।’
दलहरुसँगको छलफलमा राष्ट्रपतिले भनेका थिए, ‘तपाईहरुलाई शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुस् म सही गर्न तयार छु । मेरो लागि संविधान जारी गर्ने दिन जस्तो खुशी जिन्दगीमा कहिल्यै हुने छैन।
१६ बुँदे सहमतिलाई आफूले सार्वजनिक रुपमा स्वागत गर्दा पनि बाहिर गलत रुपमा आएकोमा राष्ट्रपतिले दुःख व्यक्त गरेका थिए। राष्ट्रपति यादवले सकेसम्म सबै पक्षलाई समेटेर सबैले स्वामित्व महसुस गर्ने पूर्ण संविधान बनाउन चार दललाई सुझाव दिएका छन्। उनले असन्तुष्ट रहेका मधेस केन्द्रित दल तथा अन्य पक्षको आवाज र भावनालाई सम्बोधन गरेर उनीहरुलाई पनि विश्वासमा लिन नेताहरुलाई आग्रह गरेका थिए।
यादवले संविधानसभाबाट संविधान बनाउने २००७ सालदेखिको सपना साकार हुन लागेकोमा खुसी व्यक्त गर्दै नेताहरुलाई विशेष धन्यवाद पनि दिएका थिए। उनले भने, ‘संविधानसभाबाट एउटा मस्यौदा आयो । राम्रो भयो । जनताबीच जाँदैछ, राम्रा वा नराम्रा पक्षहरुमा छलफल हुने नै छ । अन्ततः २००७ सालदेखिको सपना साकार हुँदैछ।’
संघीयतालाई संविधानसभाबाटै टुंगो लगाएर संविधान ल्याउन उपयुक्त हुने सल्लाह दिएका थिए। यस क्रममा उनले मधेशको घटनाका केही प्रसंग पनि सुनाएका थिए। उनले नामांकन र सिमांकन बाँकी राख्दा पछि त्यसले जटिल रुप लिनसक्नेतर्फ दलहरुलाई सचेत गराएका थिए।
स्वतन्त्र न्यायपालिका, संवैधानिक अंगहरु र सुरक्षा निकाय (विशेषत नेपाली सेनाको) नागरिक नियन्त्रण स्वतन्त्रता र व्यावसायिकतालाई उचित ध्यान दिनुपर्ने सुझाव यादवले दिएका छन् । यी संस्थाहरुको शक्ति सन्तुलन र उत्तरदायित्वलाई पनि ध्यान दिँदा राम्रो हुने भनाइ यादवको छ।
राष्ट्रपतिको भनाइ सुनेपछि दलका नेताहरुले यसलाई आफूहरुले गम्भीर रुपमा लिएको प्रतिक्रिया दिएका थिए। चार दलका नेताहरुले असन्तुष्ट पक्षलाई समेट्नका लागि आफूहरुले पहल गरिरहेको र जनताका बीचमा जाँदा केही कुरा थप्न वा मिलाउन सकिने बताएका थिए।
नेताहरुले विरोध तथा आन्दोलनको आवारणमा संविधान नचाहने तत्वहरु पनि सक्रिय हुनसक्ने भएकोले यस्तो चलखेल प्रति आफूहरु सचेत रहेको बताउँदै अब कुनै पनि बाहनामा संविधान नरोकिने दृढता व्यक्त गरेका थिए।
राष्ट्रपतिले राखेका बुँदाहरु यस्ता छन्
चार दलका मुख्य नेताहरुसँगको छलफलमा राष्ट्रपतिले राखेका बुँदाहरु यस्ता छन् । यी बुँदाहरु राष्ट्रपति सचिवालयले तयार गरेर जानकारीका लागि प्रेषित गरेको हो ।
चार दलका मुख्य नेताहरुसँगको छलफलमा राष्ट्रपतिले राखेका बुँदाहरु
१. सकारात्मक पक्षहरु
विनाशकारी भूकम्पको उद्धारमा देखिएको सफलता र सोमा राजनीतिक दलहरुबीचको एकता (संकल्प प्रस्ताव) साँच्चै स्वागत योग्य छ । मा राजनीतिक कार्यकर्ताहरुको परिचालन पनि स्वागत योग्य छ । अब पुनः निर्माणमा पनि यस्तै एकता हुनेछ भन्ने मेरो विश्वास छ ।दाता सम्मेलनको सफलतालाई पनि तपाई सरकार र राजनीतिक दलहरुलाई विशेष धन्यवाद छ ।
२. संविधान निर्माण प्रक्रिया
चार राजनीतिक दलहरुबीच भएको १६ बुँदे सम्झौता स्वागतयोग्य छ र सार्वजनिक रुपमा नै मैले स्वागत गरेको छु । यस बारेमा बाहिर गलत रुपमा आएको मैले बुझेको छु ।संविधानसभाबाट एउटा मस्यौदा आयो । राम्रो भयो । जनताबीच जाँदैछ, राम्रा वा नराम्रा पक्षहरुमा छलफल हुने नै छ । अन्ततः २००७ सालदेखिको सपना साकार हुँदैछ । यसको लागि तपाई चार राजनीतिक दलहरुलाई विशेष धन्यवाद छ ।
अबको चुनौती विपत व्यवस्थापन र संविधान निर्माणलाई संगै लग्नुपर्छ भन्ने आग्रह छ । भूकम्प पिडीत जनताको हित र सुशासनलाई पनि विशेष ध्यान दिनुहोला । भूकम्पबाट जनताले धेरै दुःख पाएका छन्। अब वर्षा आउँदैछ ।
३. संविधान निर्माणमा निम्न कुरा ध्यान दिए राम्रो हुने थियो : यो मेरो सुझाव मात्र हो।
(क) छलफल राम्रै हुन पाओस्, कसैले ‘समय’ पाइन भन्ने गुनासो नआओस्, केही दिनको ढिलो चाँडोले असन्तुष्टि नदेखियोस् । (यसमा कसैको पद लम्ब्याउने सोचाइ सम्बन्धमा शंका नगरियोस, तपाईहरुले भन्नुहुन्छ भने अहिल्यै छोड्न तयार छु । विगतमा पनि यही कुरा राखेको थिएँ । चार दललाई भनेको थिएँ । तपाईहरुलाई शंका लाग्छ भने सादा पानामा लेखेर ल्याउनुस् म सही गर्न तयार छु । मेरो लागि संविधान जारी गर्ने दिन जस्तो खुशी जिन्दगीमा कहिल्यै हुने छैन ।)
(ख) यो संविधानबाट जनताको सार्वभौम सत्ता, लोकतन्त्र, गणतन्त्र, संघीयता र कानूनको शासन बलियो होस, संघीयता (मधेशको घटना सुनाउँदै, यही संविधानसभाबाट नै समाधान गर्न उपयुक्त हुने)लोकतन्त्र, गणतन्त्र र संघीयता असंशोधनीय प्रावधानका रुपमा रहोस् भन्ने मेरो सुझाव छ।
(ग) केही कुरालाई विशेष ध्यान दिन चाहन्छु । मेरो ७ वर्षको अनुभव छ। भोलिको राष्ट्रपति तपाईहरु नै हो । त्यसैले संविधान निर्माणमा केही कुरा ध्यान दिनु हुनेछ भन्ने मेरो विश्वास छ र मैले पनि मेरो अफिसलाई विस्तृत रुपमा गृहकार्य गर्न लगाएको छु । केही कुरा पाएँ भने म तपाईहरुलाई सल्लाहको रुपमा सुझाव दिने छु। यसलाई स्वीकार्ने वा नस्विकार्ने तपाईहरुको काम हो।
(१) राष्ट्रिय अखण्डता र अक्षुणताको संरक्षणको विषय,
(२) गणतन्त्र, लोकतन्त्र र संघीयता संस्थागतको विषय,
(३) स्वतन्त्र न्यायपालिका, संवैधानिक अंगहरु र सुरक्षा निकाय (विशेषत नेपाली सेनाको) नागरिक नियन्त्रण स्वतन्त्रता र व्यावसायिकतालाई उचित ध्यान दिँदा राम्रो हुने थियो । साथै ती संस्थाहरुको शक्ति सन्तुलन र उत्तरदायित्वलाई पनि ध्यान दिँदा राम्रो हुन्छ ।
(४) जनता सार्वभौम हुन् र उनीहरुको हक अधिकारको उचित ग्यारेन्टी र संरक्षणको व्यवस्था होस् ।
(५) विधिको शासन मजबूत होस् ।
(६) विवादका विषयमा अब थाती नराखौं, समाधान गरौं।
(७) प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी होस् (प्रेस स्वतन्त्रता विगतभन्दा कमजोर छ भन्ने सुनेको छु । राम्रो भएन, उत्तरदायी बनाउने नाममा नियन्त्रण हुनु भएन । मेरो बारेमा पनि कहिले काहि गलत सूचना सम्प्रेषण गरेको पाउँछु तर प्रेस स्वतन्त्रतालाई कतै सम्झौता नगर्नुहोला । उत्तरदायीको नाममा प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरौं । प्रेसको स्वतन्त्रता नै लोकतन्त्रको अक्सिजन हो । एकजना नोबल पुरस्कार विजेताले भनेका थिए रे, ‘जहाँ प्रेस स्वतन्त्रता हुन्छ, मान्छे भोकै मर्दैन ।’)
अन्त्यमा, सर्वोच्च अदालतको फैसलाको उचित सम्मान र असहमति भए विधि र प्रक्रियाबाट सच्याऔं । किनभने अदालतको फैसला इन्कार गर्न
मिल्दैन। कानूनविद्हरुसंग उचित सल्लाह गरी यसको विधिसम्मत निरोपण गर्न मेरो यहाँहरुसंग विनम्र आग्रह छ । (कटवाल प्रकरणमा अदातलको सम्मानको प्रसंग सुनाउँदै )
संविधानभित्र र बाहिरी रहेका असन्तुष्ट पक्षहरुलाई समेत सकेसम्म समेट्ने प्रयास हुँदा राम्रो हुने थियो । प्रयास जनताले देखिने गरी हुनुपर्यो। (वैद्य पक्षलाई सहमतिमा ल्याउन गरेको प्रयासको प्रसंग सुनाउँदै)
संविधानको मसौदा सहमतिको दस्तावेज हुनुपर्नेमा असहमतिहरुको दस्तावेज जस्तो छ भन्ने विज्ञको आलोचना छ । यसमा राजनीतिक नेतृत्वले दूरदर्शिता तथा स्टेटमेनसिप देखाउनु पर्यो साथै विज्ञहरुको सहयोग लिई विश्वमा गर्व गर्ने संविधान आओस भन्ने मेरो शुभकामना छ, म तपाईको साथ छु, यो संविधानले सुन्दर नेपाल बनाउने बाटो दिओस् ।
सानो तथा छिटो सूचनाबाट आइदिनुभयो यसका लागि विशेष धन्यवाद, नेपाली जनताको तर्फबाट आशा गर्छु, यो देशको भविष्य तपाईहरुको हातमा छ।
स्रोत : अन्नपुर्णपोस्ट