ताजा खबर

भान पर्सीलाई बेच्ने तयारी 

एजेन्सी लन्डन, २०७२  असार २६,

टर्किस क्लब फेनरबचले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोबिन भान पर्सीलाई भित्र्याउने प्रक्रिया सुरु गरेको छ । फेनरबचले भान पर्सीका लागि प्रतिसाता २ लाख ४० हजार पाउन्ड प्रस्ताव राखेको छ । चोटका कारण गत सिजन भान पर्सीले गतिलो प्रदर्शन गर्न सकेनन् । सिजनको अन्न्यसम्म भान पर्सी पहिलो सेटमा प्रतिस्पर्धा गर्न संघर्षरत थिए । प्रशिक्षक लुइस भान गाल पनि भान पर्सीसँग सन्तुष्ट देखिँदैनन् । प्रशिक्षक र व्यवस्थापनले वास्ता नगरेपछि भान पर्सी अन्य क्लबसँग आबद्ध हुन चाहन्थे । यसकारण फेनरबचले भान पर्सीलाई आकर्षक प्रस्ताव राखेको हो । फेनरबचले भान पर्सीको इंग्ल्यान्डमै मेडिकल टेस्ट गराउने बिसिसीले जनाएको छ । ३१ वर्षीय भान पर्सी र म्यानचेस्टरबीच एक वर्षको सम्झौता बाँकी छ । म्यानचेस्टर भान पर्सीसँगको सम्झौता नवीकरण गर्ने पक्षमा छैन ।

म्यानचेस्टर भान पर्सीको स्थानमा बायर्न म्युनिखका बास्टिन स्वाइन्सटाइगरलाई भित्र्याउने योजनामा छ । म्यानचेस्टरका प्रशिक्षक भान गाल र व्यवस्थापकको चाहना बुझेपछि भान पर्सीले क्लब छाड्न मनसाय बनाएको बिबिसीले उल्लेख गरेको हो । राम्रो प्रस्ताव आए म्यानचेस्टरले भान पर्सीलाई बेच्नेछ । फेनरबचले म्यानचेस्टरसमक्ष तीन वर्षका लागि ४ करोड ७० लाख पाउन्ड प्रस्ताव राखेको छ । भानपर्सी पनि फेनरबचको प्रस्तावप्रति आकर्षित छन् । उनले बिहीबार इस्तानबुल भ्रमण गरेका थिए । त्यहाँ उनले निकट भविष्यमा आबद्ध हुन लागेको क्लबका पदाधिकारीसँग कुराकानी गरेको बिसिसीले उल्लेख गरेकोछ । नेदरल्यान्डका कप्तानसमेत रहेका भान पर्सीले आफू राम्रो क्लबमा आबद्ध हुन चाहेको बताएका छन् । ‘म युरोपको कुनै राम्रो क्लबसँग आबद्ध हुन चाहन्छु,’ भान गालले भने, ‘यसमा म्यानचेस्टरको भूमिका ठूलो रहनेछ ।’ भान पर्सीको टुंगो लागेपछि मात्र म्यानचेस्टरले स्वाइन्सटाइगरका सम्बन्धमा कुराकानी अगाडि बढाउनेछ ।

स्वाइन्सटाइगरले गत साता म्यानचेस्टरका पदाधिकारीसँग छलफल भएको पुष्टि गरेका छन् । ‘गत साता लन्डनमा रहँदा म्यानचेस्टरका पदाधिकारीसँग कुरा गरेको थिएँ, दुई क्लबबीच सम्झौता मिल्दा पुन: लन्डन फर्कनेछु,’ स्वाइन्सटाइगरले भने, ‘अहिले फोनमा कुरा भइरहेको छ ।’ जर्मन पत्रिका विल्डले म्यानचेस्टरले स्वाइन्सटाइगरलाई तीन वर्षको सम्झौता गर्ने तयारी गरेको जनाएको छ । म्यानचेस्टरसँग सम्झौता भए स्वाइन्सटाइगर र बायर्नबीचको १७ वर्षे सम्बन्ध तोडिनेछ । म्यानचेस्टरले स्वाइन्सटाइगरलाई प्रतिसाता १० मिलियन युरो दिने वाचा गरेको छ । जर्मनीको राष्ट्रिय टोलीबाट स्वाइन्सटाइगरले १११ क्याप जितेका छन् । उनले बायर्नबाट ३४२ खेलमा सहभागिता जनाए ।

स्रोत : नया पत्रिका

Related posts