ताजा खबर

‘बजेटमा बूढीगण्डकी आयोजनालाई विशेष प्राथमिकता’ 

काठमाडौँ, २०७२ असार २६,

प्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित विभिन्न सरोकारका विषय लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार समिति र गोरखा तथा धादिङका जनप्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आउने बजेटमा समेत यो आयोजनालाई प्राथमिकतामा राखिने आश्वासन दिए।

उनले यो आयोजनाका बारेमा विशेष ध्यान दिन अर्थमन्त्री डा रामशरण महत र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई पनि विशेष निर्देशन दिएका छन्।

नेपाली काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको बूढीगण्डकी आयोजना शीघ्र निर्माण गर्नुपर्ने र आउँदो आवका लागि सरकारको नीति तथा कार्यक्रममा परिसकेको सो आयोजना निर्माणका लागि जग्गा अधिग्रहणलगायत कार्यक्रम यसै वर्ष आरम्भ गर्न पनि आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए।

प्रतिनिधिमण्डलले भूकम्पले आयोजनाको प्रस्तावित जलाशय क्षेत्रका घर पनि क्षतिग्रस्त भएकाले तिनको स्थायी पुनर्वासका लागि आवास बनाउन राहत रकम र निर्माण सामग्री वितरण हुनुपूर्व नै डुबानयोग्य क्षेत्रको मुआबजा प्रदान गरी प्रभावित स्थानीयवासीको पुनर्वास गर्न आग्रह गरेको छ । बाह्र सय मेगावाट क्षमतामा विकास गर्न लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्र्याकबेल कम्पनीले भूकम्पका कारण प्रतिवेदन बुझाउने कार्र्यमा केही विलम्ब भएको जनाएको छ । कम्पनीले सो आयोजनाबाट विस्थापित हुनेलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ सहर बसाल्न सकिने सम्भावना आँल्याएको छ । सम्बद्ध पक्षका अनुसार काठमाडौँ, पोखरा र तराईको मध्यक्षेत्र नारायणगढको बीचमा पर्ने सो क्षेत्रमा सुन्दर सहर बसाउन सकिनेछ । त्यहाँको जलाशय नौका विहार र पर्यटकीय दृष्टिले पनि चित्ताकर्षक हुने बताइन्छ । प्रतिनिधिमण्डलले बूढीगण्डकी पुनर्वासका साथै भूकम्पले तहसनहस भएका बस्ती, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थल, विद्यालय स्वास्थ्यचौकी र सरकारी भवन तथा खानेपानी सडक र सिँचाइजस्ता पूर्वाधारको पुनर्निर्माणका विषय पनि उठाएको थियो ।

प्रतिनिधिमण्डलमा सभासद् राजेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बुर्लाकोटी, परशुराम तामाङ, धनबहादुर घले र दिलमान पाख्रिन, नेकपा(एमाले) धादिङका सचिव कृष्णबहादुर नेपाली र काँगे्रसका तिलक रुवाली, सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालसहित विभिन्न दलका प्रतिनिधिको सहभागिता थियो ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *