ताजा खबर

दुई लाख मस्यौदा बोकेर आजैदेखि जनतामा 

काठमाडौं, २०७२ असार २६,

नयाँ संविधानका  दुई लाख मस्यौदा बोकेर जनतासमक्ष जाने क्रम शनिबारदेखि नै सुरु हुनेछ । पहिलो चरणमा मस्यौदा बोकेर कर्मचारी टोली जाने छ। ७५ जिल्लाका लागि कर्मचारी टोली शनिबार बिहानदेखि नै प्रस्थान गर्ने तयारी छ। पेश्की बजेट पारित गरेपछि साउन १ बाट सभासद् तथा नेताहरुको टोली पनि जिल्लाजिल्लामा जानेछ।

मस्यौदालाई जनतामा लैजाने र जनमत संकलन गर्ने तयारीबारे संविधानसभाको नागरिकसम्बन्ध तथा संविधान सुझाव समितिले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

मस्यौदा बोकेर जिल्ला जाने कर्मचारीका लागि शुक्रबार नै सिंहदरबारमा छोटो तालिम दिइएको छ र बजेट निकासाका लगायतका प्रशाससनिक काम पनि शुक्रबार नै पुरा हुनेछन् । मस्यौदा बोकेर जाने टोलीलाई गाडी, जहाज र हेलिकोप्टर जे साधन प्रयोग गर्दा सुरक्षित र सहज हुन्छ, सरकारले त्यो सुविधा उपलब्ध गराउने छ ।

मस्यौदा बोकेर जिल्ला जान  र जनमत संकलन तथा व्यवस्थापनका लागि कानुन तथा सामान्य प्रशासन मन्त्रालयबाट सयजना कर्मचारीलाई काजमा झिकाइएको छ । जिल्लामा खटिने अधिकृत स्तरका कर्मचारीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा सर्वदलीय बैठक, सार्वजनिक सुनुवाई तथा जनमतसंकलनलगायतका कार्यक्रमको समायोजन गर्नेछन् ।

मस्यौदाउपर जनमत संकलन अभियानका लागि एक अर्ब २० करोड खर्च हुने अनुमान गरिएको छ। गृहमन्त्रालयले मस्यौदा संकलनका लागि जिल्ला जाने नेता, सभासद् तथा कर्मचारी टोलीका लागि सरकारले विशेष सुरक्षा व्यवस्था गरेको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts