ताजा खबर

औषधिको मूल्य २० प्रतिशत कम हुने   

काठमाडौ,  २०७२ असार २६,

सरकारले बढी प्रचलनमा रहेका औषधिको खुद्रा मूल्य निर्धारण गर्दा २० प्रतिशतसम्म मूल्य कम हुने भएको छ। एउटै औषधिको मूल्य पनि उत्पादक कम्पनीअनुसार फरक–फरक भएपछि सरकारले बढी प्रचलनमा रहेका १८ र क्यान्सरलगायत दीर्घरोगका लागि चाहिने ७८ गरी ९६ प्रकारका औषधिको खुद्रा मूल्य तोकेको थियो। यसबाट बिरामी र परिवारलाई राहत मिल्ने भएको छ।

राजपत्रमा सूचना प्रकाशित भएपछि उपभोक्ताले निर्धारित खुद्रा मूल्यअनुसार औषधि किन्न पाउनेछन्। एन्टिबायोटिक, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला, मानसिकलगायतका रोगका औषधिको खुद्रा मूल्य तोकिएको हो।

‘औषधि ऐनमा अधिकतम खुद्रा मूल्य निर्धारण गर्ने व्यवस्था भए पनि स्वास्थ्य मन्त्रालयको इतिहासमा पहिलोपटक यो व्यवहारमा लागू भएको हो,’ स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले कान्तिपुरसँग भने, ‘निर्धारित खुद्रा मूल्य राजपत्रमा प्रकाशन गर्न पठाइसकिएको छ, प्रकाशन भएपछि लागू हुनेछ।’

औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण भएपछि जालोजस्तै रहेको औषधिको कमिसनतन्त्रमा समेत कमी आउने उल्लेख गर्दै सचिव श्रेष्ठले भने, ‘यसको प्रभाव हेरेर अधिकतम खुद्रा मूल्य निर्धारण हुने औषधिको संख्या विस्तारै बढाउँदै लैजानुपर्छ।’ क्यान्सर, मिर्गौला, मुटु रोगका धेरैजसो औषधि अत्यन्त महँगो पर्ने भएकाले अधिकतम खुद्रा मूल्य निर्धारणबाट सम्बन्धित रोगीलाई धेरै राहत पुग्ने दाबी स्वास्थ्य सचिवको छ।

खुद्रा मूल्य निर्धारणसँगै हाल स्वास्थ्य मन्त्रालयले आफ्ना निकायमार्फत पसलमा पाइने औषधिको गुणस्तर अनुगमनसमेत गर्ने भएको छ। हाल १० रुपैयाँ पर्ने एन्टिबायोटिक औषधि अब ८ रुपैयाँमा बेच्नुपर्दा बर्सेनि नेपाली जनताको ८ करोड रुपैयाँ बचत हुने नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईं बताउँछन्। उनका अनुसार मुलुकमा बर्सेनि ४० करोड रुपैयाँबराबरको एमोक्सिसिलिन औषधिको कारोबार हुने गरेको छ।

‘औषधिमा धेरै बढी अर्थात् ३०/४० प्रतिशत बोनस छ, त्यो मूल्य निर्धारण पछि घट्नेछ,’ हुमागाईं भन्छन्, ‘सरकारले हाल निर्धारण गरेको मूल्यलाई अझ तल झार्न मिल्छ।’ उनका अनुसार सरकारद्वारा हाल निर्धारित अधिकतम खुद्रा मूल्यलाई अझ १५ प्रतिशतसम्म कम गर्दा पनि औषधि व्यवसायमा कुनै फरक पर्दैन।

बढी प्रचलनमा रहेका १८ औषधिको खुद्रा मूल्य निर्धारण गर्दा न्यूनतम करिब २० प्रतिशत औषधि मूल्य कम हुने हुमागाईंको भनाइ छ। ‘आकस्मिक गर्भनिरोधक आइपिल एक सय ६० रुपैयाँसम्म बिक्थ्यो, अहिले ८० रुपैयाँ मूल्य कायम भएको छ,’ हुमागाईंले भने, ‘तर यसको मूल्य ५० रुपैयाँभन्दा बढी पर्दैन।’

हाल बजारमा रहेका औषधिमा २० देखि ६० प्रतिशतसम्म मूल्य घटाउन सकिने उल्लेख गर्दै हुमागाईंले भने, ‘भारत सरकारले धेरै औषधिको मूल्य नियन्त्रण गरेको छ।’ विशेषज्ञहरू औषधि व्यापारमा भएको अत्यधिक विकृति, विसंगति, कमिसनतन्त्र समाप्त गरेर उपभोक्तालाई नठगिने गरी वास्तविक मूल्य सुनिश्चित गर्न सरकारले सबै औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिनुपर्ने बताउँछन्।

औषधि विक्रेताले अस्पताल परिसरमा २५ लाख भाडा तिरेर पसल राख्नुको कारण के हो?’ हुमागाईं भन्छन्, ‘सीधा कुरा हो वास्तविक र बिक्री गरिने मूल्यमा आकाश–पातालको अन्तर।’ सरकारले मूल्य निर्धारणसँगै अब व्यापक रूपमा औषधिको गुणस्तरसमेत हेर्नुपर्ने समय आएको हुमागाईं बताउँछन्।

उनका अनुसार गत वर्ष औषधि व्यवस्था विभागको बजार सर्वेक्षणले नेपाली बजारमा भएका १४ प्रतिशत औषधि गुणस्तरहीन रहेको देखाएको थियो। यति मात्र नभएर औषधि व्यवस्था विभागले ल्याएका शंकास्पद औषधिका नमुनामध्ये ४२ प्रतिशतमा कमजोरी देखिएको छ।

बढी प्रचलनमा रहेका औषधि    अधिकतम     मूल्य(रु.)

सेफोडक्सिम २०० एमजी    २५

एमोक्सिसिलिन २५० एमजी    ५

एमोक्सिसिलिन ५०० एमजी    ८

एजिथ्रोमाइसिन २५० एमजी    १७.४५

सिफिक्सिम २०० एमजी    २०

सेफट्रयाजोन १ ग्राम इन्जेक्सन    ९०

सेफट्रयाजोन ५०० एमजी इन्जेक्सन    ६०

सिप्रोफ्लोक्सासिन ५०० एमजी    ८

फ्लुकोनाजोल १५० एमजी    २४

लिभोनोरजेस्ट्रोल १५० एमसीजी चक्की    ८०

निमुसुलाइड १०० एमजी    ३

ओफ्लोक्सासिन ४०० एमजी    ८

ओमिप्राजोल २० एमजी    ४

पेन्टाप्राजोल ४० एमजी    ८

टिनिडाजोल ५०० एमजी    ५

लिभोफ्लोक्सासिन ७५० एमजी    १५

एन्टी कोल्ड चक्की    ३

स्रोत : कान्तिपुर

Related posts