ताजा खबर

इतिहास रच्ने दाउमा सेरेना 

एजेन्सी लन्डन, २०७२ असार २६,

सेरेना विलियम्सले शनिबार विम्बल्डनको महिला फाइनलमा स्पेनकी गर्बिन मुगुरुजासँग प्रतिस्पर्धा गर्दै छिन् । सेरेनाले २४ ग्रान्डस्लाम फाइनलमध्ये २० मा उपाधि चुमेकी छिन् । पहिलोपटक ग्रान्डस्लाम फाइनल खेल्ने तयारी गरेकी मुगुरुजाले पनि सेरेनालाई टक्कर दिने अनुमान छ । तर, थुप्रै एटिपी महिला फाइनल खेलिसकेकी सेरेनाले मुगुरुजालाई हल्का नलिने बताएकी छिन् । मुगुरुजालाई पाखा लगाउँदै सेरेना इतिहास रच्ने अभियानमा छिन् । मुगुरुजालाई हराउँदा सेरेनाको नाममा २१औँ ग्रान्डस्लाम र छैटौँ विम्बल्डन उपाधि हुनेछ । सेरेनाले बिहीबार सेन्टर कोर्टमा पूर्वविजेता मारिया सारापोभालाई २–० को सीधा सेटमा हराएकी थिइन् । सेरेनाले सारापोभाविरुद्ध ३८–१ को उत्कृष्ट जित संख्या राखेकी छिन् ।

सन् २००३ मा सेरेनाले चारै ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । यस सिजन पनि उनी चारै ग्रान्डस्लाम उपाधि हात पार्ने संघारमा छिन् । सन् २००२ मा उनले फ्रेन्च र विम्बल्डन लगातार जितेकी थिइन् । टेनिस इतिहासमा स्टेफी ग्राफले दुई सिजन चारै ग्रान्डस्लाम जितेकी थिइन् । ग्राफको रेकर्ड बराबरी गर्न सेरेना एक उपाधि टाढा छिन् । ‘मलाई फाइनलको दबाब छैन,’ सेरेनाले भनिन्, ‘मुगुरुजाको पहिलो ग्रान्डस्लाम फाइनल भए पनि उनी राम्री खेलाडीमा पर्छिन् ।’ मुगुरुजाविरुद्ध दबाबरहित प्रतिस्पर्धा हुने उनले बताइन् । ‘पहिलो चरणदेखि फाइनलसम्मको यात्रामा दबाब महसुस गरिनँ,’ सेरेनाले भनिन्, ‘प्रतिद्वन्द्वीको खेलअनुसार योजना बनाउँछु ।’ करिअरमा धेरै ग्रान्डस्लाम उपाधि जितेका कारण मुगुरुजासँग पराजित हुँदा पनि फरक नपर्ने उनले बताइन् । ‘करिअरमा धेरै ग्रान्डस्लाम जितेकी छु, यसपटक विम्बल्डन फाइनल गुमाउँदा पनि केही फरक पर्दैन,’ सेरेनाले भनिन्, ‘विम्बल्डन जित्दा पनि खासै खुसी हुदिनँ ।’ आलोचक र विश्लेषकले ग्राफको रेकर्ड पाखा लगाउनुपर्ने दबाब दिइरहेको सेरेनाले खुलासा गरेकी छिन् । ‘१८ ग्रान्डस्लाम जितेपछि ममाथि दबाब छ, विश्लेषकले ग्राफको रेकर्ड बराबरी वा तोड्नुपर्ने दबाब दिइरहेका छन्,’ उनले भनिन्, ‘म आफ्नो स्वाभाविक खेल खेल्न चाहन्छु ।’ गत वर्ष फ्रेन्च ओपनमा मुगुरुजाले सेरेनालाई तेस्रो चरणमा स्तब्ध पारेकी थिइन् ।

पछिल्लो समय मुगुरुजा उत्कृष्ट फर्ममा छिन् । ‘मुगुरुजाको खेलमा परिवर्तन आएको पाएँ, गत वर्ष मैले धेरै अप्ठेरो सामना गरेकी थिएँ,’ उनले भनिन् । मुगुरुजाले फाइनल स्थान सुरक्षित गर्न १३औँ बरियताकी अजनिस्का राड्वान्स्कालाई तीन सेटमा हराएकी थिइन् । ‘यसपटक फाइनल विशेष बनाउँछु,’ मुगुरुजाले भनिन्, ‘मेरो दिन राम्रो रहे, सेरेनालाई नै स्तब्ध पार्दै पहिलो ग्रान्डस्लाम उपाधि उचाल्नेछु ।’

स्रोत  : नया पत्रिका

Related posts