ताजा खबर

बलिउड कलाकार दम्पतीको उमेर अन्तर    

२०७२ असार २६,

धर्मेन्द्र–हेमा अन्तर–१३ वर्ष

बलिउडका चर्चित जोडी धर्मेन्द्र र हेमा मालिनीको उमेरमा १३ वर्ष अन्तर छ । उनीहरूले सन् १९८० मा प्रेमविवाह गरेका हुन् । धर्मेन्द्र सन् १९३५ मा जन्मिएका हुन् भने हेमा १९४८ मा । हेमा धर्मेन्द्रकी कान्छी पत्नी हुन् । हेमाअघि उनले १९ वर्षको उमेरमा प्रकाश कौरसँग बिहे गरेका थिए । प्रकाशतिरबाट धर्मेन्द्रका चार सन्तान छन्– सनी, बबी, अजिता र विजीता । सनी र बबी बलिउडका सफल हिरो हुन् । सोले फिल्मको सुटिङका क्रममा धर्मेन्द्र र हेमाबीच माया बस्यो । त्यसपछि बिहे गरे । यिनीहरूका दुई छोरी इशा र आहना छन् ।

दिलीप कुमार–सायरा अन्तर–२३ वर्ष

ट्रयाजिडी किंगका रूपमा कहलिएका बलिउडका चर्चित हिरो दिलीपकुमार र उनकी पत्नी अभिनेत्री सायरा बानुबीच २३ वर्षको अन्तर छ । सन् १९२२ मा जन्मिएका दिलीपकुमारले १९४४ मा जन्मिएकी सायरासँग बिहे गरेका थिए । सन् १९६६ मा बिहे गरेका दिलीप त्यतिवेला ४४ वर्षका थिए भने सायरा २१ वर्षकी थिइन् ।

सञ्जय दत्त–मान्यता अन्तर–२० वर्ष

‘मुन्ना भाइ’ उपनामले समेत परिचित बलिउड अभिनेता सञ्जय दत्त र उनकी हालकी पत्नी मान्यताबीच उमेरमा २० वर्षको अन्तर छ । सन् १९५९ मा जन्मिएका सञ्जयले १९७९ मा जन्मिएकी मान्यतालाई सन् २००८ मा कान्छी पत्नीका रूपमा भित्र्याएका हुन् । मान्यताअघि सञ्जयले सन् १९८७ मा ऋचा शर्मासँग बिहे गरेका थिए । ऋचाको ब्रेन ट्युमरका कारण सन् १९९६ मा निधन भएको थियो । पत्नी शोकले बिरक्तिएका सञ्जयले रिया पिल्लेसँग सन् १९९८ मा बिहे गरे । तर, दोस्रो बिहे सन् २००५ मा अन्त्य भयो । अर्थात्, उनीहरूबीच डिभोर्स भयो । त्यसपछि दुई वर्ष लामो प्रेमलाई साकार पार्दै सञ्जयले मान्यतासँग बिहे गरे । उनीहरूको पाँच वर्षका जुम्ल्याहा छोराछोरी छन् ।

सैफ अली–करिना अन्तर–१० वर्ष

सैफ अली खान र करिना कपुरको उमेरमा १० वर्षको अन्तर छ । उनीहरूले सन् २०१२ मा बिहे गरेका हुन् । सैफ अली सन् १९७० मा जन्मिएका हुन् भने करिनाको जन्म मिति २१ सेक्टेम्बर १९८० हो । करिना सैफकी कान्छी पत्नी हुन् । आफूभन्दा १२ वर्ष जेठी तत्कालीन चर्चित हिरोइन अमृता सिंहसँग सन् १९९१ मा बिहे गरेका सैफले सन् २००४ मा उनीसँग सम्बन्धविच्छेद गरेका थिए । सैफ र अमृताका दुई सन्तान, छोरी सारा अली खान र छोरा इब्राहिम, छन् । छोराछोरी आमा अमृतासँग बस्दै आएका छन् ।

राजेश खन्ना–डिम्पल अन्तर–१५ वर्ष

राजेश खन्ना पत्नी डिम्पल कपाडियाभन्दा १५ वर्ष जेठा थिए । सन् १९४२ मा जन्मिएका राजेश र सन् १९५७ मा जन्मिएकी डिम्पलले सन् १९७३ मा बिहे गरेका थिए । बलिउडको पहिलो सुपरस्टारका रूपमा समेत चिनिने राजेशको सन् २०१२ मा निधन भयो । उनीहरूका ट्विंकल र रिंकी गरी दुई छोरी छन् ।

शाहिद–मीरा अन्तर–१३ वर्ष

चल्तीका हिरो शाहिद कपुरले ७ जुलाईमा प्रेमिका मीरा राजपुतसँग बिहे गरेका छन् । ३४ वर्षीया शाहिदकी पत्नी मीरा जम्मा २१ वर्षकी भइन् । डिप्लोमा अध्ययनरत दिल्लीकी मीरा र शाहिदबीच १३ वर्षको अन्तर देखिन्छ । शाहिद करिना कपुर, दीपिका पादुकोणलगायत हिरोइनसँगको अफेयरका कारण चर्चामा आइरहन्थे । तर, उनले फिल्मलाइनबाहिरकी प्रेमिकालाई जीवनसाथी रोजे । शाहिदले बिहेको भोज भने १२ जुलाईमा खुवाउँदै छन् ।

फराह–शिरीष अन्तर–८ वर्ष

कोरियोग्राफर तथा चर्चित फिल्म निर्देशक फराह खान आफ्ना पति शिरीष कुन्दरभन्दा आठ वर्षले जेठी छिन् । फराह सन् १९६५ मा जन्मिएकी हुन् भने शिरीषको जन्म सन् १९७३ मा भएको हो । उनीहरूले सन् २००४ मा प्रेमविवाह गरेका थिए ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *