ताजा खबर

निशाको केश

२०७२  असार २५,

अमेरिका पुगेपछि अभिनेत्री निशा अधिकारीले त्यहाँ पुगेको केही दिनमै आफ्नो केश पूरै मुडुलो पारिन् । मुडुलो केशमा खिचाइएको तस्बिर फेसबुकमा राखेपछि निशाले दर्जनौं प्रतिक्रिया पाइन् । एउटा प्रतिक्रियाको जवाफ दिने क्रममा निशाले छोटो केशले आफूलाई हल्का तथा फ्रेस महसुस गराएको उल्लेख गरिन् । उक्त तस्बिरलाई फेसबुकको प्रोफाइल पिक्चर बनाइएपछि दर्जनौंले त्यसमा प्रतिक्रिया जनाए । तस्बिरसँगै निशाले क्याप्सन पनि लेखिन्— ‘केश खौरिएपछिको हरेक क्षण रमाइलो लागिरहेको छ । तपाईंको मनले जे चाहन्छ, त्यही गर्नुहोस्, तपाईं पनि रमाउनुहुनेछ ।’ निशाले केश खौरिनुपर्ने कारण खुलाउँदै भनेकी छिन्– ‘मैले आफ्नो केश बालबालिकाहरूका लागि विग (नक्कली केश) बनाउन दान गरेकी हुँ । मेरो केश पछि फेरि उम्रनेछ । तपाईंको केश तपाईंलाई जे मन लाग्छ गर्नुस् । त्यो तपाईंको केश हो । नट अ बिग डिल ।’

सुरजनीको डेब्यु

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुरजनी केसी सक्रिय मोडल हुन् । सुरजनीको परिचय मोडलका रूपमा मात्र छैन, उनी टेलिभिजनकर्मीसमेत हुन् । न्यूज २४ च्यानलमा सुरजनी विभिन्न कार्यक्रममार्फत दर्शकमाझ पुगिरहन्छिन् । म्युजिक भिडियो तथा टेलिभिजनमार्फत स्थापित भैसकेकी सुरजनी यतिबेला एक कदम अघि बढ्ने अभियानमा छिन् अर्थात् उनी अब चलचित्रमा नायिकाका रूपमा प्रस्तुत हुँदैछिन् । सुरजनी ऋषिराज आचार्यको चलचित्र ‘सपना तिम्रो मेरो’ मार्फत नायिकाको भूमिकामा डेब्यु गर्दैछिन् । साउन २२ गतेदेखि प्रदर्शनमा आउने यो त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा सुरजनीको भूमिकाका बारेमा निर्देशक आचार्यले केही बताएका छैनन् । निर्देशक शर्माले नायिका सुरजनीलाई समेत उनको भूमिका गोप्य राख्न निर्देशन दिएका छन्, त्यसैले पनि सुरजनी आफ्नो भूमिकाका बारेमा केही बताउँदिनन् ।

नन्दिता अमेरिका भासिन्नन् रे

नन्दिता केसी गत साता अमेरिकातर्फ लागेपछि नेपालमा अब उनी पनि उतै बस्ने हल्ला चर्कैसँग चल्यो । थुप्रै कलाकार अमेरिका पुगेर नफर्किएपछि हल्लाबाजहरूलाई हल्लाको खेती गर्ने अवसर त प्राप्त हुने नै भयो । फेरि यस्ता हल्लामा विश्वास नगर्ने आधार पनि कमै छ, किनभने अमेरिका जानेजति सबैले ‘म फेरि फर्कन्छु, केही दिनका लागि मात्र गएको हुँ’ भन्ने दाबी गर्दै आएका छन् तर फर्किएका छैनन् । यद्यपि आफ्ना बारेमा फैलाइएको हल्लाप्रति नन्दिताको गुनासो छ । नन्दिताले भनेकी छिन्—‘म यस्ता कुराको स्पष्टीकरण दिइरहन चाहन्नँ । म अमेरिकाबाट फर्किएपछि ती सबै कुरा आफैं असत्य सावित हुनेछन् ।’ हामी पनि चाहन्छौं, नन्दिताको भनाइ सत्य होस् । उनले आफ्नो अमेरिका मिसन सफलतापूर्वक सम्पन्न गरून् र नेपाल फर्किउन् अनि हल्लाबाजहरूको मुख टालियोस् ।

निर्देशकको अडिसन

निर्माता सुनिल रावलले आफ्नो आगामी चलचित्र ‘सायद टु’ का लागि निर्देशकको अडिसन लिने निधो गरेका छन् । ‘सायद’ निर्माता रावलले निर्माण गरेको सफल चलचित्र थियो । त्यही चलचित्रको सिक्वेलका रूपमा ‘सायद टु’ निर्माण गर्न लागेका रावल ‘होस्टल’को सफलतापछि सफल निर्माताको श्रेणीमा उभिएका छन् । दुई चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा युवा नायक–नायिका भित्र्याएका रावलले ‘होस्टल’बाट निर्देशक हेमराज बिसीलाई पनि स्थापित गरे । ‘सायद टु’ को निर्देशन गर्ने व्यक्तिले चलचित्र निर्देशन विधा अध्ययन गरेको हुनुपर्ने रावलको सर्त छ । ‘जो पनि निर्देशक भएर नेपाली चलचित्र माथि उठ्न सकेन, त्यसैले चलचित्रसम्बन्धी अनुभवी र अध्ययन गरेका युवा शक्ति निर्देशनमा आउनु जरुरी छ । त्यसैले अब अडिसनबाट निर्देशक छान्छौं,’ रावलको तर्क छ ।

स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *