ताजा खबर

कमेडी क्लब विद जितु नेपाल

२०७२  असार २५,

कलाकार जितु नेपाल पहिलो पटक स्ट्यान्ड–अप कमेडी शोमार्फत टेलिभिजनका दर्शकमाझ आउने भएका छन् । हाउस फर सी नेटवर्कले जितु नेपाललाई एक घण्टा लामो यो कार्यक्रममार्फत प्रस्तुत गर्ने घोषणा गरेको हो । नयाँ अवतारमा प्रस्तुत हुने कलाकार नेपालले कार्यक्रममार्फत दर्शकलाई हास्य–व्यंग्यमार्फत मनोरञ्जन प्रदान गर्नेछन् । कार्यक्रमको पहिलो सिजन १ सय भाग लामो हुने बताइन्छ । १ सय भागको प्रसारणपछि दर्शक प्रतिक्रियाका आधारमा कार्यक्रमको नयाँ अध्याय प्रारम्भ हुनेछ । नेटवर्कका अध्यक्ष तथा कार्यक्रमका निर्माता दीपेन्द्र खनियाँका अनुसार कार्यक्रमको पहिलो चरणमा स्टेज प्रहसनमार्फत देशका विभिन्न स्थानमा यो कार्यक्रमको छायांकन गरिनेछ । साउनको तेस्रो सातादेखि प्रसारण प्रारम्भ हुने यो कार्यक्रमका लागि यतिबेला स्टेज निर्माण भैरहेको छ । कार्यक्रममा कलाकार जितु नेपाललाई अन्य केही कलाकारले पनि साथ दिनेछिन् । मुम्बईमा ‘कमेडी विद कपिल’ शीर्षकको कपिल शर्माको कार्यक्रम बन्द हुन गैरहेको सन्दर्भमा जितु नेपालको यो नयाँ कार्यक्रमले दर्शकलाई नौलो स्वाद प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राजको बिदाइ

हास्य श्रृंखला ‘तीतो सत्य’ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको छोराको भूमिका निर्वाह गरिरहेका कलाकार राज आचार्य अब यो श्रृंखलामा देखिने छैनन् । लामो समयदेखि ‘राज’ कै भूमिकामा प्रस्तुत भएका राज उच्च शिक्षा अध्ययनका लागि भारत जानुपर्ने भएकाले ‘तीतो सत्य’ बाट बिदा लिएको निर्देशक दीपकराज गिरीले स्पष्ट पारेका छन् । चार्टर्ड एकाउन्टेन्सीको अध्ययनको तयारीमा रहेका राज गत शुक्रबार नै भारततर्फ प्रस्थान गरिसकेका छन् । राज भारत लागेपछि दीपकराजले उनीसँगको तस्बिर फेसबुकमा अपडेट गर्दै लेखेका छन्– ‘हामीले नजन्माएको तर हाम्रो छोरो, अब उसलाई ‘तीतो सत्य’मा देख्न पाउनुहुनेछैन । राज तिमीलाई म, दीपाजी र तीतोसत्यका लाखौं दर्शकले मिस गर्नेछौं ।’

जोगिन्दर पुरस्कृत

विभिन्न टेलिश्रृंखलामा हास्य कलाकारिता गर्दै आएका कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) लाई सरकारले युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत गरेको छ । टेलिभिजन कार्यक्रम ‘जोगिन्दरके पान की दुकान’ मार्फत प्रत्येक साता दर्शकमाझ एक–एक जना सेलिब्रेटीसँग रमाइलो कुराकानी गर्ने जोगिन्दर अन्य ३३ जना युवा प्रतिभासँगै पुरस्कृत भएका थिए । ५० हजार रुपैयाँ तथा प्रमाणपत्रसहितको यो पुरस्कार एउटा मात्र खुट्टाले नृत्य गर्ने नृत्यांगना रोमा न्यौपानेले पनि प्राप्त गरेकी छिन् ।

स्रोत : साप्ताहिक

Related posts