ताजा खबर

पशुपति प्रसाद

२०७२  असार २५, 

दीपेन्द्र के खनालको निर्देशनमा छायांकन प्रारम्भ भएको चलचित्र ‘पशुपति प्रसाद’ मा खगेन्द्र लामिछाने तथा वर्षा शिवाकोटी मुख्य भूमिकामा प्रस्तुत भएका छन् । लामिछानेकै कथामा निर्माण हुन लागेको यो चलचित्रमा वर्षाले रहस्यमय युवतीको भूमिका निर्वाह गर्दैछिन् ।

शाहलाई डायमण्ड

निर्देशक नीर शाहलाई ‘डायमण्ड शमशेर पुरस्कार’ प्रदान गरिने भएको छ  । डायमण्ड शमशेर साहित्यिक प्रतिष्ठानले राणाका कृतिमा चलचित्र निर्माण गरेर कृतिलाई लोकप्रिय बनाउन भूमिका निर्वाह गरेको भन्दै शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

बेलायतमा तीनघुम्ती

बाबुराम ढकालद्वारा निर्देशित चलचित्र ‘तीन घुम्ती’ को भदौ ५ गते बेलायतमा रेड कार्पेट प्रिमियर गरिने भएको छ । बेलायतमै बसोबास गर्ने चलचित्रका अभिनेता ध्रुव दत्तका अनुसार प्रिमियरपछि यो चलचित्र बेलायत तथा स्कटल्यान्डका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । चलचित्र तीनघुम्तीमा धु्रव दत्त, गरिमा पन्त, सुशान्त कार्की आदिले अभिनय गरेका छन् ।

बोर्डको वार्षिकोत्सव

चलचित्र विकास बोर्डले अघिल्लो बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षअघि सरकारद्वारा स्थापित बोर्डको वार्षित्कोत्सव समारोहमा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भएका विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई सम्मान गरिएको थियो । समारोहमा बोर्डका अध्यक्ष राजकुमार राईले बोर्डले चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने तथा अभिलेख तयार पार्ने काम थाल्ने बताए ।

दसैंमा अधकट्टी

सुव्रत आचार्यद्वारा निर्देशित चलचित्र ‘अधकट्टी’ दसैंको अवसर पारेर प्रदर्शन हुने निर्माता प्रदीपकुमार उदयले बताएका छन् । भूकम्पका कारण गत जेठमा प्रदर्शन हुन नसकेको यो चलचित्र कात्तिक ३ गतेदेखि मोफसलमा तथा कात्तिक ६ गतेदेखि काठमाडौंमा प्रदर्शन हुनेछ । चलचित्रमा गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बास्तोला, विल्सन विक्रम राई आदि कलाकारले अभिनय गरेका छन् ।

दूत बने हमाल

अभिनेता राजेश हमाललाई ‘बिल्डिङ ब्याक राइट’ शीर्षकको पुनर्निर्माण अभियानका लागि सरकारले पुनर्निर्माण सद्भाव दूत घोषणा गरेको छ । सद्भावना दूत हमालले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्ने स्वयंसेवकहरूलाई अभिप्रेरित गर्नेछन् ।

अनिलको कर्मा

निर्देशक अनिल संग्रौलाले ‘कर्मा’ शीर्षकको चलचित्र निर्देशन गर्ने घोषणा गरेका छन् । यो चलचित्रमा  आर्यन सिग्देल, जीवन लुइँटेल, नीता ढुंगाना, शर्मिला मल्ल आदि कलाकारले अभिनय गर्नेछन् ।

सरोज पनि उम्मेदवार

अभिनेता तथा टेलिभिजनकर्मी सरोज केसीले चलचित्र कलाकार संघको आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १५ वर्षअघि देखि अभिनयमा सक्रिय केसी विगत तीन वर्षदेखि संघको कार्यकारी सदस्य छन् ।

दर्पणछायाँ–२

निर्देशक तुलसी घिमिरेले ‘दर्पणछायाँ’ को सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन् । ‘दर्पणछायाँ–२’ शीर्षकमा निर्माण हुने यो चलचित्रमा दिलीप रायमाझी तथा उत्तम प्रधान मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । चलचित्रमा कथा, पटकथा, संवाद तथा लगानी पनि निर्देशक घिमिरेकै रहनेछ ।

मापदण्डको बहस

चलचित्र विकास बोर्डले असार १ गतेदेखि लागू हुने भन्दै चलचित्र मापदण्ड जारी गरेपछि चलचित्र क्षेत्रमा चर्को बहस प्रारम्भ भएको छ । बोर्डले चलचित्रकर्मीहरूलाई नै थाहा नदिइ मापदण्ड लागू गरेको बताउँदै त्यसको पक्ष तथा विपक्षमा चलचित्रकर्मीहरू बाँडिएका हुन् । बोर्डले नयाँ निर्माता तथा निर्देशकका लागि मापदण्ड ल्याएको बताएको छ । बोर्डको मापदण्ड कडाइका साथ लागू भए नयाँ व्यक्ति निर्माता बन्ने तथा अनुभवहीन व्यक्ति निर्देशक बन्ने क्रम रोकिने दाबी गरिँदैछ । बोर्डको नयाँ नियम अनुसार अब निर्देशक बन्नका लागि ५ वटा चलचित्रमा सह–निर्देशक तथा मुख्य सहायक निर्देशक भएर काम गरेको हुनुपर्ने बताएको छ भने निर्माता बन्नका लागि केही चलचित्रमा सहायक निर्माताका रूपमा काम गरेको हुनुपर्ने बताइन्छ ।

वीर विक्रम

निर्देशक मिलन चाम्सले नयाँ चलचित्रको शीर्षक ‘वीर विक्रम’ राखेका छन् । भदौ १ गतेदेखि छायांकन प्रारम्भ हुने यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही तथा दिया पुनको मुख्य भूमिका रहनेछ ।

नरेको प्रोमो

माओत्से गुरुङद्वारा निर्देशित नेपाली चलचित्र ‘नरे’ को प्रोमो सार्वजनिक भएको छ । हास्य प्रधान यो चलचित्रमा हङकङ जान इच्छुक गुरुङ समुदायका एक युवाको कथा चित्रण गरिएको छ । चलचित्रमा नरजंग गुरुङ, एलिशा गुरुङ तथा सबिना गुरुङ मुख्य भूमिकामा छन् ।

रेखाको संगीतमा राजेश

नायिका रेखा थापाको संगीतमा गायक राजेश पायलले गीत गाएका छन् । रेखाले नै निर्माण गर्न लागेको चलचित्र ‘रामप्यारी’का लागि राजेशले गीत गाएका हुन् । पहिलो पटक संगीतकारको परिचय बनाएकी नायिका थापा भने उक्त रेकर्डिङमा उपस्थित थिइनन् । अमेरिकामा रहेकी रेखाले राजेशलाई भाइबरमार्फत निर्देशन दिएको गायक राईले बताए ।

चक्रे तयार

एक्सन चलचित्र ‘चक्रे’ प्रदर्शनका लागि तयार छ । बिकु थोकरको निर्माणमा रञ्जित रानाले निर्देशन गरेको चलचित्र चक्रेका प्रस्तुतकर्ता रोहण श्रेष्ठ भन्छन्—‘दर्शकको एक्सन चलचित्र हेर्ने चाहना पूरा गर्न चक्रे निर्माण गरेका हौं । एक्सनका अतिरिक्त मायाप्रेमको कथा पनि समेटिएको यो चलचित्रमा रोहण श्रेष्ठ, विकु थोकर, सिर्जना थापामगर, सुनिता थापामगर आदिको मुख्य भूमिका छ ।

अमेरिकामै निर्देशन

निर्देशक श्याम भट्टराईले अमेरिकामै चलचित्र निर्देशन गर्ने घोषणा गरेका छन् । अमेरिकामा रहेका नेपालीहरूको सुखद तथा दु:खद पक्षलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको निर्देशक भट्टराईले बताएका छन् । केही महिनादेखि अमेरिकामै रहेका निर्देशक भट्टराईले निर्देशन गर्ने चलचित्रलाई नेपाल विश्व सहयोग संघले निर्माण गर्नेछ ।

स्रोत : साप्ताहिक

Related posts