ताजा खबर

रोयल अल्बर्ट हलमा नेपाली संगीत

२०७२ असार २५,

रोयल अल्बर्ट हल यस्तो हल हो जहाँ विश्वप्रसिद्ध फ्य्रांक सिनात्रा, लिजा मिन्नेली, जिमी हेन्ड्रिक्स, द बिटल्स, अस्कर पिटरसन, द हु, लेड जेप्पेलिन, इरिक क्ल्यापटन, स्टिङ एन्ड इल्टन जोनदेखि युवा पुस्ताका एडेल, जे जेड, केसर चिप्स र किल्लर्सजस्ता कलाकारले कन्सर्ट दिइसकेका छन् । बेलायतकी महारानी एलिजावेथ, सर विन्सटन चर्चिल, नेल्सन मण्डेला, दलाई लामा, अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनजस्ता विश्व नेतालाई पनि यो हलले आकर्षित गरिसकेको छ । महँगो शुल्क र पालो पाउनै तीन वर्षसम्म कुर्नुपर्ने भएकाले नेपालीको पहुँचबाहिर रहेको १ सय ४४ वर्ष पुरानो लन्डन साउथ केन्जिङटनस्थित रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरूले पहिलो पटक कन्सर्ट दिएर नयाँ इतिहास रचेका छन् ।

‘हामी नेपाली कलाकारका लागि त यो मन्दिर हो’, वरिष्ठ गायक दीप श्रेष्ठ स्टेजमा भनिरहेका थिए । उता कार्यक्रमका परिकल्पनाकार गायक योगेश्वर अमात्य पनि त्यस्तो हलमा कन्सर्ट गर्न पाउँदा गौरवान्वित थिए । ‘कार्यक्रम ऐतिहासिक मान्नुपर्छ’, अमात्यले प्रतिक्रिया दिए, ‘अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपाली संगीत गुञ्जँदा हामी त दंग छँदैछौं, यसबाट भावी पुस्तालाई समेत प्रेरणा मिल्नेछ ।’ अल्बर्ट हलमा उत्रने अर्का भाग्यमानी गायक थिए पप ‘लिजेन्ड’ ओमविक्रम विष्ट । करिब २ हजार ५ सय दर्शकबीच सम्पन्न उक्त च्यारिटी कन्सर्टमा सहभागी अन्य गायक–गायिका थिए– दीपक थापामगर, जेम्स प्रधान, सुजिल कर्माचार्य तथा तृष्णा गुरुङ । कन्सर्ट हेर्न स्कटल्यान्ड, पिटरबरो, लिड्स, हेस्टिङ, कर्नवाल आदि शहरबाट सयौं नेपाली ओइरिएका थिए ।

हेल्प नेपाल नेटवर्क यूकेले आयोजना गरेको ‘एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ शीर्षकको उक्त कन्सर्टका उद्घोषक सञ्चारकर्मी भूषण दाहालले अल्बर्ट हल कन्सर्टले नेपाली संगीत विस्तारको ढोका खुलेको बताएका छन् ।

स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *