ताजा खबर

‘जंगभूमि’ र ‘बाहुबली’

जंगभूमि

निर्देशक : संगीत कुमार
कलाकार : विराज भट्ट, रानी चटर्जी, करण केसी, दिव्या कार्की आदि ।

नेपाली तथा भोजपुरी भाषामा निर्माण भएको चलचित्र ‘जंगभूमि’ को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । नेपाल तथा भारतमा छायांकन गरिएको यो चलचित्रका प्रस्तुतकर्ता करण क्रेजी हुन् । सुशील कोइराला तथा झलकबहादुर स्याङताङले संयुक्त रुपमा निर्माण गरेको जन्मभूमि द्वन्द्वप्रधान चलचित्र हो ।

अभिनेता विराज भट्टका रोमाञ्चक द्वन्द्वका दृश्यले सजिएको यो चलचित्रमा दक्षिण भारतीय चलचित्रकी अभिनेत्री रानी चटर्जीले विराज भट्टसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । चलचित्रमा रानीलाई पनि द्वन्द्वका दृश्यमा प्रस्तुत गरिएको छ । काठमाडौंलगायत देशभरिका करिब ६० वटा सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रमा अभिनय गर्ने अधिकांश कलाकार नेपाली छन् भने बलिउडमा काम गरिसकेका केही चलचित्र कलाकारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नारीप्रधान भनिएको यो चलचित्रमार्फत हरेक छोरा–छोरीले आफूलाई जन्मदिने आमा–बुवाको सम्मान गर्नुपर्छ भन्ने सन्देश बोकेको छ । ‘बाबु–आमाको सम्मान नगर्नेको छाती चिरेर ज्यान लिन्छु’ चलचित्रमा अभिनेता भट्टले बोल्ने यो संवाद अहिले चर्चामा छ ।

बाहुबली

निर्देशक : एसएस राजामौली कलाकार : प्रभास, राणा दाग्गुबती, अनुष्का शेट्टी तथा तमन्ना भाटिया । संगीतकार : एमएम करीम

तेलुगु भाषामा निर्माण भए पनि हिन्दीमा स्वरांकन गरिएको चलचित्र ‘बाहुबली’ आज शुक्रबारदेखि नेपालमा समेत प्रदर्शन हुनेछ । ऐतिहासिक कथालाई आजको परिवेशमा चित्रण गरिएको यो चलचित्रमा अभिनेता प्रभासले बाहुबलीको भूमिका निर्वाह गरेका छन् । द्वन्द्व प्रधान यो चलचित्रका लागि अभिनेता प्रभास तथा राणाले घोडसवारीको लामो प्रशिक्षण लिनुपरेको बताइन्छ । तरबारसहितको लडाइँको दृश्यका लागि समेत कलाकारहरूले कठोर प्रशिक्षण लिएका थिए । डरलाग्दा दृश्य तथा लोकेसन खोज्न चलचित्रको छायांकनमै लामो समय लागेको थियो । चलचित्रका संवाद पुराना महाकाव्यबाट प्रभावित छन् । यो चलचित्रलाई ऐतिहासिक स्वरूप प्रदान गर्ने क्रममा पुरानो शैलीको संवाद समावेश गरिएको छ भने लडाइँको एउटा दृश्यका लागि प्राविधिक पिटर हेनले २ हजार मानिस तथा हतियारहरू सँगसँगै देखाउन सफलता पाएका छन् । १ सय ६० करोड भारुको लागतमा बनेको यो चलचित्रलाई भारतकै सबैभन्दा महँगो पीरियड शैलीको चलचित्र भनिएको छ । चलचित्रमा करिब ४ हजार ५ सय वटा भिएफएक्स अर्थात भिजुअल इफेक्ट समावेश गरिएको छ, जुन बलिउडका ‘कृष’ तथा ‘रा–वन’ को तुलनामा अत्यधिक बढी हो ।

स्रोत  : साप्ताहिक

Related posts