ताजा खबर

एसएलसी सौन्दर्य प्रतियोगितामय साता

२०७२ असार २५,

मिस टिन एसएलसीमा ओजस्वी

असार १६ गते सम्पन्न मिस टिन एसएलसी–२०१५ को उपाधि ओजस्वी कोइरालाले जितेकी छिन् । २२ जना छात्राले सहभागिता जनाएको यो प्रतियोगिताको आयोजना स्टार वन इन्टरटेनमेन्टले गरेको हो, जसमा कोइरालाले मुख्य उपाधिसहित बेस्ट हेयरको एवार्ड पनि प्राप्त गरेकी थिइन् । प्रतियोगितामा फस्र्ट रनर्सअप घोषित रोजिता महर्जनले बेस्ट स्पिचको एवार्ड पनि प्राप्त गरिन् भने मोस्ट पपुलर विधाको एवार्डसहित रिना तामाङ सेकेन्ड रनर्सअप र बेस्ट पर्सनालिटीसहित जेनिफर तामाङ थर्ड रनर्सअप तथा बेस्ट फिगरको एवार्ड सहित नमुना गिरी फोर्थ रनर्सअप घोषित भए ।

सगुन र अधिराजलाई उपाधि

असार १८ गते बिहीबार सम्पन्न नेपाल्स मिस एसएलसी अफ द इयर तथा मिस्टर एसएलसी–२०१५ मा क्रमश: सगुन अर्याल एवं अधिराज मल्ल विजेता घोषित भए । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको ती दुवै प्रतियोगितामा २३ छात्रा तथा १२ छात्र सहभागिता थियो ।

मिस एसएलसी अफ द इयर–२०१५ को उपाधिसँगै सगुन अर्याल ट्यालेन्ट र मस्ट पपुलर विधातर्फ पनि पुरस्कृत भइन् । प्रतियोगितामा ओजस्वी ढकाल बेस्ट पर्सनालिटीसहित फस्ट रनर्सअप, प्रतीक्षा खनाल मस्ट क्रिएटिभसहित सेकेन्ड रनर्सअप घोषित भए । प्रतियोगितामा मिस फेसन आइकनसहित प्रियसा हमाल ठकुरी थर्ड रनर्सअप तथा मस्ट क्रिएटिभ एवार्डसहित प्रशंसा दाहाल फोर्थ रनर्सअप चुनिए ।

उता बेस्ट फिजिक, फेसबुक च्वाइस एवार्डसहित अधिराज मल्लले उपाधि जितेको मिस्टर एसएलसी–२०१५ मा बेस्ट फिटनेस र बेस्ट स्पिचको एवार्डसहित दीपेन्द्र कार्की फस्र्ट रनर्सअप घोषित भए भने मिस्टर फोटोजेनिकको एवार्डसहित रोहित खड्गी सेकेन्ड रनर्सअप घोषित भए ।

रुहिना र प्रितमलाई सफलता

असार १८ गते सम्पन्न मिस एसएलसी नेसनल–२०१५ मा रुहिना थापामगर तथा मिस्टर एसएलसी नेपाल–२०१५ मा प्रितम श्रेष्ठले सफलता प्राप्त गरे । युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित गरेको यो प्रतियोगितामा २५ छात्रा तथा १७ छात्र सहभागी थिए । मिस एसएलसी नेसनल–२०१५ की विजेता रुहिना थापामगरले मस्ट पपुलर तथा फोटोजेनिक विधामा पनि कब्जा जमाएकी थिइन् । प्रतियोगितामा रोजिना रायमाझी फस्र्ट रनर्सअप तथा मिस कन्जिनियालिटी एवार्डसहित नम्रता अधिकारी सेकेन्ड रनर्सअप घोषित भए ।

उता मिस्टर एसएलसी नेपाल–२०१५ मा सफलता पाएका प्रितम श्रेष्ठले कन्जिनियालिटी एवार्डसमेत प्राप्त गरे । प्रतियोगितामा अमन श्रेष्ठ फस्ट रनर्सअप भए भने अनिश दाहाल म्यानेजमेन्ट च्वाइस एवार्डसहित सेकेन्ड रनर्सअप घोषित भए ।

एसएलसी प्रिन्सेसमा अन्जु

असार १९ गते सम्पन्न पाँचौं संस्करणको एसएलसी प्रिन्सेस प्रतियोगिताको उपाधि अन्जु भण्डारीले जितेकी छिन् । ४८ जना छात्रा सहभागी यो प्रतियोगिताको आयोजक सिजन मिडिया थियो । अन्जु भण्डारीले उपाधिसहित  स्कुटर प्राप्त गरिन् । प्रतियोगितामा तेजस्वी कोइराला फस्ट रनर्सअप तथा डिस्टिङसन एवार्डसँगै शुद्धता थापा सेकेन्ड रनर्सअप घोषित भए । यसैगरी मिस पपुलर एवार्डसँगै सुवानी कर्माचार्य थर्ड रनर्सअप तथा मिस पर्सनालिटी र मिस फ्रेन्डसिप विधाको एवार्डसहित सिमरन श्रेष्ठ फोर्थ रनर्सअप घोषित भए ।

मिस एसएलसी–२०१५ मा वर्षा

असार १९ गते सम्पन्न मिस एसएलसी–२०१५ मा पर्सनालिटी विधाको एवार्ड सहित वर्षा महर्जनले बाजी मारेकी छिन् । वन्दना कला केन्द्रले आयोजना गरेको प्रतियोगिताको यो चौथो संस्करणमा १७ जना छात्रा सहभागी थिए । प्रतियोगितामा ट्यालेन्ट एवार्डसहित सान्त्वना राई फस्ट रनर्सअप तथा बेस्ट स्किन उपाधिसँगै नयनतारा राई सेकेन्ड रनर्सअप, बेस्ट डिस्टिङसनसहित निस्ता सिग्देल थर्ड रनर्सअप तथा लिडरशिप एवार्ड सहित एन्जिसा शाही फोर्थ रनर्सअप घोषित भए ।

मिस एसएलसी आइडलमा गुल श्रेष्ठ

असार १९ गते सम्पन्न दोस्रो संस्करणको मिस एसएलसी आइडल–२०१५ मा गुल श्रेष्ठ अब्बल ठहरिएकी छिन् । गुलले पर्सनालिटी विधाको एवार्डसहित मिस एसएलसी आइडल–२०१५ को उपाधि प्राप्त गरेकी हुन् । प्रतियोगितामा फ्रेन्ड्ली विधाको एवार्डसहित बीबीका कोइराला फस्ट रनर्सअप तथा ट्यालेन्ट विधाको एवार्डसहित नीकिता लामा सेकेन्ड रनर्सअप घोषित भए । १० जना प्रतिस्पर्धी रहेको यो प्रतियोगिता ट्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो ।

चलचित्रकर्मीहरूको उपस्थिति

असार १६ गते सम्पन्न मिस टिन एसएलसीमा अभिनेता सरोज खनाल र चलचित्र अलविदाकी अभिनेत्री अनिता आचार्य निर्णायकको भूमिका थिए भने असार १७ गते सम्पन्न मिस एसएलसी अफ द इयर तथा मिस्टर एसएलसी–२०१५ प्रतियोगिताको निर्णायक प्यानलमा अभिनेता रमेश उप्रेती, अभिनेत्री झरना थापा, चलचित्र निर्माताद्वय सुनिलकुमार थापा र पूनम गौतम तथा कलाकार शिवहरि पौडेल थिए । असार १८ गते सम्पन्न मिस एसएलसी नेसनल तथा मिस्टर एसएलसी नेपाल–२०१५ को निर्णायक मण्डलको आकर्षण थिइन्— अभिनेत्री केकी अधिकारी । अधिकारीका साथ अभिनेत्री सुरक्षा पन्त, अभिनेता हसन राजा खान, चलचित्र निर्देशक गणेश देव पाण्डे निर्णायक मण्डलका सदस्य थिए । असार १९ गते सम्पन्न एसएलसी प्रिन्सेस्–२०१५ मा चलचित्र निर्माता, निर्देशक एवं अभिनेता आकाश अधिकारी तथा ब्याङ्कर रविना देशराज श्रेष्ठ निर्णायक थिए ।

अडिसनमय शनिबार

असार १९ गते शनिबार आधा दर्जन सौन्दर्य र फेसनसँग सम्बन्धित कार्यक्रमको अडिसन सम्पन्न भएको छ । अडिसन भएका कार्यक्रममा मोडल हन्ट–२०१५, एन भोग–२०१५, मिस टिन–२०१५ तथा प्लस टु सुन्दरी छन् ।

मोडल हन्ट–२०१५ मा ७० जना

नेक्स्ट मोडल्स नेपालले आयोजना गर्ने ‘मोडल हन्ट नेपाल–२०१५’ प्रतियोगिताको फाइनल अडिसनबाट ७० जना छनौट भएका छन् । अडिसनमा फेसन डिजाइनर विश्व गौतम, बैंकर रविना देशराज श्रेष्ठ एवं पूर्व मिस्टर नेपाल डा. आयुष्मान घिमिरे उपस्थित थिए । प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित चलचित्र, म्युजिक भिडियोलगायत मोडलिङ क्षेत्रमा विभिन्न अवसरहरू प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउन २३ गते सम्पन्न हुनेछ ।

एन भोग–२०१५ को अडिसन

रनवे मोडल बन्न चाहने युवा–युवतीमा लक्षित फेसन शो तथा मोडल प्रतिस्पर्धा एन भोग–२०१५ को आयोजना हाउस अफ फेसनले आयोजना गर्दैछ । यो कार्यक्रमका लागि सयभन्दा बढी युवा–युवतीले आवेदन दिएका थिए । उक्त अडिसनमा मोडल ओसिमा बानु, फेसन डिजाइनर तेन्जिङ छितेन भुटिया, कोरियोग्राफर बिपिन गुरुङ तथा मिस ग्लोबल इन्टरनेसनल–२०१२ नीलम चन्द निर्णायकका रूपमा उपस्थित थिए ।

मिस टिन–२०१५

गत शनिबार नै मिस टिन–२०१५ को पनि अडिसन सम्पन्न भएको छ । द फेसन प्लसले आयोजना गर्नेे पाँचौ संस्करणको मिस टिन प्रतियोगितामा सहभागिता लागि तीन दर्जनभन्दा बढी युवतीले अडिसन दिएका थिए । सहभागीहरूको मूल्यांकनका लागि संचारकर्मीद्वय निर्णय श्रेष्ठ र तेन्डुप शेर्पा, ब्युटिसियन स्वस्तिका राजभण्डारी तथा कोरियोग्राफर रोजिन शाक्य उपस्थित थिए ।

प्लस टु सुन्दरीको अडिसन

युहान इन्टरनेसनल इभेन्ट्सले प्लस टु अध्ययनरत युवतीहरूमा लक्षित गर्दै आयोजना गर्ने दोस्रो संस्कारणको मिस प्लस टु नेपाल–२०१५, स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्ने मिस टिन प्लस टु–२०१५ तथा एएनपी मिडियाले आयोजना गर्ने मिस प्लस टु आइकन–२०१५ को पनि अडिसन सम्पन्न भएको बताइएको छ ।

स्रोत  : सपताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *