ताजा खबर

एल्बम बिक्रीमा कीर्तिमान  

२०७२ ,असार २५,

केही साताअघि मात्रै अमेरिकी जाइन्ट कम्पनी एप्पलसँग पैंठेजोरी खेलेर चर्चामा आएकी अमेरिकी पप गायिका टेलर स्विफ्ट यतिबेला भने सर्वाधिक छिटो एल्बम बिक्री गराउन सफल भएकी छन् । गतवर्षको अक्टोबरमा रिलिज गरिएको उनको एल्बम ‘१९८९’ ले नयाँ इतिहास रचेको हो । उक्त एल्बमले अमेरिकामा सर्वाधिक छिटो ५० लाख बढी प्रति बिक्रीको रेकर्ड बनाएको हो । उक्त एल्बमले रिलिजको पहिलो सातामै झन्डै १३ लाख बिक्री भएर गतिलो बिक्रीको छनक देखाइसकेको थियो ।

त्यसो त स्विफ्टका लगातार तीन एल्बमले रिलिजको पहिलो सातामै १० लाख बढी प्रति बिक्रीको रेकर्ड बनाइसकेका छन् । ‘१९८९’ एल्बम गतवर्ष पनि अमेरिकी बजारमा सबैभन्दा बढी बिक्री हुनेमा परेको थियो भने यसपटक उक्त एल्बम अमेरिकी बजारमा दशकयताकै सर्वाधिक छिटो ५० लाख बिक्री भएको हो । ३६ साताभित्रमा ‘१९८९’ विश्वव्यापी रूपमा भने ८६ लाख बढी बिक्री भइसकेको छ ।

संगीत बजारमा टेलर अत्यधिक सफल गायिका मानिन्छिन् । उनका सबै एल्बमले व्यापारिक सफलता हात पारेका छन् । ५० लाख बिक्री पुग्ने उनका एल्बममा ‘१९८९’ तेस्रो हो । यसअघि सन् २००८ मा रिलिज भएको ‘फिअरलेस’, २००६ मा आएको डेब्यु एल्बमले बिक्रीमा क्रमश: ७० लाख र ५५ लाख प्रति पार गरिसकेका छन् । टेलर स्विफ्टले अडेलीको ‘२१’ एल्बमको सर्वाधिक छिटो ५० लाख बिक्रीको रेकर्डलाई तोडेकी हुन् । यसअघि ‘२१’ ले ५० लाख बिक्रीको कोसेढुंगा ४२ सातामा पूरा गरेको थियो । त्यसैगरी उनको म्युजिक भिडियो ‘ब्ल्याक स्पेस’ ले पनि यसै साता सर्वाधिक छिटो एक अर्ब हेरिएको रेकर्ड बनाएको छ ।

स्रोत : कान्तिपुर

Related posts