ताजा खबर

स्थगित राष्ट्रिय लिग भदौंमा  

काठमाडौं, २०७२ असार २५,

पटकपटक स्थगित हुँदै आएको रेडबुल राष्ट्रिय लिग फुटबल आगामी भदौ १८ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा सहभागी नौ क्लबको बिहीबार बसेको बैठकले राष्ट्रिय लिग भदौ १८ गतेबाट सुरु गर्ने निर्णय लिएको हो।

एन्फा अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको बैठकमा लिगमा सहभागी नौवटै क्लबका प्रतिनिधिको उपस्थिति थियो। पहिलो पटक होम एन्ड अवेका आधारमा आयोजना गरिएको लिग यसअघि माघ ७ गते सुरु भएको थियो।

बीचमा विश्वकप—२०१८ को प्रारम्भिक छनोट र एसिया कप छनोटका कारण राष्ट्रिय लिग एक महिना स्थगित भएको थियो। त्यसपछि पुनः सञ्चालन गरिएको लिग वैशाख १२ गतेको भूकम्पका कारण फेरि रोकिएको थियो। राष्ट्रिय लिगमा सञ्चालन हुने कुल ७२ मध्ये ३२ खेल सकिएको छ। अब ४० खेल बाँकी रहेकोले दसैंअगाडि नै सकिने गरी लिग सञ्चालन गर्ने सहमति एन्फा र सहभागी क्लबबीच भएको छ । एन्फाका अनुसार लिग असोज ३० गते सम्पन्न हुनेछ।

भूकम्पका कारण कतिपय क्लबका विदेशी खेलाडी फर्किएकाले क्लबले विदेशी खेलाडीको स्थानमा अन्य खेलाडीलाई राख्न सकिने सहमति पनि भएको छ।

यसअघि राष्ट्रिय लिगका लागि महत्‍पूर्ण भूमिका निर्वाह गरेका एन्फाका कार्यवाहक अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको सपना साकार पार्नका लागि पनि लिग सञ्चालन गरिनुपर्ने धारणा सहभागी क्लबका प्रतिनिधिले राखेका थिए।

लिगमा सहभागी नौमध्ये अधिकांश क्लबले आठ खेल खेलिसकेका छन्। आठ खेल सकेको झापा एघार १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। यसैगरी सात खेल सकेको विभागीय टोली एपीएफ क्लब १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको आर्मीले सात खेलबाट ११ अंक जोडेको छ। चौथो स्थानमा आसिन साबिक विजेता थ्रीस्टारले ६ खेलबाट ११ अंक बटुलेको छ। ६ खेलबाटै ११ अंक बनाएको मनाङ मस्र्याङ््दी क्लब गोलअन्तरका आधारमा पाँचौं स्थानमा छ।

यसैगरी नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चल क्लबले सात—सात अंक जोडेका छन्। तालिकाको पुछारमा रहेका मोरङ फुटबल क्लब र लुम्बिनी फुटबल क्लबले चार—चार अंक जोडेका छन्। लिगका खेलहरू यसअघि दशरथ रंगशाला, झापा, मोरङ, रूपन्देही र कैलालीमा खेलाइएको थियो।

कुल पाँच करोड ७५ लाख रुपैयाँ लगानीमा सञ्चालन भएको लिगको विजेताले एक करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ हात पार्नेछन्। उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकले समेत आकर्षक पुरस्कार हात पार्नेछन्।एन्फाले सहभागी टोलीलाई तयारी खर्च स्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *