ताजा खबर

लगानी भित्र्याउन मुम्बई सम्मेलन

मुम्बई, २०७२ असार २५,

राजनीतिक र सामाजिक क्षेत्रमा अन्योल तथा अस्थिरता हटिसकेको अवस्थामा नयाँ नेपालको निर्माण गर्न भारतीय लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न सक्ने विज्ञले जनाएका छन् ।

विशेषत: गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि पर्यटकीय बजारले ब्युँतन चाहिरहेको र पुनर्निर्माणको क्षेत्रमा समेत जतिसक्दो लगानी आवश्यक देखिएको सन्दर्भमा भारतीय उद्योग वाणिज्य निकाय फिक्की र नेपाली दूतावासको आयोजनामा मुम्बईस्थित विभिन्न क्षेत्रका उद्यमीमाझ बिहीबार सम्मेलन गरिएको हो । ‘नेपालको पर्यटन जगत अझै उस्तै उर्वर छ, उत्साहप्रद छ,’ राजदूत दीपकुमार उपाध्यायले नेपालमा ब्यापार तथा लगानी सम्भावना बारेको होटल ताजमहलमा आयोजित सम्मेलनमा भने, ‘जलविद्युत्, सडक र निर्माणका थुप्रै क्षेत्रमा फाइदाजनक लगानीका अवसर देखिएको छ । निकटस्थ छिमेकी र सधैं सहयोगीका रूपमा हामी मुम्बईमा लगानी प्रवद्र्धनको नारा लिएर छलफल गर्न आएका हौं ।’

उद्यमी विनोद चौधरीले नेपाल ठूलो प्राकृतिक विपत्तिको क्षणबाट गुज्रिए पनि पर्यटकीय सम्भावना र विभिन्न क्षेत्रमा लगानीको अवसर अझ टडकारो बनेर सामुमा आएको बताए । ‘यो घडीमा सहयोग गर्ने हो भने नेपाल भ्रमणमा जानुहोस्,’ चौधरीले आग्रह गर्दै भने, ‘थप साथ सहयोग गर्ने हो भने नेपालको कुनै क्षेत्रमा लगानी गर्नुहोस्, सेवा, सुरक्षा र अवसरको ग्यारेन्टी दिनेछौं ।’

आफूलाई विदेशमा घुमघाम गरिरहेका बेला अधिकांशले ‘के नेपाल सुरक्षित छ ?’ भनेर सोध्ने गरेको प्रसंग निकाल्दै फोर्वको अर्बपतिको सूचीमा रहेको चौधरीले भने, ‘चाहेमा म संसारको जुनसुकै ठाउँमा पनि बस्न सक्छु तर नेपालमै बस्न रुचाउँछु’ भनेपछि सुरक्षाको प्रश्न ओझेलमा पर्ने गरेको अनुभव सुनाए । नेपाली राजनीतिमा ९९ प्रतिशत दल र तिनका नेता संविधान निर्माणको सहमतिमा उभिएको अहिलेको सन्दर्भमा व्यापारी तथा उद्यमी वर्गका लागि सबैभन्दा सकारात्मक र उत्साहवद्र्धक रहेको उनले बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले राजनीतिक स्थिरता आएपछि र अब संविधान जारी हुने अन्तिम चरणमा रहेको नेपालमा लगानी गर्ने वातावरण सबै लगानीकर्ताका लागि एउटा अवसरका रूपमा आएको बताए । उनले भारतसँग विद्युत् खरिद सम्झौता भएपछि र जलविद्युतका थुप्रै परियोजना अन्तिम चरणमा पुगेको उदाहरण दिँदै लगानीको प्रक्रियामा रहेको जटिलता हटाउँदै नेपाल सरकारले थप सहजीकरणको उपाय पहिल्याइसकेको धारणा राखे । नेपाल राष्ट्र बैंकक डिपुटी गभर्नर गोपालप्रसाद काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा र नेपाली दूतावासका मिनिस्टर इकोनमिक ढुण्डीराज पोखरेलले पनि नेपालमा रहेको उपयुक्त लगानी माहोल तथा अवसरबारे धारणा राखेका थिए । नेपाल पर्यटन बोर्डकी बजार अधिकृत उज्जला दली, फिक्कीका पूर्वअध्यक्ष सुशील जिवाराज्काले नेपालमा हालै आएको प्राकृतिक विपत्तिपछि पुनर्निर्माण अपरिहर्य रहेको र यो बेला नेपाललाई साथ/सहयोग गर्नेहरूको कमी नरहेको बताए ।

स्रोत  : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *