ताजा खबर

रुसमा मोदी–सरिफ भेट्ने 

एजेन्सी नयाँदिल्ली, २०७२  असार २५,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफ शुक्रबार रुसको उफामा भेट्दै छन् । उनीहरू उफामा आयोजित संघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुँदै छन् । त्यो सम्मेलनमा सहभागी भएपछि उनीहरूबीच द्विपक्षीय वार्ता हुनेछ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मोदी–सरिफ भेटको पुष्टि गरेका छन् । उनले बिहीबार ट्विट गरे, ‘पिएम नरेन्द्र मोदीको पिएम सरिफसँग शिखर सम्मेलनबाहेकै पनि भेट हुने पुष्टि भएको छ ।’ इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता काजी खलिलुल्लाहले पनि द्विपक्षीय भेटमा महत्त्वपूर्ण मुद्दामा वार्ता हुने जानकारी दिएका छन् । उनले यी दुई नेताको भेटले दुई देशको सम्बन्ध सुधारमा सकारात्मक असर पर्ने दाबी गरेका छन् ।

खलिलुल्लाहले पाकिस्तानले छिमेकी देशसँग राम्रो सम्बन्ध चाहेको र त्यो वार्ताको माध्यमबाट मात्र सम्भव भएको बताएका छन् । ‘पाकिस्तान सधैँ छद्मयुद्धको विरोधमा छ र छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छ,’ उनले भने, ‘सबै विवाद वार्ताका माध्यमबाट समाधान होस् भन्ने पाकिस्तानी चाहना छ ।’ मोदी–सरिफबीचको यो भेटघाटलाई दुई देशको सम्बन्ध सुधारमा ठूलो प्रयासका रूपमा लिइएको छ । भेटघाटमा दुवै नेताले दुई देशबीचको सम्बन्ध सुधारका लागि प्रयास गर्ने र आर्थिक–सामाजिक विकासमा एक–अर्कालाई सहयोग गर्ने विषयमा वार्ता गर्ने अनुमान छ ।

यसअघि एक वर्षभन्दा पहिले यी दुई नेताबीच द्विपक्षीय वार्ता भएको थियो । त्यसपछि विभिन्न ठाउँमा जम्काभेट भए पनि यी दुई नेता एक–अर्कासँग वार्तामा बसेका थिएनन् । २७ मे २०१४ मा मोदीले भारतका प्रधानमन्त्रीका रूपमा शपथ लिँदा सरिफ नयाँदिल्लीमा कार्यक्रममा सहभागी भएका थिए । भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागी हुने उनी पहिलो पाकिस्तानी प्रधानमन्त्री थिए । त्यतिवेला मोदीले सरिफसहित दक्षिण एसियाली देशका प्रमुखलाई शपथ ग्रहणमा निमन्त्रणा गरेका थिए । तर, पछि पाकिस्तान भ्रमणका लागि सरिफले दिएको निम्तोलाई मोदीले अस्वीकार गरेका थिए । त्यसपछि पनि मोदी र सरिफबीच बारम्बार जम्काभेट भयो । तर, आपसी बातचित भएन । गत सेप्टेम्बरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको आमसभा र काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनमा यी दुई नेता आमनेसामने भएका थिए ।

रुसको उफामा ब्राजिल, रुस, भारत, चीन तथा दक्षिण अफ्रिका (ब्रिक्स) को सम्मेलन बिहीबारबाट सुरु भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसको आयोजना गरेका हुन् । मोदी रुससहित अन्य ६ देशको यात्रामा छन् भने सरिफ यही सभामा भाग लिन रुस पुगेका हुन् । यता, दिल्लीमा मोदीलाई राहुलका तीन प्रश्न १.तपाईंले राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजेमाथि किन कारबाही गर्नुभएको छैन ? किन उनलाई भ्रष्टाचार गर्न दिइरहनुभएको छ ? अनि सुषमा स्वराजलाई ? २.मुद्दा लागेका ललित मोदीलाई तपाईंहरूले सहयोग गरेको पुष्टि भएको छ । किन उनलाई भारत फिर्ता बोलाउन सक्नुभएको छैन ? ३.व्यापम् घोटालामा मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहान जोडिएका छन् ।

उनलाई किन संरक्षण भइरहेको छ ? भाजपाले उनलाई किन खेलबाड गर्न दिइरहेको छ ? भारतीय कंग्रेस उपाध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई दिएको वाचा पूरा नगरेको आरोप लगाएका छन् । मोदीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा गरेको स्मरण गराउँदै राहुलले भने, ‘अहिले कहाँ छन् मोदी ? कहाँ गए उनले गरेका वाचा ?’ मोदीले आफ्नो वाचाको उल्लंघन मात्र नगरेर भारतमा भ्रष्टाचार तथा अवैधानिक कामलाई प्राथमिकता दिएको राहुलले आरोप लगाएका छन् । ‘मोदीजी, तपाईंले जनतासँग वाचा गर्नुभएको थियो– न खाइनेछ न खान दिइनेछ । प्रधानमन्त्रीजी, तपाईंले शब्दको वजन राख्नुपर्ने हो । तर, अहिले किन त्यस्तो भइरहेको छैन ?’ राहुलले ललित मोदीको विषयलाई लिएर नरेन्द्र मोदीसामु तीन प्रश्न पनि राखेका छन् । ती प्रश्नको उत्तर कंग्रेसले मात्र नभएर सम्पूर्ण भारतीय जनताले खोजेको उनको दाबी छ । उनले ललित मोदी मुद्दामा नाम जोडिएका विदेशमन्त्री सुषमा स्वराज, राजस्थानकी मुख्यमन्त्री वसुन्धरा राजेलाई किन सरकारले कुनै कारबाही नगरेको भन्ने प्रश्न तेस्र्याएका छन् ।

त्यस्तै, राहुलले ललितलाई किन फिर्ता नबोलाइएको भन्ने प्रश्न पनि राखेका छन् । शिवराज चौहानमाथि कारबाही किन नभएको र उनलाई किन भ्रष्टाचार गर्न दिइएको छ भन्ने प्रश्न पनि राहुलले तेस्र्याएका छन् । उता, भाजपाले राहुलका प्रश्नको उत्तर दिएको छ । भाजपा नेता सहनबाज हुसैनले भनेका छन्, ‘उनका प्रश्न कुनै तर्कसंगत छैनन्, राहुल जहाँ पनि खाने विषय मात्र देखिरहेका छन् । तर, अहिले त्यस्तो छैन ।’

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *