काठमाडौ, २०७२ असार २५,
टेबलटेनिस खेलाडी नविता श्रेष्ठ समूह चरणका एक खेल बाँकी छँदै दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८ औं समर युनिभर्सियाड गेम २०१५ मा बिहीबार वुमेन्स सिंगल्सको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
नेपाली नम्बर १ महिला खेलाडी नविताले ‘ग्रुप–२२’ मा अल्जेरियाकी नासरी यासमिनलाई ११–८, ११–७ र ११–९ ले पराजित गर्दै समूह चरण पार गरेकी थिइन् । त्यसअघि नविताले सेरा लियोनकी कामारा फत्माटा विन्टुबाट वाकओभर पाएकी थिइन् । समूह चरणको अन्तिम खेलमा नविताले शुक्रबार माल्दोभाकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
महिला सिंगल्समा अर्की नेपाली खेलाडी अनिता महर्जनले भने लगातार दुई खेलमा हार बेहोरेकी छन् । रोमानियाकी इस्ट्राटे रोक्सानासँग ३–११, २–११ र ४–११ ले पराजित भएकी उनले अर्को खेलमा २–११, ३–११ र ३–११ ले इस्टोनियाकी सेटोन क्रिस्टिनालाई नतिजा सुम्पेकी थिइन् ।
पुरुष सिंगल्समा नं.१ दीप साउनले पनि जित हात पारेका छन् । उनले अल्जेरियाका तेफही मोहम्मद अनिशमाथि ११–६, ११–४ र ११–५ को जित दर्ता गरे । यही स्पर्धाको अर्को खेलमा ज्याकी महर्जनले अल्जेरियाकै अली मोहम्मदलाई ११–८, ११–६ र ११–६ ले पराजित गरेका थिए । पुरुष सिंगल्समै आशिष अवाले, विनेश खनियाा र अभयराज श्रेष्ठले भने हार बेहोरेका छन् । त्यस्तै, पौडी खेलाडी जित्वेली महर्जनले ५० मिटर फ्रि–स्टाइल ३२ औं स्थानमा रहेर टुंग्याएकी छिन् । ३३ खेलाडी सहभागी यसमा उनले ३६.२८ सेकेन्डमा दूरी पार गरेकी थिइन् । अन्तिम स्थानमा युगान्डाकी खेलाडी रहेकी थिइन् ।
स्रोत : कान्तिपुर