ताजा खबर

ग्रिक प्रधानमन्त्रीको वाचा “विश्वसनीय सुधार”  

एथेन्स, २०७२ असार २५,

प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले युरोपेली संसद्मा ग्रिसको आर्थिक सुधारका लागि प्रस्ताव पेस गरेका छन् । उनले यो प्रस्ताव विश्वसनीय र व्यावहारिक आर्थिक सुधारको योजना भएको दाबी गरेका छन् । ग्रिसमा विश्वसनीय आर्थिक सुधार गर्न चाहेको उनले बताएका छन् । तर, प्रस्तावमा के–के छन् भन्ने उनले उल्लेख गरेका छैनन् । त्सिप्रासले ल्याएको यो प्रस्ताव शनिबार युरोजोनका सदस्यले हेर्नेछन् र खुलासा गर्नेछन् । आइतबार युरोपेली संघका पूरै २८ सदस्यीय देशको विशेष बैठक बस्दै छ । त्यो बैठकमा ग्रिसको प्रस्तावमाथि छलफल हुनेछ । यस अर्थमा अहिले ग्रिसलाई पाँच दिन समय दिइएको विश्लेषण गरिएको छ । यो निर्णय गत मंगलबार बसेको युरोजोनका अर्थमन्त्रीको बैठकले गरेको हो ।

त्यस्तै, ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रासले युरोपेली संघलाई युरोपलाई समूह–समूहमा बाँड्नबाट जोगाउन अपिल गरेका छन् । युरोपेली संसद्मा चर्को बहसबीच एलेक्सिसले भने, ‘हामीले युरोपलाई बाँडिनबाट जोगाउनुपर्छ ।’ बुधबार युरोपेली संसद्मा भएको बहसमा एलेक्सिसले केही उग्र विचारको पनि सामना गर्नुपरेको थियो । उनीमाथि कडा प्रश्न पनि गरिएका थिए । उता, जर्मन सदस्य मेनफ्रेड वेबरले एलेक्सिसले आफ्ना मतदातालाई छायामा राखेको र उनीहरूको भरोसा तोडिरहेको आरोप लगाएका छन् । ग्रिक सरकारले भने तत्काल देशमा कुनै खाद्य संकट नभएको जनाएको छ । खाने तेल र अन्य खाद्यान्नको आपूर्ति भइरहेको सरकारले जनाएको छ । तर, ग्रिक सरकारले देशका सबै बैंक आगामी सोमबारसम्म बन्द रहने निर्णय गरेको छ । युरोपेली केन्द्रीय बैंक (इसिबी) ले आपत्कालीन सहयोग जारी राखे पनि ग्रिक बैंकमा मुद्रा अभाव कायम छ । आगामी सोमबारसम्म खुलेका बैंकका एटिएमबाट प्रति व्यक्ति ६० युरो मात्र झिक्न सकिने सीमा तय गरिएको छ । उता, ग्रिसले लचिलो भएर प्रस्ताव पेस गरे पनि युरोजोन तथा ऋणदाताले सहजै ती प्रस्ताव मान्ने सम्भावना कम छ । जर्मनीलगायतका देशले सर्तविना ग्रिसका प्रस्ताव मान्न नसकिने बताइसकेका छन् ।

स्रोत  : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *