ताजा खबर

सिमोनलाई हराउँदै फेडेरर सेमिफाइनलमा  

एजेन्सी लन्डन, २०७२ असार २४,

सातपटकको विजेता रोजर फेडेरर विम्बल्डन ग्रान्डस्लामको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार सम्पन्न क्वार्टरफाइनलमा फेडेररले कडा सर्भिस गर्ने फ्रान्सका गिल्लेस सिमोनलाई ६–३, ७–५ र ६–२ को सीधा सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का पारेका हुन् । फेडेररले यसपटकको विम्बल्डनमा लगातार ६८औँपटक आफ्नो सर्भिस रक्षा गरेका छन् । उनले सिमोनलाई १ घन्टा ३४ मिनेटमा हराए । दोस्रो सेट वर्षाका कारण ३० मिनेट रोकिएको थियो । ‘वर्षाले आधा घन्टा खेल रोकियो, यसले मलाई आराम गर्ने समय मिल्यो,’ ३४ वर्षीय फेडेररले भने, ‘सिमोनसँग सर्भिस फर्काउने क्षमता छ ।’ यसैगरी महिलातर्फ शीर्ष बरियताका सेरेना विलियम्स अन्तिम चारमा प्रवेश गरेकी छिन् ।

पाँचपटकी विजेता सेरेनाले भिक्टोरिया अजरेन्कालाई ३–६, ६–२ र ६–३ को सेटमा निराश पारिन् । करिअरमा २०औँपटक ग्रान्डस्लाम उपाधि जितेकी सेरेनाले विम्बल्डनमा लगातार २६ खेल जितेकी छिन् । फाइनल प्रवेशका लागि सेरेनाले चौथो बरियताकी मारिया साराभोपासँग बिहीबार प्रतिस्पर्धा गर्नेछिन् । सेरेना र सारापोभाबीच अहिलेसम्म २० पटक ग्रान्डस्लाम प्रतियोगितामा भिडन्त भएको छ । जसमा सेरेनाले १६ पटक सारापोभालाई हराइन् । महिला टेनिस इतिहासमा स्टेफी ग्राफले सर्वाधिक २२ ग्रान्डस्लाम जितेकी छिन् । सेरेनाले सारापोभाविरुद्धको सेमिफाइनल रोमाञ्चक हुने बताइन् ।

अर्को खेलमा अजिनिस्का राड्वान्स्काले माडिसन केयसलाई ७–६, ३–६ र ६–३ ले हराउँदै सेमिफाइनल स्थान पक्का पारिन् । राड्वान्स्काको यो तेस्रो विम्बल्डन सेमिफाइनल यात्रा हो । प्रतियोगितामा राडवान्स्काले १३औँ बरियता पाएकी छिन् । फाइनल प्रवेशका लागि उनले २०औँ बरियताकी ग्राविने मुगुरुजासँग प्रतिस्पर्धा गर्नेछिन् । मुजुरुजाले बासिन्कजीलाई ७–५ र ६–३ ले हराइन् ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *