ताजा खबर

सारापोभा र सेरेना सेमिफाइनलमा भिड्ने 

लन्डन: २०७२ असार २४,

दुई चिरप्रतिद्वन्द्वी टेनिस खेलाडी सेरेना विलियम्स र मारिया सारापोभाबीच पुनः एकपटक भिडन्त हुने भएको छ। वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा विश्व नम्बर एक सेरेना र पूर्वविश्व नम्बर एक सारापोभा भिड्ने भएका हुन्।

सारापोभाले सन् २००४ मा पहिलो ग्रान्डस्लाम उपाधि फाइनलमा सेरेनालाई नै हराएर जितेकी थिइन्। त्यति बेला सारापोभा केवल १७ वर्षकी थिइन्। त्यसयता सारापोभाले सेरेनालाई हराउन सकेकी छैनन्।

सन् २००४ पछि सेरेना र सारापोभाबीच १६ पटक प्रतिस्पर्धा भएको छ । यी दुईबीच हालसम्म भएका १९ भिडन्तमा सारापोभा दुईपटकमात्र विजयी भएकी छन्।

सारापोभा र सेरेनाबीचको सम्बन्ध सन्् २००४ देखि नै राम्रो नरहेको बताइन्छ । ३३ वर्षीया सेरेना २० र २८ वर्षीया सारापोभा पाँचवटा एकल ग्रान्डस्लामका विजेता हुन्। सारापोभा विश्वमा सबैभन्दा बढी पारिश्रमिक लिने महिला खेलाडी हुन्।

सन् २००७ र सन् २०१५ को अस्ट्रेलियन ओपनको फाइनल तथा सन्् २०१३ को फ्रेन्च ओपनको फाइनलमा सेरेनाले सारापोभालाई निराश बनाएकी थिइन्। यसैगरी सेरेनाले ग्रान्डस्लामको सेमिफाइनलमा सारापोभालाई चारपटक पराजित गरेकी छन्।

सेरेनाले मंगलबार राति भएको क्वार्टरफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ३-६, ६-२, ६-३ अंकले पराजित गरिन्। पहिलो सेट गुमाए पनि सेरेनाले त्यसपछि उत्कृष्ट पुनरागमन गरेकी थिइन्। सेरेना लगातार चौथो ग्रान्डस्लाम उपाधि जित्ने योजनामा छिन्।

उनले यो वर्ष एउटामात्र हार बेहोरेकी छन्। ‘म मारिया सारापोभाविरुद्ध खेल्न मन पराउँछु। आशा छ, मविरुद्ध उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछिन्’, सेरेनाले भनिन्।

महिला एकलतर्फ अर्को सेमिफाइनलमा अग्निएस्का राड्वान्स्का र गार्बिन मुगुरुजा भिड्नेछन्। राड््वान्स्काले मेडिसन किजलाई ७-६, ३-६, ६-३ अंकले पराजित गरिन्। मुगुरुजाले भने टिमिया बासिन्स्कीलाई ७-५, ६-३ को सोझो सेटमा हराइन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts