ताजा खबर

सबै पक्षले स्वीकार्ने बजेट ल्याउन निर्देशन 

काठमाडौं, २०७२ असार २४,

प्रमुख चार दलका शीर्ष नेताले सबै पक्षले स्वीकार्नसक्ने बजेट ल्याउन अर्थमन्त्री डा. रामशरण महतलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले सबै दलको सहमतिमा बजेट ल्याउने निर्णय पनि गरेको छ।

आगामी साउन मसान्तभित्र संविधान जारी हुने र संविधान जारी भएलगत्तै राष्ट्रिय सहमतिको सरकार गठन हुने भएकाले सबै पक्षले स्वीकार्न सक्ने बजेट ल्याउनुपर्नेमा चारै दलका नेता सहमत भएका थिए।

एमाले अध्यक्ष केपी ओलीले चार दलका शीर्ष नेताबीच छलफल भएअनुसार बजेट आउने जानकारी दिए । उनले सञ्चारकर्मीसँग भने, ‘यो वर्षको बजेट विशेषगरी पुनस्र्थापना र नवनिर्माणमा केन्द्रित हुनेछ।’

बैठकमा बजेटका तयारीका विषयमा अर्थमन्त्री महतले जानकारी दिएका थिए। बजेट निर्माणमा प्रमुख दलका पूर्वअर्थमन्त्री सम्मिलित कार्यदलले अर्थमन्त्रीलाई सहयोग गर्दै आएको छ।

 र्थमन्त्री महतले बजेट निर्माणका सम्बन्धमा हालसम्म भएका तयारीका बारेमा छलफल भएको जानकारी दिए।

 प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, वर्षमान पुनलगायत बैठकमा सहभागी थिए।

 प्रमुख प्रतिपक्षी दल एमाओवादीले बजेट निर्माणका सम्बन्धमा आवश्यक सहयोग गर्न पूर्वअर्थमन्त्री पुनको संयोजकत्वमा संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक गिरिराजमणि पोखरेल, सभासद् जनकराज जोशी र शक्तिबहादुर बस्नेत रहेको कार्यदल गठन गरेको छ।

यसैगरी सत्तासीन कांग्रेस र एमालेले पनि बजेटका सम्बन्धमा समान धारणा बनाउन कार्यदल बनाएर गृहकार्य गरिरहेका छन्।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *